विकास क्रान्ति सुरु नभए राजनीतिले नै देश सिद्धिन सक्छ : दिनेश राई

SHARE:

नेपालमा कम्युनिस्ट नेतृत्वमा दुई तिहाईको सरकार बनेको छ महिना बितिसकेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली दोस्रो पटक गत फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भइसकेपछि नागरिकका आकांक्षा निकै उचो भएको थियो । तर, यातायातमा सिन्डिकेट हटाउनेलगायत केही निर्णयबाहेक देखिने काम सरकारबाट हुन सकिरहेको छैन । र त, विपक्षी नेपाली कांग्रेसले सरकारको खुलेर आलोचना गरिरहेको छ । प्रतिपक्ष पनि आफ्नो भूमिकामा सशक्त बन्न नसकेको टीकाटिप्पणी छ । सरकारको कामकारबाही, प्रतिपक्षी कांग्रेसको भूमिकालगायत विषयमा बेलायत भ्रमणमा रहेका कांग्रेस युवा नेता दिनेश राईसँग एभरेस्ट टाइम्सका लागि घान्द्रुके कान्छाले जिज्ञासा राखेको छ । कांग्रेस महासमिति सदस्य राई बीपी अध्ययन प्रतिष्ठानका उपाध्यक्षसमेत हुन् । प्रस्तुत छ, युवा नेता राईसँगको कुराकानीको सम्पादित अंश ।

करिब तीन हप्तादेखि बेलायत भ्रमणमा हुनुहुन्छ, कस्तो अनुभूति भइरहेको छ ?
बेलायत भ्रमण मेरो पहिलो भएकोले नौलो अनुभूति भइरहेको छ ।
तपाई तुवाचुङ जायजुम संरक्षण समितिको महासचिव हुनुहुन्छ, यस बारेमा बताइदिनुहोस् न ?
किरात राई यायोक्खा बेलायतले निमन्त्रणा गरेर हामी यहाँ आएका हौं । यस क्रममा यहाँ ठाउँ ठाउँमा अन्तक्र्रिया राखिसकेका छौं । तुवाचुङ जायजुम हाम्रो संस्कार, संस्कृतिको उद्गम थलो हो । तुवाचुङ जायजुमसंरक्षण समिति भनेको संस्कार संस्कृतिको उद्गम विन्दु, तपो भूमि हो । प्रागऐतिहासिक थलो पनि हामी भन्छौं । यो खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकामा पर्दछ ।
तुवाचुङ जायजुमबाट हाम्रो संस्कार, संस्कृति, अन्न र लाउने कपडाको पनि आविष्कार भएको हामी दाबा गर्छाैं । नेपालकै भूभागमा परेकोले यसलाई अरु घनिभूत बनाएर लानुपर्ने आवश्यकता देख्छौं । विशेष गरेर हाम्रो तयामा, खियामा र रैछकुले किरात पूर्खाहरु त्यहाँ बस्नुहुन्थ्यो । तयामा, खियामा दिदीबहिनी र रैछकुले भनेका उहाँहरुको भाइ (माइती) । तयामा, खियामाले कपडा आविष्कार गरेका थिए, कपास रोपेर, कपास खेती गरेर । त्यहाँदेखि नै वास्तवमा लाउने कपडाको सुरुआत भएको मानिन्छ । त्यसपछि ढुंगेयुग अन्त्य भो भन्ने भनाइ छ ।
रैछकुले भाइले सिकारी युगको अन्त्य गर्नुभएको थियो । जसरी कोदो, मकै, अन्नहरुको आविष्कारपछि खाएर, खुवाएर उहाँले ढुंगेयुगको अन्त्य गरी कृषियुग सुरु गर्नुभएको श्रुति स्मृति ग्रन्थले भनेको छ । त्यसकारण त्यो ठाउँ राई, किराँतीहरुको मात्रै होइन, संसारभरिका मानव जातिका निम्ति ऐतिहासिक प्रागथलो भएकोले गर्दा तुवाचुङको महत्व छ ।
सोही ऐतिहासिक महत्वको तुवाचुङ संस्थाकै नाममा जग्गा खरिद गर्नुपर्ने भएकोले यसपालि बेलायतवासीहरुलाई हामीले आग्रह गरिरहेका छौं । उहाँहरुको मन, मस्तिष्कको भाव, भावना, विचार एकठाउँ, एकसाथ होस् । त्यहाँनिर केही जमिन खरिद गर्नुपर्ने भएकोले उहाँहरुले सहयोग गर्नुहोस्, ऐतिहासिक थलोमा तपाईं/हामी सबैको भावना पुगोस् भन्न पनि यो मिडियामार्फत आग्रह गर्न चाहन्छु ।
संस्थालाई सरकारी सहयोग कस्तो छ ?
