लन्डन १५ जुलाई २०२३ । ‘गोर्खा वारिअर’ फिल्मको प्रिमियरका लागि निर्माता तथा निर्देशक मिलन चाम्स बेलायत आइपुगेका छन् ।
लन्डनमा १० सेप्टेम्बरमा हुन लागेको उक्त फिल्मको प्रिमियरका लागि निर्देशक चाम्स शुक्रबार राति लन्डनको हिथ्रो विमानस्थल आइपुगेका हुन् । विमानस्थलमा सुमन राई, आकाश सुनुवार, सन्तोषकुमार सुवेदी, रितेश चाम्स, सूर्य नेम्वाङ, भिम तामाङलगायतले निर्देशक चाम्सलाई स्वागत गरे ।
सिनेमाको रेडकार्पेट प्रिमियर शो आइम्याक्स सिने वर्ल्ड लेस्टर स्क्वायरमा हुने जनाइएको छ । निर्माता तथा निर्देशक चाम्सले वीर पूर्खाहरुलाई हेर्ने ऐतिहासिक दिन (प्रिमियर) लाई भब्य सफल बनाउन सबैमा अपिल पनि गरेका छन् । प्रिमियरमा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ, विजय लामासहित फिल्मका कलाकारहरु पनि लन्डन आउने चाम्सले बताए ।
युद्धको कथामा बनेको ‘गोर्खा वारिअर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा छ । नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचित्रमा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डिओपी, हिमाल केसीको द्वन्द्व निर्देशन छ ।






