काठमाडौं २६ अक्टुबर २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न टुटफूटमा रहेका माओवादी घटकहरुबीच एकता गर्नैपर्ने अवस्था आएको बताएका छन् ।
नेकपा ९माओवादी केन्द्र०का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले पार्टीले सुरु गरेको तीनमहिने विशेष रुपान्तरण अभियान माओवादी घटक दलहरुबीच एकताको अभियान समेत रहेको बताएका हुन् ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ मग्गामा आयोजित सहिद स्मृति मेलाको बिहीबार उद्घाटन गर्दै प्रचण्डले अब माओवादीबाट फुटेर गएका दलहरुका बीच एकता आवश्यक रहेको बताए ।
‘हामी ठूलो पार्टीको रुपमा उदाएका थियौँ । विडम्बना हामी सबै फरक–फरक बाटोतिर लाग्यौँ । हामीले क्रान्ति गर्ने बेला जुन किसिमको प्रतिवद्धता जनता सामु गरेका थियौँ, त्यो प्रतिवद्धता भुल्दै साथीहरु फरक बाटोतिर लाग्नुभयो । शान्ति प्रक्रियापछि उहाँहरुलाई के कुरा चित्तै बुझेन पार्टी नै फुटाउनुभयो ।– प्रचण्डले भने ।
केही साथीहरु फरक बाटोमा लागेको भए पनि अझै केही नबिग्रिएको उनको भनाइ थियो । उनले भने, ‘हामी माओवादी शक्तिहरु पुनः एक हुनुपर्ने बेला आएको छ । हामीले समाजवादी मोर्चा नै बनाएका छौँ । त्यही मोर्चा नै भोलि एकताको बाटोमा जान्छ । समाजवादी मोर्चाको एउटा अभियान छ । हाम्रो पार्टीको एउटा अभियान छ । यो अभियानको सार्थकता भनेकै माओवादी घटक र अन्य विचार मिल्ने पार्टीहरुको एकता हो ।’
सरकार ढाल्न र गठबन्धन फुटाउन तर्फ केही दल लागिपरेको उनले आरोप लगाए ।सरकारले पछिल्लो समय सामाजिक न्यायको लागि विभिन्न भ्रष्टाचारको फाइल खोलेको देख्दा केही दलहरु सरकार ढाल्ने प्रयासमा रहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री प्रचण्डले नेपालको राष्ट्रिय स्वतन्त्रताको कुरालाई सरकारले सधैँ अघि राखेर छिमेकी राष्ट्र र अन्य राष्ट्रहरुसँगको कूटनीतिकसम्बन्ध सुदृढ बनाउन सफल भएको बताए ।