सरकारले तुवाचुङ जायजुम संरक्षण समितिलाई केही सहयोग गरेको छ । तर, जमिन किन्नचाहिँ सरकारले रकम नदिँदोरहेछ । गुरुयोजनाका लागि केही रकम छुट्याउन सक्दोरहेछ सरकारले । नीतिमा नहुँदा जमिन खरिदका लागि रकम छुट्याउन नमिल्दो रहेछ । सोही कारणले हामीले बेलायतवासी मन, भावना भएका साथीहरुबाट नै रकम उठाउने प्रक्रिया थालनी गरेका हौं । उहाँहरुको रगत, पसिनाले मुछिएको सहयोग संकलन गर्नु परेको हो ।
कांग्रेस अहिले प्रमुख प्रतिपक्षमा छ तर संसद्मा भूमिका फितलो भयो भन्ने टिप्पणी छ नि ?
आरोप लाग्नु, टिप्पणी हुनु आ–आफ्नो ठाउँमा छ, कोहीको धर्म होला । तर, नेपाली कांग्रेसले प्रतिपक्षीको भूमिका चाहिँ बलियो, दरो रुपमा निर्वाह गरिरहेको मेरो अनुभूति छ । हाम्रो आदरणीय नेता शेरबहादुर देउवा, जो पार्टी सभापति हुनुहुन्छ । र, वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा सरकारले गरेका विभिन्न त्रुटिहरुलाई सच्याउन खबरदारी गर्नुपर्छ । त्रुटि सच्याएर लान सकिएमा देश निर्माण हुन सक्छ । देशले खोजेको परिवर्तन हुन सक्छ । त्यही परिवर्तनका निम्ति हामी प्रतिपक्षीको भूमिका निर्वाह गर्छौं भनेर सडकदेखि सदनसम्म भूमिका निर्वाह गर्नुभएको छ, उहाँहरुले । त्यो वास्तवमै सराहनीय छ ।
हामी धेरै अनुत्तरदायी ढंगले प्रस्तुत भएका छैनाैं, हुनु पनि हुँदैन । पहिला उहाँहरुले सदनभित्र जुन किसिमको व्यवहार देखाउनुभएको थियो, त्यो ढंगले होइन । एक प्रकारले भन्दा विनित ढंगले नेपाली जनताको निम्ति, उहाँहरुलाई नै परिवर्तनको संवाहक बनाएर विशेषतः कांग्रेसीजनहरु अगाडि बढिरहेका छन् । त्यो भूमिका पोजेटिभ र सान्दर्भिक देखिन्छ ।
देशमा परिवर्तनसँगै नागरिकले अधिकार प्राप्त गरेका छन् । तर, जति तीव्र गतिमा विकास हुनुपर्ने हो त्यो हुन सकिरहेको देखिन्न, यसमा के भन्नुहुन्छ ?
