दक्ष लामा उत्पादनमा जोड दिइरहेका छौं

SHARE:

करिब तीन महिनादेखि खेम्पो शिर लामा गुरुङ बेलायतका विभिन्न कार्यक्रममा सहभागी हुँदै आएका छन् । बीसीसी युके गुम्बाको निमन्त्रणमा गत मे १३ तारिखमा बेलायत आएका शिर लामा, गुरुङ समुदायमा खेम्पो उपाधि प्राप्त गर्ने विरलै लामागुरुमध्येमा पर्छन् । उनले गतसाल दक्षिण भारतको महेश्वरमा रहेको एक उच्च शिक्षा संस्थानबाट बुद्ध दर्शनमा विद्यावारिधीसरहको खेम्पो उपाधि पाएका थिए । दुई वर्षअघि पनि बेलायत भ्रमण गरेका विशेष उपाधि प्राप्त शीर लामा, गुरुङ लामा बौद्धिष्ट एसोसिएसन नेपालका अध्यक्षको जिम्मेवारीमा छन् । साथै बौद्ध अर्घौ सदन गुम्बाका प्रमुख लामाका रुपमा पनि उनलाई चिनिन्छ । उनै प्रबुद्ध लामागुरुको दोस्रोपालीको बेलायत भ्रमण, नेपालका गुरुङ बौद्धिष्टहरुको अवस्था र बौद्ध अर्घौ सदनको भवन निर्माणबारे घान्द्रुके कान्छाले गरेको कुराकानी ।

तपाईं कहिले बेलायत आउनुभएको हो ?
म मे महिनाको १३ तारिखमा बेलायत आइपुगेँ ।
कसको निमन्त्रणमा र के का लागि यहाँ आउनुभयो ?
यसपटक बीसीसी युके गुम्बाको निमन्त्रणमा । बीसीसी गुम्बामा बेलायतमा नै पहिलोपटक बौद्ध दर्शन, धर्म विधिअनुसार अष्टशीलका कुरा पालना गरिने न्यूङ्ने व्रत पूजाका लागि बीसीसी युके गुम्बाले मलाई स्पोन्सर गर्‍यो । मे १३ मा आइपुगेँ, २० देखि २५ तारिखसम्म ६ दिनको पूजा र व्रत साधना अत्यन्तै सफलताका साथ सम्पन्न भएको जानकारी गराउन चाहन्छु ।
बेलायत आउनुभएको ३ महिना भइसकेको छ, यस बीचमा कस्ता कस्ता कार्यक्रममा सहभागी हुनुभयो ?
यो तीन महिनाको अवधिभित्र पहिलो प्राथमिकता बीबीसी युकेले आयोजना गरेको न्यूङ्ने व्रतलाई दिएँ । साथै त्यससँग सम्बन्धित धर्मप्रति आस्था, विश्वास राख्ने भक्तजनहरुको निमन्त्रणमा विभिन्न बौद्ध धार्मिक संघ संस्थाहरुलाई प्राथमिकता दिएर प्रत्येक विकेन्ड आइतबार पारेर अधिकांश संघसंस्थाले प्रवचन, पूजापाठ गर्दै आएको अवस्था छ । अहिले पनि संघ संस्थाका कार्यक्रम, कुनै बेला आफूसँग सम्बन्धित र बौद्ध अर्घौ सदनसँग सम्बन्धित व्यक्तिहरुको घरमा गएर स्वस्ती, शान्ति पूजापाठ, धर्मदेसना, दीक्षा प्रदान गर्ने कार्यक्रमहरुमा निरन्तर सहभागी हुँदै आएको छु ।
दुई वर्षअघि र अहिलेको बेलायत भ्रमणमा यहाँका गुरुङहरुमा बौद्ध धर्मप्रति आस्था, विश्वास कस्तो पाउनुभएको छ ?
