चिम्खोले काइँला
बेलायत । नेपाल सरकार महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा बेलायत भ्रमण सकेर स्वदेश फर्किएकी छन् ।
बिहीबार २६ जुलाईका दिन मन्त्री थापा नेपाल फर्किएकी हुन् । मन्त्री थापालाई बिदाइ गर्न बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी र आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेका सचिव तथा पत्रकार जमुना पुन अन्तर्राष्ट्रिय विमानस्थल हिथ्रोमा पुगेका थिए ।
मन्त्री थापा गत मंगलबार जुलाई २४ मा लन्डनस्थित ओलम्पिक पार्कमा भएको विश्व अपाङ्ग शिखर सम्मेलनमा भाग लिन आएकी थिइन् । उनले नेपाल सरकारको तर्फबाट उपस्थिति जनाएकी थिइन् ।
सो शिखर सम्मेलनमा विश्वका झन्डै २०० देशहरुले भाग लिएका थिए । सम्मेलन युके डिपार्टमेन्ट फर इन्टरनेसनल डेभलपमेन्ट (युके डीएफआईडी) र केन्या सरकारको संयुक्त आयोजनामा भएको थियो ।
मन्त्री थापासँग मन्त्रालयका सहसचिव राधिका अर्याल पनि बेलायत आएकी थिइन् । सचिव अर्यालले पनि मंगलबार २३ जुलाईको दिन सिभिल सोसाइटीले आयोजना गरेको विश्व अपाङ्ग सम्मेलनमा भाग लिएकी थिइन् । विश्व अपाङ्ग शिखर सम्मेलनपश्चात् सोही दिन बेलुकी नेपाली दूतावास लन्डनले आयोजना गरेको नेपाली क्रिकेट टिमलाई स्वागत तथा रात्रिभोजमा मन्त्री थापा तथा सहसचिव अर्याल प्रमुख अतिथि तथा विशेष अतिथिको रुपमा उपस्थित थिए ।
नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ संगठन बेलायतले बुधबार २५ जुलाईमा अक्सफोर्डमा स्वागत कार्यक्रम गरेको थियो भने मगर संघ युकेले मगर भवनमा स्वागत गरेको थियो । सोही दिन बेलुकी मन्त्री थापाले गैर आवासीय नेपाली संघ (एनआरएनए) युके, म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेको संयुक्त कार्यक्रममा भाग लिएकी थिइन् ।






