काठमाडौं २८ जनवरी २०२४ ।

रोगहरुको व्यवस्थापन गर्नका लागि एकीकृत मार्गदर्शन बनाउन जरुरी रहेको विज्ञहरुले बताएका छन् ।
७१ औं विश्व कुष्ठरोग दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनीहरुले सरकारले विभिन्न रोगहरुको एकीकृत रोडम्याप बनउन जरुरी रहेको बताएका हुन् ।
उनीहरुले कुष्ठरोग नियन्त्रणका लागि सामुदायिक स्तरमा राम्रोसँग निगरानी हुन नसकेको बताए । उनीहरुले सबैको साझा पहल र सहयोगबाट मात्रै रोगहरुको नियन्त्रण हुनसक्ने बताए । कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा। संगीता कौशल मिश्राले कृष्ठरोग नियन्त्रणका लागि सामुहिक प्रयास आवश्यक रहेको बताइन् । उनले कुष्ठरोग नियन्त्रणका लागि सामुदायिक स्तरमा निगरानी राम्रोसँग गर्न नसकिएको बताइन् ।
उनले कुष्ठरोग धेरैजसो मधेसका क्षेत्रमा देखिएको र अधिकांश युवा तथा बालबालिकामा रोग लागेको अध्ययनले देखाएको बताइन् । उनले रोग नियन्त्रणका लागि एकीकृत केस रिडिङ र सामुदायिक निगरानी तथा सर्भिलेन्स आवश्यक रहेको बताइन् । उनले भनिन्, ‘कुष्ठरोग नियन्त्रणका लागि सामुदायिक स्तरमा निगरानी राम्रोसँग गर्न सकिरहेका छैनौँ । समुदायस्तरमा केस नियन्त्रणका लागि सहयोग गरिदिनुहोस् । हामीले यसका लागि तालिम गरिरहेका छौँ । विभिन्न ठाउँमा पुगिरहेका छौँ तर यति प्रयासले हुँदैन । यसका लागि साझा प्रयास चाहिन्छ । पूरै मधेस र तराईको क्षेत्र यसमा छ । युवा पुस्तामा यसको बढी समस्या छ ।
साथै बालबालिकाहरुमा । हाम्रो जस्तो देश जो रेमिट्यान्समा भर पर्छौं, लेप्रेसीले गर्दा अपांगता लगायत अन्य कुराको जे समस्या हो, धेरै प्रभाव पर्छ । बालबालिकामा देखिरहेको केसलाई नियन्त्रणमा ल्याउनुुपर्छ । इन्टिग्रेटेड डिजिज केस फाइनिङ र इन्टिग्रेटेड डिजिज सर्भिलेन्सको अब समय भइसकेको छ । हामीले एउटा डिजिजको लागि जनशक्ति छैन । एकीकृत रुपमा हामी गएनौँ भने फरक फरक रोगहरु नियन्त्रण गर्न सक्दैनौँ । त्यसलै एकीकृत रुपमा केस रिडिङ र सामुदायिक निगरानी तथा सर्भिलेन्स गर्नुपर्छ ।’
सरुवा रोग विशेषज्ञ डा.अनुप बाँस्तोलाले विभिन्न रोगहरुका छुट्टै रोडम्याप भएपनि अब एकीकृत रुपमा रोडम्याप बनाउन जरुरी रहेको बताए । उनले रेबिज रोगका लागि वान हेल्थ स्टाटेजीहरु तयार गरेको भएपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए । उनले कुकुरको टोकाइबाट हुने रेबिजलाई जिरो बनाउन ७० प्रतिशत भन्दा बढी स्टेट डगलाई भ्याक्सिनेसन गर्ने क्याम्पियन शुरु गर्न जरुरी रहेको बताए ।
उनले नेपालमा जलवायु परिवर्तनको असर अत्याधिक बढेको बताए । तराईमा मात्रै लाग्ने डेंगु अहिले पहाड हुँदै हिमासम्म देखिने गरेको भन्दै नेपालले अध्ययनका कार्यक्रम अघि बढाउन जरुरी रहेको बताए । उनले भने, ‘रेबिज रोगका लागि हामीले वान हेल्थ स्टाटेजीहरु तयार गरेका छौँ । साँच्चै नै रेबिजलाई नियन्त्रण गर्ने हो भने मास डग भ्याक्सिनेसन यो महत्वपूर्ण कुरा हो ।
कुकुरको टोकाइबाट हुने रेबिजलाई जिरो बनाउने हो भने ७० प्रतिशत भन्दा बढी स्टेट डगलाई भ्याक्सिनेसन गर्ने क्याम्पियन शुरु गर्न जरुरी छ । ती कार्यक्रमहरु प्रभवकारी रुपमा शुरु भएका छैनन् । हामीलाई चुनौति छ । सबैमा यसको साथ चाहिन्छ । नेपाल अहिले ग्लोवल वार्मिङको चित्र ऐना हो । डेंगु पछिल्लो समय तराईबाट पहाड र हिमालमा गइसकेको छ । विश्वमा पनि यही अवस्था छ । नेपालले धेरै अध्ययनका कामहरु अघि बढाउन सक्नेछ । विभिन्न रोगहरुका छुट्टै रोडम्याप तयार गरेका छौँ । तर एकीकृत रुपमा रोडम्याप बनाउन जरुरी छ ।’
उनले कालाजारका बिरामी काठमाडौंमा नै भेटिसकिएको पनि बताए । यस वर्ष ‘कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने नारासहित कुष्ठरोग दिवस मनाइँदैछ ।