मैले दुई वर्षको अन्तरालमा धेरै नै परिवर्तन भएको पाएको छु । अहिले बीबीसी युके गुम्बामा जुन न्यूङ्ने व्रत पूजा भयो, त्यसमा दुई वर्ष अघिको भन्दा धेरै भक्तजन सहभागी भएको पाएँ । विभिन्न ठाउँमा बुद्धधर्मको पूजापाठ मात्रै नभएर बुद्ध दर्शनको प्रवचन पनि श्रवण गर्नमा चासो गर्ने भक्तजनहरु धेरै वृद्धि भएको महसुस गरेँ ।
तपाईं गुरुङ लामा बौद्धिस्ट एसोसिएसनको अध्यक्ष पनि हुनुहुन्छ । नेपालमा यसको स्थापना, अहिलेको अवस्था, आबद्ध लामा गुरुहरुको शैक्षिक अवस्थाबारे पनि बताइदिनुहोस् न ?
गुरुङ लामा बौद्धिष्ट एसोसिएसन २०१४ मा सुरुआत गरिएको हो । यो भन्दा अगाडि पनि गुरुङ लामा संघसंस्था आवश्यक छ भनेर पोखरा र पूर्वको धरान क्षेत्रमा पनि विस्तार गरिएको थियो । त्यो ठाउँमा मात्रै सीमित जस्तो भयो । र, त्यसले सबै लामा गुरुहरुलाई समेट्ने वातावरण बनिरहेको थिएन । त्यसमा विभिन्न गुम्बामा पढेर आउने लामा गुरुहरु र परम्परादेखि आफ्नो पुस्तागत रुपमा चलिआएका लामा गुरुहरुबीचमा पनि राम्रो सम्बन्ध नभएको समस्या थियो । पुस्तागत रुपमा चलिआएको गुरुहरुले संस्कार र आफ्नो मौलिक रीतिथितिको कुरालाई बढी प्राथमिकता दिने र गुम्बामा पढेर आउने लामा, गुरुहरु धर्म र दर्शनलाई प्राथमिकता दिने भए । जसले गुरुङ समुदायमा दुईथरिका लामा गुरुहरु भएजस्तो हुँदा जजमानहरु अन्योलमा परेको हामीले महसुस गर्‍यौं । यी दुवै प्रकारका लामा गुरुहरुलाई एकताको सुत्रमा बाँध्नु आवश्यक छ ।
विशेष गरेर आधुनिक शिक्षासँगै बुद्धको दर्शनलाई व्याख्या गर्न सक्ने धर्मगुरुहरु समाजमा आइसकेपछि उहाँहरुले पनि पढेको शिक्षाको आधारमा जिम्मेवारी पाउन नसक्ने जस्तो देखियो । हामीले यही महसुस गरेर सन् २०१४ मा काठमाडौंमा ठूलो भेला गरेर बुद्धिस्ट एशोसिएसन स्थापना गरेका हौं । यहाँसम्म आइपुग्दा नेपालभर दुईपटकसम्मको राष्ट्रिय भेला सम्पन्न गरिसक्यौं । ४ सय ४६ जना जति लामा गुरुहरु पहिलो राष्ट्रिय भेलामा सहभागी थिए भने दोस्रो भेलामा सोही हाराहारीमा लामा गुरुहरु सहभागी भएको हाम्रो रजिस्टरमा उल्लेख छ ।
गुम्बामा पढेको, बौद्ध ज्योतिष अध्ययन गरेका लामाले फलदेशना गर्दा हिन्दू ज्योतिष र बौद्ध ज्योतिषको प्रक्रिया फरक पर्न जाने हुँदा लामा गुरुहरुको ज्योतिषशास्त्र हेराईमा भिन्नता भएपछि जजमानहरु पनि अन्योलमा परेको हामीले महसुस गर्‍यौं । हामीले विशेष गरेर जन्म, मृत्यु र मृत्युपश्चात् गरिने पूजा विधि, कर्मकाण्डहरुलाई एकरुपतामा ल्याउने प्रयास गरिरहेका छौं । हामीले गर्दै आएको कर्मकाण्डलाई नेपाली भाषामा अनुवाद गर्ने, व्याख्या गर्ने र अन्तत्वगत्वा सबै लामा गुरुहरुले गरिने पूजा एकरुपतामा ल्याउने प्रयास तीव्र गतिमा अगाडि बढिरहेको छ । लामा बौद्ध ज्योतिषशास्त्र नेपालीमा भाषामा थुप्रै अनुवाद भइसकेका छन् । हामीले केन्द्रबाट थुप्रै पात्रोहरु प्रकाशन गरिसकेको अवस्था छ । सरल नेपाली भाषामा गर्दै, गराउँदै आएका छौं । हाम्रो मुख्य उद्देश्य नै गुरुङ समुदायमा अब उपरान्त एउटै प्रकारको ज्योतिष शास्त्र लागू होस् भन्ने हो ।
रिजल्ट कस्तो पाउनुभएको छ ?
