पोखरा ३ फेब्रुअरी २०२४ ।

मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिता रानामगर र फोटो पत्रकार मिलन तमु पोखरामा सम्मानित भएका छन् ।
नेपाल मगर सांस्कृतिक संघ कास्कीद्वारा मगर कलाकार भलाई कोष स्थापनार्थ शनिबार पोखरामा आयोजित दोस्रो मगर उत्सव-२०८० को सन्दर्भमा सामाजिक अभियन्ता अनिता र गोर्खा मिडियाका प्रबन्ध निर्देशकसमेत रहेका मिलनलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेगमगर र अध्यक्ष सरिता सारु मगरले दुवै जनालाई फेटा, माला, प्रमाणपत्रले सम्मान गरे ।
त्यस्तै नेपाल मगर सांस्कृतिक संघ कास्कीले यस वर्ष राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रीता थापामगर, सामाजिक अभियन्ता जुनु पुन मगरलाई समेत सम्मान गरिएको छ । पूर्वगोर्खा तमु दुई दशकभन्दा लामो समयदेखि बेलायतमा फोटो पत्रकारितामा सक्रिय छन् । चार वर्षअघि तमुले एकल स्वामित्वमा गोर्खा मिडिया डटकम अनलाइन सञ्चालनमा ल्याएका छन् ।
पत्रकारिता र समाजसेवामा सक्रिय गुरुङ नेपाल पत्रकार महासंघ बेलायत शाखा कार्यकारिणी सदस्य, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज यूके)का सल्लाहकार, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका सल्लाहकार जस्ता विभिन्न संघसंघमा आबद्ध छन् । तमु गत १६ डिसेम्बर २०२३ मा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेबाट ‘फोनिज पत्रकारिता पुरस्कार’बाट समेत पुरस्कृत भएका थिए ।
उनले यसअघि लंग सर्भिस एन्ड गुड कन्डक्ट मेडेल, कोसोभो कन्फ्लिक्ट मेडल, ब्रुनाइ सर्भिस मेडेल, सहारा युकेबाट विशेष सम्मान २०१६, हर्कबहादुर स्मृति पुरस्कार, आदर्श तमु वर्ष २०२२, प्राप्त गरिसकेका छन् ।






