डा केसीलाई भेट्न सभापति देउवा शिक्षण अस्पतालमा

SHARE:

काठमाडौँ, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार शिक्षण अस्पताल महाराजगञ्ज पुगी अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

सो अवसरमा उनले डा केसीको स्वास्थ्य अवस्था निकै कमजोर भएकाले तत्काल वार्तामा बसेर माग सम्बोधन गरी उनको जीवनरक्षाका लागि सरकारसँग माग गरे ।

सभापति देउवाले लोकतन्त्रमा एक जना नागरिक पनि निकै बलियो हुने बताउँदै डा केसीका माग जायज छन् र उनका पछाडि हामी लाखौँ जनता रहेको प्रतिक्रिया पनि दिए ।

त्यसैगरी काँग्रेसका नेता अर्जुननरसिंह केसी र राजपाका नेता महेन्द्रराय यादव, राजकिशोर यादव, अनिल झा तथा रमेश यादवले पनि अस्पताल पुगी डा केसीको स्वास्थ्य अवस्थावारे जानकारी लिए ।

यता डा केसीको स्वास्थ्य अवस्था भने गम्भीर बन्दै गएको र कुनै पनि समयमा आकस्मिक समस्या आउन सक्ने बताइएको छ ।

डा केसीका तर्फबाट वार्तासमितिका सदस्य अधिवक्ता ओमप्रकाश अर्यालले वार्ताका सम्बन्धमा सरकारका तर्फबाट आज कुनै पनि जानकारी नआएको बताए ।

चिकित्सा शिक्षासम्बन्धी माथेमा कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनको मर्मअनुसारको अध्यादेश आउनुपर्नेलगायत चिकित्सा शिक्षा सुधारका माग राख्दै डा केसीले जुम्लाबाट आमरण अनशन शुरु गरेका थिए ।

स्वास्थ्य जोखिममा पर्नेसक्ने भन्दै सरकारले हिजो हेलिकप्टरमार्फत डा केसीलाई काठमाडौँ ल्याएको थियो । हाल उनी १५ औँ पटकको २० औँ दिनको अनशन शिक्षण अस्पतालमा हुन् ।

जुम्लाबाट काठमाडौँ आएपछि डा केसीले सरकारले माग सम्बोधन नगर्दासम्म स्वास्थ्य जाँच नगर्ने, औषधि पनि नलिने र साधारण स्लाइन मात्र लिने घोषणा गरेका छन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!