हुन त, यो निकै ठूलो चुनौतीको विषय छ । परिवर्तन गर्न निकै समय लाग्ने विषय हो किनभने जग बसेको संस्कारको प्रभाव धेरै बलियो छ । संस्कारको कुरालाई हटाउने र दर्शनलाई समावेश गर्ने भन्ने मात्र होइन । गुरुङ जातिको आफ्नै प्रकारको संस्कार छ, तामाङ, शेर्पा जातिहरुको आआफ्नै मौलिक संस्कार भएको हुँदा हामीले गर्ने कर्मकाण्डहरु, विशेषगरी मृत्युपछि गरिने कर्मकाण्डहरुमा धेरै विवाद उत्पन्न भएको महसुस गर्‍यौं । मृत्युपछि गरिने कर्मकाण्डहरुमा हाम्रा केही मौलिक विधिहरुलाई पनि समावेश गरेर त्यसमा बुद्ध दर्शनको मूल विधि के छ त, त्यसलाई मूल आधार मान्ने हो भने सबै लामा गुरुहरुको कर्मकाण्ड गर्ने शैली, विधि एकै प्रकारको हुन सक्छ । त्यसका लागि धेरै आधार हामीले तयार गरिसकेका छौं । हामीले तयार पारेको प्रतिवेदन सार्वजनिक गरेका छैनौं । गुरुङ समुदायमा रहेका अग्रज र विज्ञहरुलाई राखेर हाम्रो प्रतिवेदन प्रस्तुत गर्छौं । गुरुङ समुदायको संस्कार सबै ठाउँमा एकैप्रकारको नभएर ठाउँ र टोलअनुसार फरक फरक छन् । हाम्रो कार्यपत्र प्रस्तुत गर्नुअघि हामीले जन्म, मृत्युसम्म गरिने विविधहरुको एउटा खाका, लामा गुरुहरुको एउटा मापदण्ड बनाउनु छ । अहिले धेरै समस्या छ, कुन पूजा कति दिनको हुन्छ ? यो पूजा गर्नलाई के सामग्री चाहिन्छ, कतिजना लामागुरु चाहिन्छ जस्ता प्रश्न आउँछन् । त्यसमा जजमानहरुको सजिलो बनाउने उपाय प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै गरेर लामा धर्मगुरुहरुको नेपाली भाषामा प्रशिक्षण कक्ष सञ्चालन गर्दै आएका छौं । गुम्बामा पढेर आएका लामाहरुलाई पनि हामीले केही समय प्रशिक्षण गरेरमात्रै प्रवचन दिन सक्ने र गुरुङ समुदायका लागि मात्रै नभएर बुद्ध दर्शन अध्ययन गरिसकेपछि, बुद्ध दर्शनमा आस्था राख्ने सबै जनमानसमा नै गएर उसले प्रवचन दिन सक्ने दक्ष लामागुरु उत्पादन गर्ने प्रक्रिया निकै अगाडि बढिरहेको छ ।
बौद्ध अर्घौं सदनको भवन निर्माणका लागि बेलायतमा पनि सहयोग उठाइएको थियो । भवन निर्माण कुन चरणमा पुग्यो ?