सान्दर्भिक प्रश्न गर्नुभयो । यस्तो अवस्था कसले बनायो, किन गर्‍यो, त्यतातिर नजाऔं । अब कसरी गर्ने, कसरी जाने भन्नेतिर जानु सान्दर्भिक हुन्छ । यही बेलायत, अमेरिकामा, यहाँको काउन्सिलमा सन् १९०२ भन्दा अगाडि गाडी पनि थिएनन् । घोडैघोडा पाल्दथ्यो । सडकमा साधन घोडा हुन्थ्यो । १५ दिन वा हप्ता दिनको मिटिङमा यहाँका काउन्सिलहरु हैरान हुन्थे कि घोडाको लिदी कसरी सोहर्ने । घोडाको लिदी सोहोरेर कसरी सहरलाई सफा गर्ने ? खाली यही मात्रै कुरा हुन्थ्यो । जब ह्यान्डीपोर्ट भन्ने कम्पनीले डिजेलले चल्ने गाडी निकाल्यो र घोडाको लिदी सोहोर्ने दिनको अन्त्य गर्‍यो । त्यो दिनदेखि घोडा चल्न छोड्यो । घोडालाई सहरमा साधनको रुपमा प्रयोग गर्न छाडियो, गाडीको प्रयोग गरियो । एउटा युगको अन्त्य गर्‍यो ।
त्यस्तै गरेर नेपालको राजनीतिक इतिहासमा पनि राजनीतिक ट्रान्जेक्सन फेजको इतिहास अन्त्य गर्नुपर्छ र विकासको फेजको सुरुआती गर्नुपर्छ । परिवर्तन हो त्यो । परिवर्तन खाली राजनीतिमाथि राजनीति होइन । राजनीति त रेगुलर चल्ला तर राजनीतिक ट्रान्जेक्सन फेज अन्त्य गर्दै विकास, समाज र जनताको चाहनाबमोजिम संवाहक बन्नुपर्छ । नेपालमा जुनसुकै पार्टीले सरकार चलाए पनि । अबको सोच, सन्दर्भ, विचारमा नयाँ जनेरेसनलाई स्थापित गर्दै राजनीतिक ट्रान्जेक्सन फेजको अन्त्य गरेर अगाडि बढ्नु जरुरी छ । यदि त्यो भएन भनेदेखिन् राजनीतिले नै देश सिद्धिन सक्छ । त्यस्तो चिन्ताले नेपालमा हामीजस्ता युवालाई प्रशस्त छोएको छ ।
राजनीतिक ट्रान्जेक्सन फेज त सिद्धिसकेको होइन र ?
हो, अब सिद्धिनु पर्छ । चाहे सत्तापक्ष होस्, चाहे प्रतिपक्ष उहाँहरुले घोषणा गरिसक्नु भएको छैन । एकले अर्काप्रति एकदमै अराजनीतिक आक्षेप लगाइरहनुभन्दा अब परिवर्तनको बाटो लाग्नुपर्छ । अब खाली राजनीति, राजनीति मात्रै होइन, आर्थिक क्रान्ति सुरु गर्नुपर्‍यो । विकास क्रान्ति सुरु गर्नु पर्‍यो । अब नयाँ परिवर्तनको क्रान्ति ल्याउनु पर्‍यो । त्यो भयो भने नेपालको राजनीतिक परिवेश सुध्रिएर जाला । तेरो र मेरो भनेर जुंगाको लडाइँ मात्रै भइराख्यो भनेदेखिन् अझै पनि नेपालीहरुको दुःख गर्ने दिन नसकिन सक्छ । यसमा युवाहरुको गम्भीर भूमिका पनि हुनुपर्छ ।
नेपालका सबै जातजाति, वर्गका नागरिकले सबै अधिकार पाएका छन् त ?
