काठमाडौं । बोनम्यारो क्यान्सरपीडित नुवाकोटकी अनिता श्रेष्ठको उपचारका लागि सहयोग उपलब्ध गराइएको छ ।
प्रदेश ३ की उपसभामुख राधिका तामाङका आमा र बुवाको स्मृतिमा स्थापित शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानले विभिन्न व्यक्तिहरुबाट संकलन गरेको रकम ९० नब्बे हजार ५ सय सहयोग सोमबार हस्तान्तरण गरिएको हो । सहयोग रकम बोनम्यारो क्यान्सरपीडित श्रेष्ठ उपचाररत नयाँ बानेश्वरमा रहेको सिभिल अस्पतालमा पुगेर प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ र प्रदेश ३ की उपसभामुख तामाङले संयुक्त रुपमा हस्तान्तरण गरे ।
तादी गाउँपालिका ४ नुवाकोटकी श्रेष्ठलाई शेरा प्रतिष्ठानले यसअघि पनि २५ हजार सहयोग गरेको थियो ।
शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानले विभिन्न विद्यालयमा पोशाक तथा कपी कलम वितरण, स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम, विभिन्न दीर्घ रोगका विपन्न बिरामीलाई आर्थिक सहयोग गर्दै आएको छ । अहिलेसम्म गम्भीर प्रकृतिका रोग लागेका उपचाररत आर्थिक अवस्था कमजोर भएका ७ जना बिरामीलाई सहयोग गरिसकेको प्रतिष्ठानले जनाएको छ ।


