लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायतको अल्डरसटस्थित म्युनिसिपल गार्डेन्समा नेपाली समुदायका वयोवृद्ध भूपूगोर्खा सैनिकमाथि आक्रमण गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेको छ ।
अध्यक्ष राजेन्द्र पुडासैनीले बिहीबार विज्ञप्ति जारी गर्दै भूपू गोर्खा सैनिकमाथि भएको आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
‘विश्वकै इतिहासमा वीर र गौरवशाली पहिचान बनाएका भूतपूर्व गोर्खाहरुमाथि छालाको रंग र उत्पत्तिका आधारमा भएको दुर्व्यवहारले सिंगो बेलायतवासी नेपाली समुदायलाई मर्माहत बनाएको छ । हामी दोषीलाई तत्काल कानुनी दायरमा ल्याउन माग गर्दछौं,’ विज्ञप्तिमा लेखिएको छ ।







