काठमाडौं २६ मे २०२३ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
फरार सूचीमा रहेकी लक्ष्मी महर्जनलाई प्रकाउ गरिएको जिल्ला प्रहरी परिसर टेकुका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिए । महर्जनलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको उनले बताए । उनलाई शुक्रबारै जिल्ला अदालत काठमाडौंमा पेस गरिएको उनले बताए ।
जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार दर्ता गरेको मुद्दामा ३० प्रतिवादीमध्ये १६ जना हिरासतमा रहेको र १४ जना फरार रहेको उल्लेख गरिएको थियो । महर्जन पक्राउ पर्ने १७ औं व्यक्ति हुन् । शरणार्थी प्रकरणमा पक्राउ परेका व्यक्तिहरूमाथि अदालतमा बयानको काम सुरू भएको छ ।
प्रतिवादी धेरै भएकाले बयान सकिन केही दिन लाग्ने देखिएको छ। बयान लिने काम सकिएपछि मात्रै थुनछेक बहस सुरु हुनेछ ।