संविधानसभा २००७ सालमा बीपी कोइरालाको परिकल्पना थियो, नेपालमा सुन्दर समाजको परिकल्पना गर्नुभएको थियो उहाँले । म जस्तै होस् मेरो नेपाल । जसले दुहुना गाई पाल्न सकोस् । बारी जोत्ने एक हल गोरु होस् । बिरामी पर्दा औषधिमूलो गर्ने क्षमता होस् । बालबालिकाले शिक्षा प्राप्त गर्ने हैसियत होस् भन्ने कल्पना गर्नुभएको थियो । त्यो सबै कुरा अहिलेको सन्दर्भमा नहोला ।
अहिले एक हल गोरुको सट्टा एउटा गाडीको परिकल्पना होला । त्यसलाई स्थापित गर्न, त्यो कुरा गर्न हाम्र्रो सुदूर भविष्य निर्माणका लागि लिखित रुपमा संविधान आइसकेको छ । यसलाई संस्थागत गरेर अगाडि बढ्नुछ । यो संविधानलाई हामीले माया गर्न सकेनौं या राजनीतिक दलका प्रमुखहरुले माया गर्न सकेनन् या सरकार पक्षले माया गर्न सकेन भने हामीले यति लामो इतिहास निर्माण गर्दा जति दुःख भोगेका थियौं, जति रगत बगाएका थियौं, त्यो सबै व्यर्थ हुन सक्छ । त्यसैले यी सबै कुरालाई संस्थागत गर्नुपर्छ ।
संविधान समयक्रममा परिवर्तन हुनसक्ला तर अहिलेलाई संस्थागत रुपमा अगाडि बढ्दा संविधानको पनि सम्मान हुन्छ । र, हजारांैहजारले यो संविधानका लागि लडे, रगत बगाए, मरे ती सहिदहरुलाई पनि सम्मान हुन्छ जस्तो लाग्छ ।
तपाईं आदिवासी जनजाति समुदायका एक नेता पनि, अन्य अगुवाले अधिकार अझै पूरा भएको छैन भनिरहेको अवस्थामा आन्दोलनको आवश्यकता छ ?
सबै अधिकार सबै वर्गलाई प्राप्त नभइसकेको अवस्था छ । आदिवासी जनजाति मात्रै होइन, दलित या अन्यलाई पनि हेर्नुहोस् । सबैलाई भरिपूर्ण हुन सक्तैन । जति चिज छ त्यसलाई हामीले समेटेर लान सक्नुपर्छ । कार्यान्वयन गरेर लान सक्नुपर्छ । हामीले जति अधिकार प्राप्त गरेका छौं । त्यसलाई व्यवहारिक रुपमा इम्प्लिमेन्टेसन गरेर लान सक्यौं भने स्थापित हुँदै जान्छ । अर्को आवश्यकीय अधिकारका लागि भोलि फेरि लडौंला । अहिले जति छ, त्यसलाई स्थापित गर्नका लागि हामी एक हुनै पर्छ ।
नेपालमा चाहे सरकार पक्षलाई होस् या गर्न खोज्ने पक्षलाई होस् सहयोग गरेर जानुपर्छ भन्ने नै मेरो तर्क हो । यसो भन्दैगर्दा सम्पूर्ण अधिकार चाहे जनजातिलाई होस्, महिलालाई होस्, वा कुनै वर्गलाई होस् पुगिसकेको भन्ने होइन । यत्ति नै हो भनेर म भन्दिनँ । जति अधिकार पाइरहेको छ, त्यसलाई स्थापित गर्दै प्रयोगमा जाऊँ । त्यसपछि अर्को अधिकार खोजौंला । आवश्यक परे फेरि आन्दोलन सुरु होला । त्यो अर्को कुरा ।
जुन चिज प्राप्त भइरहेको छ । त्यसलाई हामीले इप्लिमेन्टसन गर्न सक्नुपर्छ । अनिमात्रै हाम्रो थप अधिकार प्राप्त हुन सक्ला । त्यही भएन, यही भएन भनेर राजनीतिकरण गर्ने, जुँगाको लडाइँ लड्ने गरी अगाडि बढ्ने हो भने नेपालमा परिस्थिति एकदमै गम्भीर भइसकेको छ, सोच्नुपर्छ । नेपाल आमाको छातीमाथि टेकेर हामीले कतिसम्म हामीले राजनीति गर्ने, कतिसम्म बेइमानी गर्ने । सब नेता, कार्यकर्ताहरुले र नेपालका हरेक इकाईले एकदमै गम्भीर भएर सोच्ने बेला आइसकेको छ ।
नेपालका राजनीतिक पार्टीहरुमा युवा नेतृत्व पंक्तिमा पुग्न सकिरहेका छैनन्, यसको कारण ?