पोखरास्थित बौद्ध अर्घौ सदन २०३५ सालमा स्थापना भएको हो । विशेषगरी तमुहरुको मृत्युपश्चात् अन्त्येष्टि गरिने र अर्घौ गरिने एउटा संस्थामा रुपमा विकास हुँदै अहिलेको गुम्बाको रुपमा परिणत भयो । गुम्बा बनाउनुको कारण पनि भक्तजनहरुको संख्या बढ्यो, गुम्बा साँघुरो भयो भनेर हो । गुम्बाभित्र ५०, ६० जना भन्दा बढी भक्तजन अटाउन नसक्ने भएपछि हामीले गुम्बा बनाउनुपर्ने आवश्यकता महसुस गरेर त्यही योजना अघि सार्‍यौं ।
वर्तमान कार्यसमितिले व्यवस्थापनको सम्पूर्ण जिम्मा सम्हाल्छ । धार्मिक पक्षको सम्पूर्ण कुरा हामी धर्मगुरुहरुले सम्हाल्ने दुई प्रकारको जिम्मेवारी छ । गुम्बामा क्या.भुवनसिंह गुरुङ अध्यक्ष हुनुहुन्छ । उहाँ नेतृत्वको कार्यसमितिले नयाँ गुम्बा बनाउने प्रस्ताव ल्याइसकेपछि सबैले पारित गरेर अहिले अगाडि बढाएका छौं । भवन बनाउनेमा पनि पहिलो कुरा आर्थिक नै चाहिन्छ । गुम्बा बनाउन १० करोडको लागत निकालिसकेपछि पैसा कहाँबाट संकलन गर्ने भन्ने विषयमा हामीले निकै छलफल गरेर स्कीमहरु बनायौं । पोखरामा भएको समाज, व्यक्तिहरुले आर्थिक संकलन गर्ने स्कीमहरु बनाएर अघि बढ्यौं । एवम्प्रकारले सामाजिक सञ्जालहरुबाट पनि प्रचारप्रसार अगाडि बढ्यो । र, बौद्ध अर्घौ सदनप्रति धेरैको श्रद्धाभक्तिको सम्बन्ध जोडेको केन्द्र भएकोले पनि हामीले जुन सोचेका थियौं, जुन उद्देश्य राखेका थियौं, त्यो भन्दा धेरै प्रगति, उपलब्धि भएको पाइरहेका छौं ।
हामीले सोचेको भन्दा गुम्बा बनाउन ढिला हुन गएको कारणचाहिँ नेपालमा गएको भूकम्प, भारतीय नाकाबन्दीजस्ता कारणले हो । ढिलो भए पनि अहिले गुम्बाको तेस्रो तलको ढलान भइसकेको छ । त्यो गुम्बाभित्र ६, ७ सय भक्तजनहरु सजिलैसँग अट्न सक्नेछ । गुम्बा क्षेत्रफलको हिसाबले पनि निकै ठूलो छ ।
दुई वर्षअघि म बेलायत भ्रमण आउँदाखेरी भक्तजनहरुले धेरै आर्थिक संकलन गरेर गुम्बालाई सहयोग पुर्‍याउनुभयो । दुई वर्षअघि तमुधिं युकेको निमन्त्रणमा आएँ, जुनबेला तमुधिंको अध्यक्षमा रामचन्द्र दाजु हुनुहुन्थ्यो । त्यो बेला बेलायतमा तमुधिं युके र बीसीसी युकेको अगुवाईमा बौद्ध अर्घौ सदन निर्माणका लागि आर्थिक संकलन कार्यक्रम गर्ने एउटा माहोल बन्यो । अहिलेको अवस्थामा सबैभन्दा धेरै आर्थिक संकलन बेलायतबाट नै भएको म जानकारी गराउन चाहन्छु । त्यो बेलामा नै लगभग लगभग एक करोड चन्दा संकलन भइसकेको थियो । यो सन्देश सामाजिक सञ्जालबाट सुनेपछि, बुझेपछि प्रवासी नेपाली मातृभूमि पुग्ने क्रममा गुम्बामा आउँदै सहयोग गर्नेहरुको क्रम जारी छ । अहिलेसम्म लगभग ९ करोड रकम जम्मा भइसकेको छ । गुम्बाको निर्माणकार्य पनि अन्तिम अन्तिम चरणमा पुगिसकेको छ । गुम्बाभित्र राखिने प्रतिमा, मूर्तिहरु सबै ललितपुरको पाटनमा निर्माण भइरहेकोबारे यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।
बौद्ध अर्घौ सदनमा विद्यार्थी कति छन्, त्यहाँको शिक्षाबारे बताइदिनुहोस न ?
