‘चिमखोले काइलाको नियात्रा‘ गोलार्धलाई चक्कर मार्दा पढेपछि’
दलबहादुर पुन – स्वीन्डन,
२८ फेब्रवरी २०२३ बेलायत | तपाईसंग भेट नभए तापनि तपाईको बाहिरि परिचय साथीभाईहरुबाट यहि बेलायत आएर थाहा पाउदा तपाई सामान्य व्यक्ति होइन भन्ने मलाई लागेको थियो | अझ तपाईको उक्त पुस्तक पढेपछि त मैले सोंचेको भन्दा पनि धेरै माथि हुनु हुदोरहेछ | उक्त किताब हातमा पर्दा ‘यति मोटो पुस्तक सबै त के पढिएला र मोटामोटी पढ्नु पर्ला’ भन्ने लागेको थियो, र पनि पढ्न शुरु गरेको थिएन | गत हप्ता पढ्न शुरु गरे, साँच्चै शुरुको केहि पन्नाहरु त मोटामोटी नै पढें | तर पढ्दै आउदा मैले के अनुभव गर्न थाले भने निकै बर्षअघि डा. हर्क गुरुङको ‘मैले देखेको नेपाल’ नामक पुस्तक पढेको याद आयो | त्यस पुस्तक पढ्दै गर्दा मैले पुस्तक पढ्दै छु भन्ने होइन कि (त्यहाँ लेखिए अनुसार)म आफै त्यता हिड्दै छु भनेजस्तो अनुभव मैले गरेको थियो | तपाइको किताब पढ्दा पनि त्यस्तै अनुभव हुन थालेपछि फेरी शुरुदेखि नै पढ्न थाले | पढ्न बसेपछि छोड्नै मन नलाग्ने, समय बितेको पत्तै नहुने | लेख्न त मैले पनि दुइ चारवटा लेखेको छु, तर पढेको र नपढेको व्यक्तिले लेखेको फरक हुदोरहेछ |
मेरी जीवन सँगिनी पनि गर्बुजाको छोरी भएको हुनाले तपाईलाई साला साइनो लगाएँ अन्यथा नलिनु होला। हुन त हरेक व्यक्तिको सोंचाई बुझाइ आ-आफ्नै हुन्छ | मलाई तपाईको लेख एकदम राम्रो लाग्यो | तपाईको लेखाइ शैली र त्यसमा पाइने मसलाहरू जस्तै: सरलता, यतार्थता, उत्साहित, भाबुक, उत्तेजक, रोमान्चक, सूचना तथा जानकारीमुलक, ज्ञानबर्धक, दुखित, चिन्ताजनक र गर्भिलोपनले रोचक लाग्दालाग्दै थाहै नपाइ पढेर सकियो | त्यसैले खुशी लागेर ‘धन्यवाद’को यो दुइ शब्द लेखें सालाजी | मेरो बिचारमा त्यसमा (कति ठाउँमा त छ) अझै हरेक बिषयमा त्यो कुन समयको हो भनेर बुझ्न सजिलोको लागि तारिख, मिति पनि राखी दिनुभएको भए अझ राम्रो हुने थियो जस्तो लागेको छ मलाई | हवस् त फेरी पनि धन्यवाद छ सालाजी |