काठमाडौँ । नेपाल यातायात मजदुर सङ्घले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित भएको बताएको छ ।

सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयसँगै देशभरका ४०० समितिमा कार्यरत १५ हजार श्रमिक कर्मचारी रोजगारीबाट विस्तापित भएको बताए । सङ्घको शनिबार बसेको बैठकले भदौ १ बाट लागू भएको मुलुकी देवानी संहिताले दुर्घटनाबाट मृत्यु भएमा सवारी चालकलाई १० वर्ष कैद तोकेको भन्दै आपत्ति जनाएको छ ।
बैठकले मुलुकको संरचनाअनुसार गत महाधिवेशनले सङ्घको विधान परिमार्जन गरेकाले सोअनुसारको संरचनाका लागि देशभर अभियान थाल्ने, नयाँ स्थानमा सङ्गठन विस्तार गर्ने, तोकिएको न्यूनतम पारिश्रमिक सबै यातायात मजदुरमा लागू गराउने, सामाजिक सुरक्षा ऐन लागू गराउन पहल गर्ने, विषयगत विभाग गठन गर्दै जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको छ । सङ्घ आबद्ध महासङ्घ नेपाल ट्रेड युनियन काङ्ग्रेससँग छलफल गर्दै यातायात मजदुरका हकहित अधिकारका लागि सङ्घ देशभर पुग्ने अध्यक्ष भण्डारीले बताए ।
इटहरी । वल्डवाइड टेक्निकल संस्थाले सन् २०१४ देखि २०१९ भित्रमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्रसँगको(सिटिइभिटी) सहकार्यमा नेपालभरि ४५ हजार युवालाई दक्ष सीपसहितको जनशक्ति उत्पादन गरी श्रम बजारमा आपूर्ति गर्ने लक्ष्य लिएको बताएको छ ।
वल्डवाइडले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र (सिटिइभिटी)को सहकार्यमा भइरहेको सीप विकास परियोजना कार्यक्रमका विषयमा शनिबार इटहरीमा सम्बन्धित सरोकार भएकासँग एकदिने अन्तक्र्रिया कार्यक्रममा सो कुराको जानकारी गराएको हो ।
नेपाली श्रम बजारमा रोजगारीको अवसर छ तर दक्ष जनशक्तिको आपूर्तिको अभाव छ भन्ने विषयसँग तालमेल गर्दै आपसमा रोजगार प्रवद्र्धनमा कसरी सँगसँगै मिलेर काम गर्न सकिन्छ भन्ने निक्र्योल निकाल्न उक्त अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको हो । अन्तक्र्रिया कार्यक्रममा सहभागी भएका सुनसरी, मोरङ र झापा जिल्लाका सेवा प्रदायक निजी संस्थाले सीपसहितको दक्ष जनशक्ति आपूर्तिकर्ता संस्थाबीच आवश्यकताको सिद्धान्तमा आधारित रहेर सीपयुक्त दक्ष जनशक्ति उत्पादनको पाठ्यक्रम हुनुपर्नेमा जोड दिएको छ ।
उक्त अन्तक्र्रिया कार्यक्रममा पूर्वाञ्चल प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र इटहरीका निर्देशक शिव दाहालले बजारको आवश्यकता र श्रम बजारले चाहेका दक्ष जनशक्ति उत्पादन गर्नका लागि पछिल्लो समयमा जे–जस्ता परिवर्तनको माग आउँछन् त्यहीअनुसार पाठ्यक्रम परिमार्जन गर्न सिटिइभिटी तयार हुने विश्वास दिलाए ।
अन्तक्र्रिया कार्यक्रममा वल्डवाइड संस्थाका अध्यक्ष नारायणबाबु श्रेष्ठले सीप भएका दक्ष जनशक्ति उत्पादन गर्दै सेवा प्रदायक संस्थाबीचमा सहकार्य गरेर नेपालको श्रम बजारलाई मजबुद बनाउनका लागि आपसी सहकार्य हुन जरुरी रहेको छ भने ।






