नेपाली प्रतियोगितामा प्रवासी आवाज

SHARE:

काठमाडौं ८ जुलाई २०२३ । भनिन्छ, चाहनालाई अभाव र परिधिभित्र सीमित गर्न सकिँदैन । अठोटका साथ लम्किएका पाइला र त्यसप्रतिको आफ्नै विश्वास सफलताको कारक हो । आफूभित्र रहेको इच्छालाई मेहनतबाट प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्, तारा तिवारी । उहाँसँग समय अभाव हुँदा पनि गायक बन्ने चाहनाले छोडेको छैन ।

आफ्नो चाहनालाई सपनाको रुपमा लिएर निरन्तर अघि बढेका तिवारी यतिबेला ‘मेरो भ्वाइस युनिभर्स’मा प्रतियोगीका रूपमा उत्कृष्ट दशभित्र प्रतिस्पर्धामा छन् । नेपाली गीतसङ्गीतलाई सपना बनाउनुभएका तिवारीको प्रवासमा होस् या नेपालमा एउटै उद्देश्य थियो, गीतसङ्गीत । त्यहीँ सपना पूरा गर्ने उद्देश्यले उहाँ नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘मेरो भ्वाइस युनिभर्स’ कार्यक्रममा प्रतियोगी बन्नुभएको हो । पूर्वी नेपालको शरणार्थी शिविर हुँदै अमेरिका पुग्नुभएका तिवारीले विदेशमा रहँदा पनि नेपाली कला र संस्कृतिलाई छोड्नु भएन् ।

“हाम्रा अग्रज शिविर बाहिर निस्किएर काम गर्न थाल्नुभयो । शिक्षा, सङ्गीतलगायत विविध कामले हामीलाई हेर्ने मानसिकता र गरिने व्यवहारमा परिवर्तन भयो । त्यसकै कारण मेरो पुस्तालाई सहज बनाएको छ”, तिवारीले भन्नुभयो, “शरणार्थी शिविरमा हुर्किए, आफ्नो इच्छा नभए पनि अमेरिका पुनर्वास हुनुपर्‍यो । यसपटक भने सपना साकार पार्ने उद्देश्य बोकेर नेपाल आएको छु ।”

अभाव र परिधिमा रहेर जीवन चलाइरहेका तिवारीले अहिले सपनाको उडान भरिरहनु भएको छ । नेपाल आएपछि अधिकामंश समय सङ्गीतलाई दिने गरेको बताउँदै उहाँले सङ्गीतले आफ्नो छुट्टै चिनारी दिलाएको उल्लेख गर्नुभयो । गीतसङ्गीतसँगै पहिचान स्थापित होस् भन्ने चाहना रहेको उहाँको भनाइ थियो । तिवारीले आफ्नो आवाजमा केही गीत र भिडियोसमेत सार्वजनिक गरिसक्नुभएको छ ।

काठमाडौँबाट अडिसन दिएर उत्कृष्ट दशमा पर्नुभएकी मुना ठटालको बाल्यकाल साङ्गीतिक माहोलमा बित्यो । मामाघरमा हुँदा उहाँले सुन्नु र बुझ्नु भएको गीतसङ्गीतका कारण उहाँलाई गायन विधामा लाग्ने प्रेरणा मिलेको हो । उहाँले पनि केही गीतसङ्गीतलाई आफ्नो आवाजमा सार्वजनिक गरिसक्नुभएको छ ।

“गीतसङ्गीतमा केही गरौँ र भविष्य स्थापित होस् भनेर यो प्रतियोगितामा सहभागी भएको हुँ । यसले दिएको पहिचानले आउँदो समयमा मेरो यात्रा सहज हुने छ”, प्रतियोगी ठटालले भन्नुभयो, “सबैको सपना पूरा होस् । यहाँ हामी प्रतियोगीका रुपमा सहभागी भए पनि एउटा परिवार जस्तो बनिसकेका छौँ ।” प्रतियोगिताबाट निस्किएपछि पनि निरत्नतर गीतसङ्गीतमा लाग्ने योजना रहेको उहाँको भनाइ थियो ।

