काठमाडौं २२ अक्टुबर २०२३ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तत: विभाजित भएको छ ।
डा. बद्री केसीले शपथ लिएकै दिन साँझ राजेन्द्रकुमार शर्मा (आरके) को नेतृत्वमा नयाँ कार्यसमिति घोषणा गरिएको छ । नयाँ नेतृत्वका लागि महेशकुमार श्रेष्ठ, रविना थापा र डा.बद्री केसी चुनावी प्रतिस्पर्धामा थिए ।
गत २० अक्टोबर २०२३ मध्य राती घोषित निर्वाचन नतिजा अविश्वसनीय र त्रुटिपूर्ण देखिएको भन्दै अध्यक्षमा शर्मालाई चयन गरिएको हो । भौतिक उपस्थिति साथै अनलाइन मतदानमा ‘सिस्टम कब्जा’ गरिएको भन्दै अध्यक्षका प्रतिस्पर्धी महेशकुमार श्रेष्ठ र आरके शर्माले मत परिणाम अस्वीकार गरेका थिए ।
अष्ट्रेलियामा रहेको कम्पनी भेरोद्वारा फेस भेरिफिकेशन पद्धति प्रयोग गरी भएको मतदानका क्रममा गम्भीर त्रुटी देखिएपछि शर्मालाई सर्वसम्मतरुपमा २०२३–२५ का लागि अध्यक्ष चयन गरिएको बताइएको छ । शर्मा नेतृत्वको नयाँ कार्यसमिति उपाध्यक्षमा डा. केशव पौडेल, खगेन्द्र न्यौपाने, राज रेग्मी, नारायण आचार्य, सुनिल शाह, गङ्गाधर गौतम र गोबिन्द श्रेष्ठ (रोविन) चयन भएका छन् ।
त्यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधान राई र युवा उपाध्यक्षमा अबदुल वासिद चयन गरिएको निर्वाचन समितिले जानकारी दिएको छ । त्यस्तै महासचिवमा बुद्धि सागर सुवेदी सर्वसम्मत चयन भएका छन् । उपमहासचिवमा सोम सापकोटा, प्रविन गुरुङ र प्रमोद सिटौला चयन भएका छन् भने सचिवमा कृष्ण गिरी, लोक दाहाल, दयानिधि सापकोटा, टंक गैरे, केपी सिटौला, स्वतन्त्र प्रताप सिंह, मनोज गोर्खाली, भीम केसी कमल, राजेन्द्र पुडासैनी चयन भएका छन् । महिला सचिव विमला सापकोटा चयन भएकी छन् ।
कोषाध्यक्षमा ठाकुर प्रसाद ढुङ्गाना र सह कोषाध्यक्ष तिलक गैरे, कृष्णा तिमल्सेना, मोहम्मद मुस्तफा साथै महिला सहकोषाध्यक्षमा तृष्णा शर्मा चयन भएका छन् । यता महिला संयोजकमा देविका केसी, युवा संयोजकमा रविन अधिकारी, क्षेत्रीय संयोजकतर्फ युरोपबाट चिन्तामणी सापकोटा, युरोपबाटै क्षेत्रीय उपसंयोजक शंकर डाँगी, भीमसेन थापा र रमेश काफ्लेको नाम सर्वसम्मत गरिएको छ ।
त्यस्तै मध्यपूर्व संयोजकमा राजेन्द्र अर्याल, मध्यपूर्व उप संयोजकमा रमेश श्रेष्ठ, माधव पौडेल, लाल पुन चयन गरिएको छ । सम्पूर्ण कार्यसमितिको नामावली अन्तिम टुंगो लागेपछि केही दिनभित्र शपथ कार्यक्रम राखेर काम अघि बढाइने अध्यक्ष शर्माले जानकारी दिए । यसैगरी बन्द सत्रले डी बी क्षेत्रीको अध्यक्षतामा आनन्द बिष्ट, डा. बलराम श्रेष्ठ, ओम शर्मा, बेद खरेल रहेको एक अध्यक्ष मण्डल गठन गरेको छ । त्यस्तै दुर्गा आचार्यको संयोजकत्वमा विश्व बराल, नारायण थापा, शनि ओली, बिष्णु सुवेदी र पुष्प थापा सदस्य रहेको निर्वाचन समिति पनि गठन गरेको छ ।
बन्द सत्रले महासचिव डा केशव पौडेल, कोषाध्यक्षहरु सुनील साह, लोक दाहाल तथा विधान समितिका सचिव गंगाधर गौतमले पेश गरेका प्रतिवेदनहरु पारित गरेको थियो । निर्वाचन समितिका संयोजक दुर्गा आचार्यले सबै नवनिर्वाचित पदाधिकारीहरुलाई विधान बमोजिम शपथ दिलाएका थिए । बन्द सत्रको अध्यक्षता अध्यक्षद्वय कुल आचार्य तथा रबिना थापाले गरेका थिए ।






