काठमाडौं १४ जनवरी २०२४ ।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारको एक होटलमा आगलागी भएको छ ।
स्थानीय छिरिङ नोर्के लामाले सञ्चालन गर्दै आएको ट्रेकर होम नामक होटलमा शनिबार राति आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट होटलका सामान र भौतिक संरचना पूर्ण रुपमा जलेर नष्ट भएको वडाध्यक्ष टसी दोर्जे लामाले बताए ।
आगजनीबाट दुई लाख नगद सहित होटलको संरचना र होटलभित्र रहेका सबै सामग्रीहरु जलेर नष्ट भएको लामाले जानकारी दिए । आगलागीबाट एक करोड बढीको क्षति भएको उनको अनुमान छ । प्रहरी चौकी छेकम्पारबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा करिब ३ घण्टा पछि आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागीको कारण भने हालसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले बताए ।






