असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड युगान्डा जाने

SHARE:

काठमाडौं १४ जनवरी २०२४ ।

असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी माघ ४ गते युगान्डाको राजधानी कम्पाला जाने भएका छन् ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्रसचिव सेवा लम्साल तथा नेपाल सरकारका वरिष्ठ अधिकारी रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शिखर सम्मेलनअन्तर्गत प्रधानमन्त्री प्रचण्डले माघ ५ गते ‘साझा वैश्विक समृद्धिका लागि सहयोग विस्तार’ विषयक प्रारम्भिक बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ। नाम सम्मेलनमा सहभागी राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको सम्मानमा सोही दिन गणतन्त्र युगाण्डाका राष्ट्रपति योएरी कगुटा मुसेभेनीले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन् ।

प्रधानमन्त्रीले शिखर सम्मेलनका क्रममा त्यहाँ एकत्र हुने सरकार प्रमुख, राष्ट्राध्यक्ष एवं उच्चपदस्थ अधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । शिखर सम्मेलन प्रारम्भ हुनुअघि आगामी माघ ३ र ४ गते परराष्ट्रमन्त्रीस्तरीय बैठक हुनेछ। परराष्ट्रमन्त्रीस्तरीय बैठकमा भाग लिने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री साउद माघ २ गते कम्पाला प्रस्थान गर्नेछन्। सोही क्रममा कम्पालामा माघ १ र २ गते परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु सम्मिलित बैठक हुनेछ।

शिखर बैठकले मन्त्रीस्तरीय बैठकको प्रतिवेदन समीक्षाका साथै सन् २०१९ मा नाम शिखर बैठकले पारित गरेका विषयको पनि पुनरावलोकन गर्नेछ। साथै बैठकले कम्पाला घोषणापत्र अनुमोदन गर्नेछ। नेपाल नामको संस्थापक सदस्य हो । स्थापनाकालदेखि नै नाममा नेपाल सक्रियतापूर्वक लागेको छ । असंलग्नता नेपालको परराष्ट्र नीतिको प्रमुख सिद्धान्त हो । प्रधानमन्त्री प्रचण्ड माघ ७ गते स्वदेश फर्कने छन् ।

उन्नाइसौँ नाम शिखर सम्मेलनपछि माघ ७ र ८ गते कम्पालामा नै आयोजना हुने तेस्रो दक्षिण सम्मेलनमा परराष्ट्र सचिव लम्सालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने परराष्ट्र मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!