नयाँ दिल्ली २१ जुलाई २०२२ । भारतमा आदिवासी नेत्री द्रौपदी मुर्मू राष्ट्रपति बनेकी छन् । उनी देशको सर्वोच्च पदमा पुग्ने आदिवासी समुदायकी प्रथम व्यक्ति भएकी छन् । चौसट्ठी वर्षीया मुर्मूको जन्म उडिसा राज्यमा भएको हो । उनी सन्थाल समुदायकी हुन् ।
राष्ट्रपति पदका लागि गत सोमबार भएको मतदानको थियो । पचास प्रतिशतभन्दा बढी मत ल्याएपछि राष्ट्रपति बन्ने निश्चित हुन्छ । राष्ट्रप्रमुख चयनको प्रतिस्पर्धामा मुर्मूले विपक्षी उम्मेदवारका रूपमा रहेका अनुभवी नेता यशवन्त सिन्हालाई करिब दोब्बर मतले पराजित गरेकी हुन् । उनलाई जितका लागि ५ लाख ४३ हजार २ सय १६ मतमूल्य चाहिएकोमा उनले ५ लाख ७७ हजार ७ सय ७७ मतमूल्य प्राप्त गरी विजयी भएकी हुन् ।
भारतको संवैधानिक प्रावधानअनुसार केन्द्रीय सांसद र विधानसभा सदस्यहरुको कुल मत मूल्य १० लाख ८६ हजार ४ सय ३१ को ५० प्रतिशत कटाउने उम्मेदवार विजयी हुन्छन् । मुर्मूले ७२ प्रतिशत मत प्राप्त गरेकी छन् । उनका प्रतिद्वन्द्वी सिन्हाले २ लाख ६१ हजार ६२ मत मूल्य प्राप्त गरेका छन् ।
राष्ट्रपतिले आगामी सोमबार पद तथा गोपनीयताको शपथ लिने बताइएको छ । राष्ट्रपति चयन प्रक्रियामा सङ्घीय संसद्का दुवै सदन र राज्य तथा केन्द्रप्रशासित भूभागका व्यवस्थापिका संसद्का सदस्यहरूले मतदान गरेका थिए । उनलाई सत्तारूढ भारतीय जनता पार्टी भाजपाले उम्मेदवार बनाएको थियो । मुर्मू यसअघि झारखण्डकी राज्यपाल थिइन् ।
मुर्मू रामनाथ कोविन्दको उत्तराधिकारी भएकी छन् । कोविन्दको कार्यकाल जुलाई २४ मा सकिन लागेको छ । उनी भारतको राष्ट्राध्यक्ष बन्ने दोस्री महिला हुन् । सन् २००७ जुलाईदेखि २०१२ सम्म राष्ट्रपति बनेकी प्रतिभा पाटिल भारतकी प्रथम महिला राष्ट्रपति हुन् ।






