सन् २०२३ मा १० लाख बढी पर्यटकले गरे नेपाल भ्रमण

SHARE:

काठमाडौं १ जनवरी २०२४ ।

कोभिड-१९ महामारी शुरू भएपछि थलिएको पर्यटन क्षेत्र पूरानै लयमा फर्किएको छ ।

सन् २०२३ मा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या १० लाख नाघेको छ, जुन कोभिड पूर्वका वर्षको स्थितिको छेउछाउ हो । नेपालमा सन् २०१८ र २०१९ पछि १० लाखभन्दा धेरै पर्यटक भित्रिएको यो तेस्रो वर्ष हो ।

पर्यटन बोर्डको तथ्यांकअनुसार, सन् २०२३ मा १० लाख १४ हजार ८८६ पर्यटक नेपाल भित्रिएका छन् । यो गत वर्षको तुलनामा ६५ प्रतिशत धेरै हो । नेपालले बितेका कयौं वर्षदेखि वर्षेनी १० लाखभन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्य राख्दै आएको थियो ।

कोभिड महामारी शुरू हुनु अघिका दुई वर्षमा लक्ष्यभन्दा धेरै पर्यटक भित्रिएका थिए । सन् २०१९ मा झण्डै १२ लाख पर्यटक नेपाल भित्रिएका थिए । यो अहिलेसम्मकै सर्वाधिक पर्यटक आगमन हो । तर कोभिड(१९ महामारी शुरू भएपछिका तीन वर्ष पर्यटक आगमन निकै निराशलाग्दो अवस्थामा पुगेको थियो ।

हरेक महीना ८५ हजार हाराहारीमा पर्यटक भित्रिन थालेपछि पर्यटन क्षेत्रले तंग्रिने सम्भावना देखाएको छ । पर्यटक आगमन बढेसँगै पर्वतारोहण, होटल तथा रेस्टुरेन्ट, पदयात्रा लगायतका पर्यटन क्षेत्र चलायमान हुन्छन् । नेपालमा रोजगारी सिर्जनाका लागि यी क्षेत्रको महत्त्वपूर्ण योगदान छ ।

यससँगै वैदेशिक मुद्रा आर्जनका लागि पर्यटन महत्त्वपूर्ण स्रोत हो । नेपाल राष्ट्र ब्यांकका अनुसार, गत आर्थिक वर्षमा नेपालले पर्यटन क्षेत्रबाट करीब ६२ अर्ब आम्दानी गरेको थियो ।

कोभिड-१९ को महामारी सकिएर वैदेशिक आवागमनको क्रम बढेपछि त्यसको प्रभाव नेपालमा पनि देखिएको हो । महामारीका समयमा चीनसहितका कयौं देशले आफ्ना नागरिकलाई भ्रमणमा रोक लगाएका थिए ।

नेपाल भ्रमणमा आउनेमध्ये सर्वाधिक पर्यटक भारतका हुने गरेका छन् । त्यसपछि चीन, अमेरिका तथा युरोपका पर्यटकको संख्या धेरै हुन्छ । भारतीय पर्यटक अधिकांश धार्मिक यात्राका लागि र अन्य देशका पर्यटक पर्वतारोहण, बिदा मनाउन तथा पदयात्राका लागि आउने गरेको पर्यटन व्यवसायी बताउँछन् ।

सन् २०२२ मा अक्टोबरमा सर्वाधिक एक लाख १७ हजार ३०६ पर्यटक नेपाल आएका थिए । त्यसैगरी, नोभेम्बरमा एक लाख आठ हजार ६३० पर्यटक नेपाल भित्रिएका थिए । नेपालमा अक्टोबर र नोभेम्बर तथा मार्च र अप्रिल महीनामा अन्य समयका तुलनामा बढी पर्यटक आउँछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!