बौद्ध अर्घौ सदनमा बौद्ध शिक्षा अध्ययन केन्द्र भनेर हामीले लामा विद्यार्थीहरुलाई आधुनिक शिक्षा सँगसँगै बुद्ध दर्शन र पूजा विधिहरु सिकाउने गरेको धेरै वर्ष भइसक्यो । हामीले सोचेको जस्तो प्रगति त हुन सकेको छैन तर प्रयास जारी नै छ । अहिले ४५ जना जति लामा विद्यार्थी गुम्बामै अध्ययरत छन् । त्यसमा नेपाली भाषा, अंग्रेजी, गणित, विज्ञानलगायत आधुनिक शिक्षा पनि पढाउने र त्यो सँगसँगै लामा बुद्ध दर्शन पढाउने एकजना खेन्पो लामागुरु नै हुनुहुन्छ । आधुनिक शिक्षा पढाउने अर्को टिचर । गुम्बामा पाठपूजा, विधिहरु धेरै हुने ठाउँ । मान्छे बित्यो भने दुई÷तीनसय ताँती लाएर मलामीहरु आउने ठाउँ । त्यसकारण पढाइ र गुम्बा निर्माणको काम दुवैपट्टि ध्यान दिनु पर्दाखेरी शिक्षा, अध्ययनचाहिँ त्यत्ति धेरै अगाडि बढ्न सकिरहेको छैन । गुम्बा निर्माणलगत्तै लामा विद्यार्थीहरुलाई नयाँ भर्ना लिने अनि शिक्षकहरुको पनि संख्या बढाउने, अनि लामा विद्यार्थीहरुको शिक्षाको प्रगतिमा ध्यान दिने योजना छ ।
नेपालभरि रहेका झन्डै साढे ४ सय गुरुङ लामागुरुहरुले ती समुदायको काजक्रियाका लािग समय दिन सकेका छन् कि अभाव छ ?
साह्रै राम्रो प्रसंग उठाउनुभयो । हाम्रो पहिलो राष्ट्रिय भेलामा ४ सय ४६ जति लामा गुरुहरु सहभागी भएको तथ्यांक छ । अहिले विकट गाउँ गाउँमा बस्ने तमुहरुलाई लामाको अभाव छ किनभने धेरैजसो बजारमा माइगे्रट भएका छन् । बजारमा पनि अधिकांश गृहस्थी लामागुरुहरु नै हुनुहुन्छ । भक्तजनहरुको जमात जहाँ छ, त्यहाँ नै बस्ने गर्नुहुन्छ उहाँहरु । अनि गाउँ गाउँमा पुरानो पुरानो गुम्बा पनि निर्माण गरियो, अहिले धेरै गुम्बाले संरक्षण पाइरहेको अवस्था छैन । गाउँलेहरु पनि सहरमा सर्नेक्रम तीव्र भइरहेको छ । हामीले नेपालभरी ७३ वटा जति गुम्बा समाज र व्यक्तिगत तर्फबाट बनाएका तथ्यांक पाउँछौं । त्यो पनि २०, २२ वटा गुम्बाहरुमा लामागुरुहरु नै नभएको र गाउँहरुले नै पूजापाठ गरिरहेका पाउँछौं ।