भारतको दार्जिलिङबाट नै प्रतियोगितामा अडिसनमार्फत सहभागी हुनुभएका साइराज खाती नेपाल आएर पनि अडिसन दिने तयारीमा हुनुहुन्थ्यो । दार्जिलिङमा रहँदा हिन्दी भाषाको गीत गाउँदा उहाँलाई सधै नेपाली भाषामा गीत गाउन र लेख्न रहर थियो । सोही रहर ‘मेरो भ्वाइस युनिभर्स’ ले पूरा गरेको प्रतियोगी खातीले बताउनुभयो । “पहिला पनि नेपाली गीतसङ्गीतले नेपाल ल्याएको थियो । नेपाल बाहिर रहे पनि यहाँको मायाले हामीलाई बारम्बार यहाँ ल्याउँछ”, उहाँले भन्नुभयो, “नेपाली गीतसङ्गीतमा आफ्नो स्थान बनाउन सकियो भने जीवनको उपलब्धि अरू केही हुँदैन । यसको एउटा खुड्किलो यही प्रतियोगिता पनि हो ।” उहाँले नेपालमा आएर गीतिसङ्ग्रहका साथै केही गीत सार्वजनिक गरिसक्नुभएको थियो ।

दार्जिलिङबाटै प्रतियोगितामा सहभागी हुनुभयो, स्माइल दास । उहाँ दोस्रोपटक अहिले प्रतियोगी बनेर नेपाल आउनुभएको हो । यसअघि उहाँले ‘दार्जिलिङ आइडल’ को उपाधि पाउनाका साथै अन्य केही प्रतियोगितामा सहभागी भइसक्नुभएको छ । “नेपाल आएर आफ्नो भाषाको गीत गाउन पाउँदा लागेको खुसी शब्दमा व्यक्त गर्न सकिँदैन । हामी नेपाल बाहिर भए पनि नेपाली हौँ, भारतमा हामीलाई नेपाली नै भन्छन्”, प्रतियोगी दासले भन्नुभयो, “दार्जीलिङमा नेपाली गायकको गीत गाउन ‘शो’ आयोजना गरेर धोको पूरा गर्थे ।”

काठमाडौँबाट अडिसन दिनुभएका परेश राईले प्रतियोगितासँगै विश्वभरका नेपालीसँग प्रतिस्पर्धा गर्न पाउँदा छुट्टै अनुभव भइरहेको बताउनुभयो । छ । “मजस्तो नयाँलाई यस्ता प्रतियोगिताले अवसर दिन्छ भनेर यहाँबाट सुरुआत गरेँ”, उहाँले भन्नुभयो, “विश्वभरका नेपालीसँग बसेर प्रतियोगितामा सहभागी भइरहँदा उहाँहरुको भाषा, संस्कृतिका बारेमा नजिकबाट चिन्ने र बुझ्ने अवसर दिएको छ ।”

भारतबाट प्रतियोगितामा सहभागी हुनुभएका प्रतियोगी विवेक परियारले नेपाली गीतसङ्गीतको लगावले यहाँसम्मको यात्रा तय गर्न सकेको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य प्रतियोगितामा के गरेँभन्दा पनि यहाँ के गर्दैछु भन्ने महत्वपूर्ण छ । यहाँ अवसर सिर्जना भएपछि भारतका प्रतियोगिता छाडेर यहाँ सहभागी भएको हुँ ।” उहाँले नेपालबाट पाउने उपलब्धि आफ्नो परिवार र समाजका लागि विशेष हुने बताउनुभयो । पहिलोपटक नेपाल आउँदा घरमै भए जस्तो लागिरहेको उहाँको अनुभव छ ।

भारतको सिक्किमबाट प्रतियोगी बन्नुभएका प्रितम राईले जिल्ला र प्रान्तको केही प्रतियोगिता जितेर आफूलाई गायकका रुपमा परिचित गराई सक्नुभएको छ । उहाँ नेपालमा आएर प्रतियोगी बन्न पाउँदा उत्साहित हुनुहुन्छ । “हामी भारतीय गीत बढी सुन्ने गरे पनि माया नेपाली गीतमै छ । मेरो परिवार र मलाई माया गर्ने शुभचिन्तकले पनि नेपाली प्रतियोगितामा सहभागिता जनाउन प्रेरणा दिनुभयो”, प्रतियोगी राईले भन्नुभयो, “यही प्रतियोगिताले मलाई नेपाल ल्यायो । निकै खुसी छु । घर जस्तै महसुस गरेको छु, किनकि सबै नेपाली हौँ । यहाँ हामी एउटै परिवार जस्तो बनेका छौँ ।”

