काठमाडौं २३ अक्टुबर २०२३ ।

पाल्पाको जीप दुर्घटना हुँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ ।
उनीहरू पूर्वी नवलपरासीको देवचुली नगरपालिका रजहरका बासिन्दा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा श्रीमान्, श्रीमती, सम्धिनी, बुहारी र दुई नातीले ज्यान गुमाएका छन् । देवचुली नगरपालिका(१६ रजहरका ६५ वर्षका कृष्णबहादुर लोहनी र पार्वती लोहनी श्रीमान्, श्रीमती हुन् ।
यस्तै, उनकी बुहारी सबिना र दुई नातीहरू ईसव र सबिसको पनि ज्यान गएको हो । यस्तै, सबिनाकी आमा लमजुङ बेसीसहर २ भकुण्डेकी ५५ वर्षीया चुना धितालको पनि ज्यान गएको छ । दुर्घटनामा घाइते भएका चालक ईश्वर लोहनी कृष्णबहादुरका छोरा भएका प्रहरीले जनाएको छ । उनको तानसेनमा रहेको युनाइट मिसन अस्पतालमा उपचार भइरहेको छ । हिजो रानीमहल घुमेर फर्किने क्रममा उनीहरु चढेको बाग्मती प्रदेश ०१–०२६ च ७२०९ नम्बरको जीप पल्टिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनास्थल खोँच भएकोले उद्धारमा कठिनाइ भएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय बासिन्दाको सहयोगमा घाइते तथा ज्यान गुमाएकाको उद्धार गरिएको थियो । दुर्घटना पछि रजहर गाउँ शोकमा डुबेको छ ।






