रसुवा । बुधबार राति करिब १२ बजे गोसाइकुण्ड गाउँपालिका–२ टिमुरेमा पहिरो खस्दा ९ जनाको मृत्यु भएको छ ।
पहिरोमा परी १२ जना घाइते भएका थिए । घाइते भएका ५ जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको छ ७ जना सामान्य उपचार पछि घर फर्केका छन् ।
मृत्यु हुनेमा सिन्धुपाल्चोकको जिल्ला भोटेकोशी गाउँपालिका–५ वर्ष ४२ का श्याम श्रेष्ठ, वर्ष २६ का बिक्रम श्रेष्ठ, वर्ष ४५ का मंगले तामाङ, भोटेकोशी–४ वर्ष ३७ का रेशम खड्का, रसुवा जिल्ला गोसाइकुण्ड गाउँपालिका–१ थुमन वर्ष ४५ का मिङमार गुम्बु तामाङ, गोसाइकुण्ड गाउँपालिका–२ टिमुरे वर्ष ४७ का दोर्जे वाङजु घले र वर्ष ३७ को उनको श्रीमति कार्साङ किमू घले, नुवाकोट सिवपुरी गाउँपालिका –८ का रमेश तामाङ र विदुर नगरपालिका–३ कि शर्मिला कमिनि रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरिक्षक सन्तोष तामाङले बताए । मृत्यु हुनेमा धेरै जसो कन्टेनर चालक रहेका छन् ।
मस्त निद्रामा थिएँ । गाउँको माथिबाट गुडुङ गरेर ठुलो आवाज आयो त्यस पछि मेरो निन्द्रा खुल्यो टिमुरेका स्थानिय दोर्जे तामाङले भने पहिला त कँहा के भयो भन्ने कुरा अन्योल नै भयो । एक छिन पछि पहिरो गएको त थाहा भयो तर कता गएको हो भन्ने कुराको भेउ पाउन सकिएन उनले भने ।
पहिराले २ वटा टहरा र एक होटेल र टिमुरेस्थित अस्थायी प्रहरी बिट पुरिएको छ । २ वटा कन्टेनर र एक वटा ट्रकमा क्षति पुगेको छ । टिमुरे गाउँमा यति ठुलो पहिरो गएको पहिलो पटक देखेको स्थानिय उर्केन घलेले बताए ।
घटनास्थलमा राति देखि नै उद्धार गरिएको थियो । सबा १२ बजे पहिरो गएको आफूले थाहा पाएको कालि जंग गणका सेनानी दिनेपाश थापाले बताए । पहिरो गएको थाहा पाउना साथ नेपाल प्रहरी र सस्शत्र प्रहरी सहितको टोली घटना स्थल तर्फ तत्काल पुगेको उनले बताए । घटनास्थल पुग्दा स्थानियहरु आतिएका थिए थापाले भने आफूहरुले पहिला स्थानीयलाई सानत्वोना दिएका थियौं । त्यस पछि उद्धारको कार्य अगाडि बढाएको उनले बताए ।
सुरक्षाकर्मीहरुले राति पहिरोबाट १२ जनाको उद्धार गरेका थिए । घाइतेहरुलाई तत्कालै प्राथमिक उपचार गरिएको थियो । मृतकका परिवारलाई जनहि तत्काल नगद १ लाख राहत उपलब्ध गराइने प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।
उनले भने घर टहरा भत्केकालाइ तत्काल राहतस्वरुप १० हजार र घर निर्माण गर्न पछि थप ५० हजार उपलब्ध गराइने छ । मृतकका परिवारलाई ३० हजारदेखि ४० हजार सम्म गाउँपालिकाले राहत उपल्बध गराउने गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए । घाइतेको सम्पूर्ण उपचार खर्च सरकारले व्यर्होछ उनले भने ।







