काठमाडौं । काभ्रेपलाञ्चोक तिमालका सञ्चारकर्मी एवं गायक सुनिल लामाले ‘साङाला जिर्मा’ रिमेक म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
चन्द्रकुमार मोक्तानको शब्द/संगीत रहेको गीतलाई गायक लामाले रिमेक भर्सनमा ल्याएका हुन् । उक्त भिडियो २९ औं तामाङ प्रसारण दिवस अवसरमा शुक्रबार काठमाडौंमा आयोजित समारोहमा वाग्मती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामाले सार्वजनिक गरे । गीतमा सुनिल लामा र सोनिया लामा दम्पतीको स्वर रहेको छ ।
भिडियोमा निर्देशक अभि लामा र अनिता गोलेको मुख्य भूमिका छ । म्हेन्दोला फोलेको प्रस्तुति रहेको उक्त म्युजिक भिडियो इफेक्ट, एनिमेसन, कभर डिजाइन, ग्राफिक्समा सागर तामाङले मद्दत पुर्याएका छन् ।
गायक लामाले यसअघि ‘बिन्ति बिसाउँछु’ गीति एल्बम निकाले थिए । कर्मभूमि जर्मनीबाट फर्किएर लामाले रेस्टुरेन्ट व्यवसाय (कफीसप)समेत सञ्चालनमा ल्याएका छन् । उनले ‘म्हेन्दोला फोले’ कार्यक्रमलाई एक दशकदेखि सञ्चालन जारी राखेका छन् ।