नेपाली कांग्रेस पुरानो पार्टी पनि हो । पुरानो पार्टी भएकोले पुराना नेताहरु रहनु स्वाभाविकै हो । तर, पुरानो पार्टी पुरानै नेतृत्व भन्ने होइन । अब केही पुराना नेताहरुको डाइरेक्सनमा केही नयाँ युवाहरुको भूमिका रहनेगरी संरचना आउनुपर्छ । यतिखेर हाम्रो केन्द्रीय समिति, महासमिति बैठक बोलाउने तयारी भइरहेको छ ।
नेपाल नयाँ संरचनामा अगाडि बढिरहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भइसकेको अवस्था, त्यसलाई कार्यान्वयन गर्न बाँकी छ । त्यसकारणले राजनीतिक ट्रान्जेक्सन फेज पनि हो यो । यसलाई स्थापित गर्नका लागि संविधान जारी भएको छ । यसलाई कार्यान्वयन गर्न, संसदीय दलको नेतामो सभापति शेरबहादुर देउवा चयन भइसकेको अवस्था छ । यही फेजमा मिलाएर लैजानुपर्छ । हाम्रो संघीय संरचना कस्तो हुने, केन्द्रीय संरचना कस्तो हुने, स्थानीय संरचना कस्तो हुने हो यसको निक्र्योल अबको महासमिति बैठकमा हुन्छ । यसपछि संघीय संरचनामा युवाहरुको भूमिका के रहने ? केन्द्रीय संरचना, केन्द्रीय समितिमा युवाहरुको भूमिका कहाँ रहने हो ? त्यो मिलाएर लानु एकदमै आवश्यक छ । होइन भने, परिस्थिति नसोझिन सक्छ ।
युवाले नेतृत्व पाएमा देशमा केही परिवर्तन हुन सक्छ त ?
डेफिनेट्ली, युवाहरुको सोच, भूमिका नयाँ शिराबाट चलिरहेको छ । संसार अहिले त्यत्ति ठूलो र गाह्रो छैन । संसार यत्ति नजिक भइसकेको अवस्था छ । तर, हाम्रो पुरानो पुस्तामा इन्फर्मेसन टेक्नोलोजीसम्बन्धी ज्ञान नभएको अवस्था छ । देश, समाजको नेतृत्व गर्ने नेताले त्यो बारेमा पनि जान्नु आवश्यक छ । यो कुरा सबै युवाहरुमा अवगत छ । यो एउटा उदाहरण मात्रै हो, यस्ता कयौं उदाहरण छन् । जो युवाहरुले गर्न सक्ने वातावरण, क्षमता युवाहरुमा छ । तर, फेरि इनटोटल युवाहरु नै आउनुपर्‍यो, पुरानो सबै आउट हुनुपर्‍यो भन्ने पनि होइन । व्यवहार र क्षमतालाई एक ठाउँमा राख्नुपर्छ ।
पुरानो पुस्ताको जुन किसिमको धैर्यता छ, जुन अनुभव छ । त्यो अनुभवलाई समेट्दै नयाँ पुस्तालाई पनि काम गर्ने ठाउँमा राखेर उसको क्षमता, पर्फमेन्सलाई प्रयोग गर्नुपर्ने अवस्था छ । यो देशको माग हो, समयको माग हो ।
सरकारले सुखी नेपाली, समृद्ध नेपालको परिकल्पना गरेको छ, यसमा प्रतिपक्षीको भूमिका कस्तो रहनुपर्छ ?
