लन्डन २८ नोभेम्बर २०२३ । बेलायतवासी पूर्व गोर्खा सैनिक ९० वर्षीय कुबेरसिङ नेम्बाङले जन्मठाउँ पाँचथरको फाल्गुनन्द गाउँपालिका-२ इम्बुङमा आफ्नै समाधिस्थल (कपुरथान) बनाएका छन् ।
पेन्सनबाट आफ्नै जमिनमा १० लाख रुपैयाँमा लगानीमा कुबेरसिङले चिहान बनाएका हुन् । निर्माण स्थानीय प्रसादवीर नेम्बाङले जिम्मा लिएका थिए । समाधिस्थल करिब ६ महिनाको अवधिमा हालै सम्पन्न भएको हो । समाधिस्थल बनाउनका लागि जेठी बुहारी पुनम वनेम नेम्बाङले ५० हजार रुपैयाँ सहयोग गरेको कुबेरसिङले बताए ।
किराती समुदायमा महिला, पुरुषले मर्नुअघि नै चिहान लाउने चलन छ । जसमा नाममा चिहान बनाइन्छ, ती व्यक्तिको अवसानपछि शव त्यही समाधिस्थलमा राखिन्छ । आफ्नो समाधिस्थल अवलोकन गर्न २१ नोभेम्बर (५ मंसिर २०८०) मा कुबेरसिङ बेलायतबाट नेपालमा परिवारसहित गएका थिए । उनीसँग श्रीमती बुधमाया नेम्बाङ, जेठा छोरा नगेन्द्रराज नेम्बाङ (एभरेस्ट टाइम्सका प्रबन्ध निर्देशक), छोरी महेश्वरी नेम्बाङ नेपाल गएका छन् ।
समाधिस्थल हेर्नका लागि अहिले इम्बुङ वरिपरिबाट समेत दैनिक मानिसहरु पुग्ने गरेको नेम्बाङ परिवारले जनाएको छ । उनीहरुका अनुसार फाल्गुनन्द गाउँपालिकामा समाधिस्थल बनाएको यो पहिलो भएको दाबी छ ।
पूर्व ब्रिटिस गोर्खा सैनिक कुबेरसिङ वेलफेयर सेन्टर पाँचथर फिदिममा कार्यरत रहँदा सत्यहाङ्मा प्राथमिक विद्यालय भवन (हाल मावि) गोर्खा वेलफेयर ट्रस्टबाट निर्माण गरिदिएका थिए । इम्बुङमै स्थानीयलाई २५ वटा धारासमेत जडान गराइदिएका थिए ।
विद्यालयमा शौचालय निर्माण, घन्टी, अन्य शैक्षिक सामग्री तथा खेलकुद क्षेत्रमा समेत उनले सहयोग गर्दै आएका छन् ।
कुबेरसिङ बि.स. १९९१ सालमा इम्बुङमै जन्मिएका हुन् । २००९ नौ सालमा ब्रिटिस लाहुरेमा भर्ती भएका हुन् । उनी अहिले बेलायतको आसफोर्डमा बस्दै आएका छन् ।