बजारमा धेरै लामागुरुहरु छन् । त्यत्तिका लामा गुरुहरु हुँदा पनि पूजापाठ, मर्दापर्दा लामा नपाउने समस्या छ । त्यो समस्या हामीले भोगिरहेका छौं । गुरुङ समुदायमा यत्ति धेरै छन् भने तामाङ समुदायमा यसको धेरै गुणाले बढी छ । शेर्पा समुदायमा पनि कत्ति धेरै छन् । मनाङ्गे समुदायमा कत्ति धेरै छन् । नेपालभर ५०, ६० हजार लामा छन् ।
दुई वर्षअगाडि हामीले धर्मनिरपेक्षताको आन्दोलन गर्ने बेलामा अनुमान गर्दा ५० हजार लामाहरु नेपालमा रहेछन् । तर, गुरुङ समुदायको भन्दा अन्यमा धेरै लामा छन् । त्यसैले गुरुङ समुदायले सोचेजति हामी लामा गुरुले योगदान पुर्‍याउन सकेका छैनौं । त्यसैले अब लामा उत्पादन गर्ने र लामाहरु पनि पुरानो पूजा विधाको शिक्षामात्रै नभएर आधुनिक शिक्षा र बुद्ध दर्शनको उच्च शिक्षा हासिल गर्ने लामाहरु वा दक्ष लामा उत्पादनमा जोड दिइरहेका छौं ।
बौद्ध अर्घौ सदनको तपाई प्रमुख लामा हुनुहुन्छ, यस्ता गुम्बाहरुले नेपाल सरकारबाट कस्तो सहयोग पाउने गर्छ ?
सरकारबाट पाउने अधिकार खोजतलासमा पनि हामी निकै पछाडि पर्छौं । सरकारबाट अहिलेको दिनसम्म सहयोग लिएको छैन । दुई वर्षअगाडि हामीले सरकारबाट सहयोगको अपेक्षा लिएर प्रपोजलहरु बुझाएका थियौं । र, भूकम्प गएपछि नेपाल सरकारको बुद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले प्रत्येक गुम्बालाई बजेट छुट्याएको थियो । अहिलेचाहिँ विविध कारणले गर्दा बजेट निस्कासन हुन सकिरहेको छैन । सधैं हामीले दाहसंस्कार दाउराले जलाएर सम्भव नहुने भएकोले विद्युतीय शवदाह गर्ने योजनाका लागि बौद्ध अर्घौं सदनको वर्तमान कार्यसमितिले सरकारसमक्ष प्रपोजल बुझाएर पास भएको छ । विद्युत् शवदाहका लागि ठाउँ निरीक्षण भइसकेको छ र बजेट आउने प्रक्रियामा रहेको छ । गुम्बालाई पनि सरकारले बजेट छुट्याउने गर्छ । त्यो बजेट पाउनका लागि उल्टो हाम्रै पैसा खर्च हुने अवस्था पनि झेलिरहेका छौं । हामीलाई आशा छ, अब बिजुलीबाट दाहसंस्कार गर्ने मेसिन छिट्टै जडान हुनेछ ।
दुई वर्षअघि तपाई बेलायत आउँदा आचार्यले सम्बोधन गथ्र्यौं भने अहिले खेम्पोले सम्बोधन गरिरहेका छौं यो उपाधिको बारेमा जानकारी गराइदिनुहोस् न ?