प्रतिपक्षीको यो अवसर पनि हो । त्यसकारणले सत्तापक्षभन्दा प्रतिपक्ष एकदमै होसियार भएर अगाडि बढ्नु जरुरी छ । सत्तापक्षले गरेका हरेक सुन्दर काम वा समाजलाई उल्टो असर पर्ने खालका जो गल्तीहरु छन् त्यसको सुक्ष्म ढंगले विश्लेषण गरेर जानु जरुरी छ, प्रतिपक्षले । नेतृत्वले थोरै मात्र गल्ती गर्‍यो भने देश तहसनहस हुनसक्छ ।
एउटा परिवारमा बाबुले थोरै मात्रै मिस्टेक गर्‍यो भने व्यवहार सिद्धिन सक्छ । त्यसो हुँदा प्रतिपक्ष पनि देशको अभिभावक हो । उसले पनि सुक्ष्म ढंगले देशमा जसले राज्यसत्ता सञ्चालन गरिरहेको छ अर्थात् सत्ता पक्ष छन् । उसले गरेका हरेक निर्णयको सुक्ष्म ढंगले विश्लेषण गर्नु जरुरी छ । जता पायो त्यही ढंगले विरोध गर्ने, जता पायो त्यही ढंगले सपोर्ट गर्नुभन्दा पनि उसले गरेका कामको सही र गलतलाई छुट्याएर अगाडि बढ्दा राम्रो हुन्छ । त्यही ढंगले कांग्रेसले अहिले प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको छ ।
अहिले प्रधानमन्त्री केपी ओलीजी हुनुहुन्छ, उहाँलाई हामीले सद्भावपूर्ण सफलताको कामना पनि दिएका छौं । तपाईंहरुले सुन्दर ढंगले राज्यसत्ता सञ्चालन गर्नुहोला, तीन करोड जनतामा कांगे्रेसहरु पनि पर्छौं । त्यसकारणले तपाईंले गरेका सुन्दर निर्णयले तमाम नेपालीको सुन्दर भविष्य निर्माण हुन सक्छ । तपाईंले गरेको एउटा असुन्दर निर्णयले तमाम ३ करोड जनतालाई असर पर्न सक्छ । यद्यपि उहाँले पटक पटक गल्ती गरिरहनुभएको छ ।
संघीयतामा शक्ति पृथकीकरण, शक्ति बाँडफाँट हुनुपर्छ । तर, उहाँले हरेक शक्ति केन्द्रिकृत गरिरहनुभएको छ ।
अघिल्लो सरकारले गरेका हरेक निर्णय, जो संविधान निर्माण हुँदै गर्दाखेरी जनताको अभिमतले स्थापित गरेको निर्णयहरु पनि उल्टाइरहनु भएको छ । त्यतिमात्रै होइन, आईजी काण्डदेखि सर्वोच्च अदालतको एउटा न्यायाधीशको मुद्दामा जनताले नै चित्त नबुझाउने खालको गरिरहनु भएको छ । त्यो निर्णयप्रति आपत्ति कांग्रेसले जनाइरहेको छ । राम्रो कामप्रति कांग्रेसले प्रश्न उठाउँदैन । उहाँहरुले गरेका समाजमा अपाच्य निर्णयमा कांग्रेसले अहिले थोरै सुझावको लागि सडकदेखि सदनसम्म सचेत गराउने प्रयास गरिरहेको छ ।
यो सरकारको मूल्यांकन गर्दा तपाई सयमा कति नम्बर दिनुहुन्छ ?