प्रतियोगी शरद हुमागाईँले सामाजिक सञ्जालमार्फत प्रतियोगिताका बारेमा जानकारी पाएर सहभागिता जनाउनुभयो । उहाँले ‘मेरो भ्वाइस युनिभर्स’ को प्रचार सामग्रीले आफूलाई आकर्षित गरेको बताउनुभयो ।

भारतको सिक्किमबाट आउनुभएका शिशिर ठटालले केही ‘वेब’ शृङ्खलाका लागिसमेत गीत तयार गरिसक्नुभएको छ । उहाँले यस प्रतियोगितालाई सिकाइको अवसरका रुपमा लिएको बताउनुभयो । “म यो यात्रामा हेर्न, रम्न र सिक्न चाहन्छु । भारतमा केही काम गर्दा भन्दा नेपालमा अहिले काम गरिरहँदा खुसी लागेको छ”, प्रतियोगी ठटालले भन्नुभयो, “यही प्रतियोगिताले पहिलोपटक नेपाल ल्याएको छ । यहाँ आउँदा अर्को देश वा घरबाट बाहिर छु जस्तो लागेकै छैन ।” प्रतियोगितामार्फत नतिजा जे सुकै आए पनि सङ्गीतलाई निरन्तरता दिने उहाँको योजना छ । प्रतियोगीका रुपमा उहाँले चाहिने हरेक सहजता प्राप्त गर्नुभएको छ ।

यस्तै अनुभव छ राजु तामाङको । उहाँले काठमाडौँबाटै अडिसन दिनुभयो र उत्कृष्ट दशसम्मको यात्रा तय गर्नुभयो । पहिलादेखि नै उहाँलाई यस किसिमका प्रतियोगीतात्मक कार्यक्रममा सहभागी हुने रहर थियो । “धेरै देशका नेपाली भाषीलाई एउटै मञ्चमा भेट्न पाउँदा धेरै कुरा सिक्न पाएका छौँ”, तामाङले भन्नुभयो, “प्रतियोगिताको नियम/ढाँचाका कारण हामीले हरेक शृङ्खलामा बिदाइ त गर्नै पर्छ । यद्यपि, परिवारकै सदस्य छोडेर गएको जस्ती अनुभूति हुने गरेको छ ।”

यस मञ्चमा प्रवासबाट आएका धेरै नेपाली आवाज गुञ्जिएको छ । उहाँहरुको मेहनत, चाहना र लगनशीलताले नेपालबाटै सहभागी भएका प्रतियोगीलाईसमेत प्रेरणा दिइरहेको छ ।

नेपालमा आयोजना भएका ‘रियालिटी शो’मध्ये अहिलेसम्मकै सबैभन्दा धेरै राशिको पुरस्कारको व्यवस्था गरिएको छ । गायन प्रतियोगितामा छानिएकामध्ये प्रथम हुनेले जनही रू एक करोड, दोस्रो हुनेले रू ३० लाख र तृतीय हुनेले रू २० लाख पुरस्कार प्राप्त गर्नेछन् । समूह नृत्यका विजेतालाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ का निर्णायकमा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, पुष्पन प्रधान, गायिका अञ्जु पन्त र सुजाता बर्मा हुनुहुन्छ । नेपाल टेलिभिजनमा बुधबार र बिहीबार बेलुकी ८ः५० बजेदेखि उक्त कार्यक्रम प्रसारण भइरहेको छ । विश्वका ५२ भन्दा बढी देशबाट प्रतिस्पर्धामा छानिएर आएका प्रतिभाको अन्तिम प्रतिस्पर्धासम्म आइपुग्नुभएका उहाँहरु प्रतियोगिताको जित्ने दौडमा हुनुहुन्छ ।

नेपाली मूलका भूटानी अमेरिकी युवा व्यवसायी डिल्ली अधिकारीलगायतले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरेको इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले विश्वमा बसोबास गरिरहेका नेपालीबीच सांस्कृतिक एकता कायम गर्न गायन र नृत्यका दुई प्रतियोगिताको आयोजना गरेको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!