‘फेक इन्काउन्टरमा’ आफ्ना समुदायका दुई युवा मारिँदा पनि तामाङ युवा र अगुवाले संगठित आवाज नठाएको भन्दै लिम्बुवानका नेता कुमार लिङ्देनले आपत्ति जनाएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै राष्ट्रिय सञ्चारमाध्यमले समेत भक्तपुरमा फेक इन्काउन्टर भएको लेखिरहँदासमेत तामाङ समुदाय चुप लागेर काँतरपन प्रदर्शन गरेको टीप्पणीसमेत गरेका छन् ।
‘कान्तिपुरलगायतका पत्रिकाहरुले भक्तपुरको इन्काउन्टर फेक थियो, फेक थियो, दुई तामाङ युवाको प्रहरिले हत्या गरेकै हो भनेर पटक पटक लेख्दा पनि हामी कोही तामाङरुको संगठित आवाज उठेन’ उनले लेखेका छन् ‘हामी तामाङ युवाहरुको रगत किन चिसिएको हो यतिसारो, अनि तामाङ अगुवाहरु किन डराएको यतिसारो । ‘नेता लिङदेनले परिआएमा सरकारलाई ढलाउनेसमेत चेतावनी दिएका छन् । ‘म छक्क पर्छु, हामी किन यति सारो डराएको ?’ उनले थप लेखेका छन्, ‘मलाई त एक्लै यो सत्तालाई दसपल्टसम्म पल्टाइदिन सक्छु भन्ने आट
आउँछ त’
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्षसमेत रहेका लिङ्देनले यसअघि इन्काउन्टरको विषयमा विज्ञप्ति निकालेर छानबिनको माग गरेका थिए । उनले भाद्र १ गतेदेखि सुरु हुने लिम्बुवान आन्दोलनको एउटा माग ‘फेक इन्काउन्ट’मा दुई तामाङ युवाको हत्या गर्ने प्रहरीलाई कारबाही गर्नुपर्ने विषयमा पनि राखिने प्रस्ट पारेका छन् ।
साउन २० गते काठमाडौंको पेप्सीकोला टाउन प्लानिङबाट अपहरण गरिएका ११ वर्षीय बालक निशान खड्काको २१ गते शव भेटिएको थियो । बालकको अपहरणमा संलग्न भएको आरोप लागेका दुई जना युवालाई प्रहरीले ‘मुठभेड’मा भन्दै हत्या गरेका थिए । मारिनेहरुमा नुवाकोटका २२ वर्षीय गोपाल तामाङ र सिन्धुपाल्चोकका २३ वर्षीय अजय तामाङ रहेका छन् ।






