
काठमाडौँ १ नोभेम्बर २०२३ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार यहाँबाट फर्किएका छन् ।
उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरे । सो अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित थिए । महासचिव गुटेरेसको बिदाइमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणका लागि यही कात्तिक १२ गते यहाँ आउएका थिए । महासचिव गुटेरेसले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल र विभिन्न मन्त्री तथा राजनीतिक दलका नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
भ्रमणका क्रममा महासचिव गुटेरेस सगरमाथा र अन्नपूर्ण आधार क्षेत्रका साथै पोखरा र लुम्बिनीसमेत गएका थिए । उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गरे । भम्रणका दौरान उनले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरे ।
सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि नेपालको भ्रमणमा आएका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, गरिबी निवारणलगायत विषयमा छलफल रे थिए ।






