काठमाडौं २७ जनवरी २०२४ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले खुलेआम माओवादी आन्दोलनलाई चुनौती दिँदा पनि प्रतिवाद गर्न नसकेको भन्दै सो पार्टीका नेता–कार्यकर्तासँग असन्तुष्टि व्यक्त गरेका छन् ।
शनिबार सहिद प्रतिष्ठान नेपालको १४औँ वार्षिक साधारणसभालाई पेरिसडाँडामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफ्नो उद्देश्यप्रति माओवादी पंक्ति उदासीन देखिएको उनको गुुनासो थियो । माओवादीलाई १७ हजारको हत्यारा भन्ने बेइमानीपूर्ण र झुट भाष्य बनाइएको र यसले सहिदहरूकै अपमान भएको उनले बताए ।
प्रधानमन्त्री दाहालले सरकारले करिब ३ हजारलाई छिट्टै सहिद घोषणा गर्नका लागि प्रक्रिया अघि बढाएको भन्दै जनयुद्धका क्रममा ज्यान गुमाएका सबैलाई घोषणा गरिने जानकारी दिए । आफू प्रधानमन्त्री भएपछि सहिद, बेपत्ता तथा घाइतेका परिवारलाई राज्यले सहयोग गरेकाले त्यसलाई सिंगो पार्टी पंक्तिले आत्मबोध गर्नुपर्ने उनको भनाइ छ ।
शान्ति प्रक्रियाका बाँकी काम चाँडै सम्पन्न गर्न सरकार क्रियाशील रहेको उल्लेख गर्दै उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिमै टुंगिने जिकिर गरे ।