मेरो जुन क्षमता छ, यो सरकार यत्ति ठूलो दुई तिहाई मतबाट बनेको छ । त्यो आधारमा सरकारले राम्रो गति लिएर जानुपर्ने हो, त्यसरी जान सकेन । मैले नम्बर दिनुपर्दा, दिने ठाउँ नै छैन । दुःख लाग्छ मलाई । मेरो देशको सरकार हो । उहाँ (केपी ओली) लाई मैले सम्मान गर्नुपर्छ ।
बेलायत आउँदै गर्दा म यहाँका महारानी एलिजावेथ दरबार पुगेँ । उहाँहरुलाई कत्रो सम्मान छ । प्रधानमन्त्रीप्रति, सरकारप्रति, महाराजा, महारानीप्रति या देश सञ्चालकप्रति जनताहरुको कत्रो सम्मान छ । सम्मान गर्नुपर्ने हो हाम्रो अभिभावकको हैसियतले । तर, अहिलेको सरकारलाई मैले जुन माक्स दिनपर्ने कुरामा म माक्स दिने कुरामा जिरो छ । किनभने अहिलेको सरकार, अहिलेको सत्तासञ्चालन इतिहासकै सबैभन्दा कमजोर छ । सरकारको नेतृत्व खाली जोक्स, कलाकारिता, गीत गायनमा केन्द्रित छ । त्यसले मुलुक चल्दैन । त्यस्तो किसिमको वातावरणबाट सरकार अगाडि बढेकोले सन्तुष्ट ढंगले चलेको पटक्कै छैन ।
राम्रो काम हुन सरकारले के कुरा सच्याउनुपर्छ ?
सरकारले अब राजनीति गर्न छोड्नुपर्छ, राजनीति चल्दै गर्छ । मैलेअघि भनिसकेँ अब परिवर्तनको खाँचो छ । राजनीतिक परिवर्तनका लागि हामी नेपालमा धेरै लड्यौं । समाजको लागि लड्ने हो भने सामाजिक काममा अगाडि बढ्नु पर्‍यो । जहाँ बाटो पुगेको छैन, जहाँ स्कुल पुगेको छैन । त्यत्रो लाखौं विद्यार्थी अलपत्र परिरहेको अवस्था छ ।
२०७२ सालको भूकम्पले थिलथिलो पारेको छ हाम्रो देश । भूकम्पमा लडेका कयौं स्कुल भवनहरु अहिलेसम्म निर्माण नभएको अवस्था छ । भूकम्पबाट लडेका, भत्केका कयौं सडकहरु अहिलेसम्म पुनर्निर्माण नभइसकेको अवस्था छ । कयौं पुलिस थानाहरु, कयौं स्वास्थ्यचौकीहरु, कयौं हस्पिटलहरु अस्तव्यस्त छन् ।
सत्तापक्षले त तपाईहरुले साथ दिएन भन्छन् नि ?
उहाँहरु दुईतिहाईमा हुनुहुन्छ । उहाँहरुले गरेका निर्णय सर्वोपरी हुन्छ । हामीले कहाँ काम गर्न दिइरहेका छैनौं । खोटाङमा एउटा अस्पताल बनाउन खोज्दा हामीले कहाँ रोक्यौं, यहाँ बनाउन हुन्न भनेर । खोटाङमा राम्रो एयरपोर्ट बनाउँछु भनोस् हामीले कहाँ भन्यौं एयर बनाउनु हुन्न ।
हामी त के भनिरहेका छौं, उहाँहरुले बाँडेका तलब । जो संसद्ले दुई तिहाई बढाएको तलब छ, त्यसको विरोध गरिरहेका छौं । त्यो पैसा जनताको हो । जनताको गाउँमा पुग्नुपर्छ । समाजमा पुग्नुपर्छ । जहाँ स्कुल पुगेका छैनन्, जहाँ हाम्रा कलिला बालबालिकाहरु पढ्न पाइरहेका छैनन् । ती बालबालिकाहरुलाई शिक्षा दिनुपर्छ । त्यो पैसाले हामीले तलब खाने होइन भनेर हामीले त्यसबारेमा मात्रै विरोध गरिरहेका छौं ।
अन्त्यमा, बेलायत भ्रमण सकेर तपाईले यहाँबाट लैजानुपर्ने एउटामात्रै कुरा के हो ?
सिस्टम । सिस्टम राम्रो हुनुपर्‍यो । जसरी सिस्टमले चलेको छ बेलायत, यो नेपालले सिक्नुपर्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!