‘एनआरएन द सिङगर’मा बेलायतकी युक्ति विमलीसहित पाँच जना फाइनलिस्टको टुंगो

SHARE:

लन्डन ९ अक्टोबर २०२३ । ‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको’ मूल ध्येय लिएर संचालन भइरहेको रियलिटी शो ‘एनआरएन द सिङगर’ अन्तिम चरणमा प्रवेश गरेको छ ।

सोमबार राति स्पेस फोर के टेलिभिजनमार्फत उत्कृष्ट १० जनाको प्रस्तुतिपछि फाइनलमा प्रतिस्पर्धा गर्ने ५ जनाको टुंगो लागेको हो । यी ५ जनाले अब अक्टोबर १५ तारिखमा काठमाडौंमा हुने ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्ने छन् । उत्कृष्ट १० बाट कर्मा दोङ तामाङ, विष्णु क्षत्री, सुवासचन्द्र पुनमगर, गुना मगर निसु र युक्ती विमलीले ग्रान्ड फिनालेका लागि स्थान पक्का गरेको कार्यक्रम उत्पादक युनिटेकका सुरज राईले जानकारी दिए ।

काभ्रे घर भइ जापान बस्ने ३० वर्षीय कर्मा दोङ तामाङ अहिले जापानमा विद्यार्थी भिसामा रहेर काम गरिरहेका छन् । विदेशमा बसे पनि नेपाली गीत संगीतबाट कहिल्यै टाढा नभएका तामाङले फिनालेमा पुग्नका लागि राजु लामाको चर्चित गीत ‘गाउँकी चेली साह्रै नै राम्री फरिया र चोलोमा झनै राम्री’ बोलको गीत प्रस्तुत गरेका थिए ।

पर्वतमा जन्मिएका विष्णु क्षत्री १५ वर्षदेखि युरोपको नर्वेमा बस्दै आएका छन् । विदेशमा काम गर्दै गर्दा पनि नेपाली गीत संगीतलाई माया गरेका क्षत्रीले त्यहाँ हुने कार्यक्रममा आफ्नो प्रस्तुतिले नेपाली समुदायमा राम्रो छाप छाड्न सफल एनआएन द सिङगरको फाइनलमा पुग्दै आफूलाई फेरि एक पटक अब्बल सावित गरेका छन् । उनले फाइनल पुग्नका लागि रामकृष्ण ढकालको आरोह एल्बमको ‘हिरा काट्ने हिरैमा राखेर’ बोलको गीतलाई सुन्दर ढंगले प्रस्तुत गरेका थिए ।

भोजपुरमा जन्मिएकी गुना मगर वैदेशिक रोजगारीका लागि कतारको दोहामा रहेकी छिन् । आफ्नो गाउँघर बन पाखालाई सम्झँदै कामबाट थोरै फुर्सद हुँदा गीत संगीतका माध्यमबाट आफूलाई विदेशी भूमीमा चिनाउने प्रयास गर्दै गरेकी गुनाले फिनालेमा स्थान बनाउनका लागि इन्डियन आइडल जितेका प्रशान्त तामाङले गोरखा पल्टन चलचित्रका लागि गाएको ‘ज्यान सुहाउन लाको चोली तानसेन बजारैको बोलक’ गीत प्रस्तुत गरिन् ।

बेलायतमा जन्मिएकी युक्ति विमली नेपाली भाषामा पोख्त नभए पनि सानै उमेरदेखि नेपाली संगीतमा भने रुची राख्थिन् । बेलायतमा हुने विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमहरुमा प्रस्तुति दिएको युक्ति विमलीले ग्रान्ड फिनालेमा स्थान बनाउन शिशिर योगीको ‘छाडेर काम सारा एक मानिस खोजी रहेछु’ बोलको चर्चित राष्ट्रिय गीत प्रस्तुत गरेकी थिइन् ।

रोल्पामा जन्मिएका सुवासचन्द्र पुनमगर परम्परागत सोरठी नाचका गुरु आफ्नै हजुरबुवा र बाबा भएका कारण गीत संगीतमा यिनको रुची बढेको हो । उनी अहिले रोजगारीको सिलसिलामा पोर्चुगलमा रहेका मगरले फिनालेमा स्थान बनाउनका लागि रोहित थापाले गाएको ‘घर त मेरो यहाँ होइन’ बोलको गीत प्रस्तुत गरेका थिए ।

समग्रमा १० जनाले प्रस्तुति दिएकोमा फिनालेका लागि ५ जना छनोट भएका हुन् । उत्कृष्ट १० बाट ग्रान्ड फिनाले मा पुग्दा ७५ प्रतिशत भोटिङ र २५ प्रतिशत निर्णायकको अंकले काम गरेको थियो । तर अब ग्रान्ड फिनालेमा ५ जनाबीच प्रतिस्पर्धा हुँदा सर्वाधिक भोट ल्याउनेले नै ‘एनआरएन द सिंगरको’ पहिलो उपाधि जित्ने छ ।

उपाधि जित्नले नगद ५ लाख रुपैयाँ प्राप्त गर्दा फस्ट रनरअपले २ लाख र सेकेन्ड रनरअपले १ लाख नगद पुरस्कारका साथै ट्रफी र प्रमाणपत्र पाउने एनआरएन द सिङ्गरका प्रमुख संयोजक गोविन्दप्रसाद गौतमले जानकारी दिए । ग्रान्ड फिनाले फिनाले घटस्थापनाका दिन असोज २८ गते (अक्टोबर १५) मा काठमाडौंमा आयोजना गरिने कार्यक्रमका उपसंयोजक प्रवीण गुरुङले बताए ।

“प्रवासमा रहेका उत्कृष्ट प्रतिभा पहिचान गरी नेपाली भाषा, संस्कृति र सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा दर्शकहरुले देखाउनु भएको स्नेहबाट हामी अत्यन्तै उत्साहित भएका छौं,” गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी) का सचिव तथा संघको संस्कृति तथा सम्पदा समितिका अध्यक्ष एवं एनआरएन द सिङगरका प्रमुख संयोजक गौतमले भने । झन्डै २ वर्ष पहिलेदेखि तयारी गरिएको यो कार्यक्रमलाई सफल बनाउन सहयोग गर्न उनले सबैलाई आग्रह पनि गरे ।

एनआरएनएबाट उत्कृष्ट सिंगरको खोजीका लागि जज (निर्णायक) को रुपमा वरिष्ठ गायक तथा सर्जक शम्भू राई (नेपाल), शर्मिला बर्देवा (युके) र रुपककुमार शाही समुदा (अस्ट्रिया) रहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!