बुद्ध दर्शनको विशेष गरेर पढाइको आधारमा भन्दा पनि शील पालना गरिने आधारबाट गुरुहरुले मूल्यांकन गरेर दिइने उपाधि हो । त्यस्तो उपाधि बुद्धकालीन समय र बुद्ध परिनिर्माण भइसकेपछि खेम्पो भन्ने उपाधि त निकै उच्च हो । हामीलाई त नाममात्रै हो । त्यो उपाधिअनुसारको नियम, योग्यता, दक्षताहरु विचार गर्ने हो भने एक छेउ पनि आफूमा भएको जस्तो लाग्दैन । खेम्पो भनेको संघनायक हो । संस्कृत नेपालीमा उपाध्याय भनिन्छ । यो संघनायक बुद्धको त्रिपिटक ग्रन्थहरुको पूर्ण ज्ञान भएको, व्याख्या गर्न सक्ने, रचना गर्न सक्ने दक्षता भएका र विनयको आधारमा भिक्षुको शीलहरु राम्रोसँग धारण गरेको । गुम्बाको नियमअनुसार ९ वर्षसम्म गुम्बाको उच्च शिक्षा केन्द्र संस्थानमा अध्ययन पूरा भएपश्चात् पनि उसले विशेष प्रकारको योगदान पुर्‍याएको र गुम्बाकै निर्देशनअनुसारको ठाउँमा योगदान पुर्‍याएर ती सबै कुरालाई मूल्यांकन गरेर दिइने उच्चस्तरको उपाधि हो, खेम्पो ।
मेरो अध्ययन दक्षिण भारतको महेश्वरमा भएको थियो । मैले सन् १९९६ देखि २०१० सम्म लगभग १५ वर्ष अध्ययन गरेँ । त्यसपछि २०१० बाटै म बौद्ध अर्घौ सदन गुम्बाको मुनि लामाको रुपमा जिम्मेवारी निर्वाह गरेर आउँदा गुरुहरुले पढेको उच्च शैक्षिक संस्थानबाट नै मैले गरेको काम, योगदानलाई रुचाउनुभयो । त्यसको आधारमा गतसाल २०१७ मा मलाई उच्च शैक्षिक सस्ंथान महेश्वर दक्षिण भारतमा बोलाएर खेम्पोको उपाधिले दीक्षित गराउनुभएको थियो । आचार्यचाहिँ एमए लेभलको पढाइलाई भनिन्छ । त्यसपछिको अनुभव र योगदानलाई मूल्यांकन गरेर दिइने खेम्पो (विद्यावारिधी) उपाधि हो । गुरुङ समुदायमा अन्य दुई जना साथीहरुले खेम्पोको उपाधि पाइसकेको जानकारी गराउन चाहन्छु ।
अन्तम, बौद्धमार्गी, गुरुङ समुदाय र बेलायतलगायतका नेपालीलाई केही भन्न चाहनुहुन्छ कि ?
यसपटक बीसीसी युकेको निमन्त्रणमा बेलायत आएँ । सेप्टेम्बर अन्तिममा म नेपाल फर्किने योजना छ । यो अवधिमा मेरा कार्यक्रम सबै ठाउँमा लगभग भइसकेका छन् । बेलायतमा बस्ने तपाईंहरुको सुस्वास्थ्य, दीर्घायुको कामना गर्न चाहन्छु । विशेषगरी देशबाट यत्ति टाढा ठाउँमा बसेर पनि आफ्नो धर्म, संस्कार, मौलिकतालाई जोगाउन धेरै गुरुङ, विभिन्न जातजातिमा आफ्नो पोसाक, संस्कार, संस्कृति जगाउनेमा एउटा जागरण आएको छ । नेपालमा हुँदा त्यत्ति चासो दिएको जस्तो लागेको थिएन तर बेलायतमा आएर हेर्दा संघसंस्थाहरु आफ्नो मौलिक धर्म, संस्कारको जगेर्ना गर्न लागिपरेको देख्दा धेरै प्रभावित भएको छु । यसरी नै यहाँहरुले आफ्नो भाषा, भेषभूषा, मौलिक संस्कारलाई जगेर्ना गर्नुहोला । र, विशेषगरी तपाईंहरुको छोराछोरी, नातिनातिनाहरुलाई नेपाली भाषा बोल्ने, आफ्नो भाषा, संस्कार संस्कृति धर्म सिकाउनेतर्फ ध्यान दिन होला भन्ने सुझाव दिन चाहन्छु ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!