आज तामाङ समुदायको सोनाम ल्होछार

SHARE:

काठमाडौँ १० फेब्रुअरी २०२४ । आज माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होछार मनाउँदै छन् ।

आजदेखि डुक (गरुड वर्ग) वर्ष प्रवेश हुँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।

ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।

भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ । समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन् ।

तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

राजधानीको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होछार मनाइँदै छ । दिउँसो १ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले ल्होछार कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम छ । औपचारिक कार्यक्रमअघि खुलामञ्चबाट सांस्कृतिक र्‍याली, झाँकीसहित सहरका विभिन्न स्थान परिक्रमा गरिनेछ । महोत्सवमा तामाङ जातिको सांस्कृतिक संस्थाहरू (ताम्बा, बोन्बो तथा लामा) गुरुहरूद्वारा विशेष पूजाआजा, सांस्कृतिक झाँकी प्रदर्शन, परम्परागत गीत, नृत्यहरू (दोहोरी, नृत्य, डम्फू सेलो, मानेदोरा तथा म्हेन्दोमाया) साथमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चित अतिथि कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

के हो ल्होछार ?

तामाङ जातिको सामाजिक, सांस्कृतिक एवम् धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान र अत्यन्तै महत्वपूर्ण भूमिका रहेको छ । यो गणितमा आधारित ल्हो परम्परा तामाङ संस्कृतिकै अभिन्न अङ्ग हो । यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई समेत प्रतिविम्बित गर्दछ । ‘ल्हो’ को अर्थ ‘साल’, सम्वत्, वर्ष, उमेर र ‘छार’को अर्थ ‘नयाँ’ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो । ल्हो बाह्रवटा हुन्छन् अर्थात् तामाङ भाषामा पनि भनिन्छ । विभिन्न बाह्रवटा पशुपंछीको नामबाट ल्होको नाम राखिएको हुन्छ ।

बाह्र ल्हो मध्ये प्रत्येक वर्ष एक/एक वटा ल्हो फेरिन्छ । यही ल्हो फेरिने दिनलाई तामाङ भाषामा ल्हो पोबा, ल्हो दोबा वा ल्होछार भनिन्छ । तामाङहरूले मान्ने ल्होछार (नयाँ वर्ष) चन्द्र पात्रोको पहिलो महिनाको पहिलो दिन अर्थात् प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदादेखि सुरु हुन्छ । यो परम्परा कहिले सुरु भएको भन्न नसकिए पनि यसलाई चिनियाँ सभ्यतासँगै आजभन्दा ४७०० वर्ष अगाडि विकास भएको कुरा चिनियाँ ज्योतिषशास्त्रको इतिहासबाट प्रमाणित हुन्छ । यो ल्होछार पर्व नेपालमा मात्र होइन चीन, मंगोलिया, जापान, हङकङ, भियतनाम, लाओस, थाइल्यान्ड, ताईवान, मलेसिया, सिंगापुर आदि देशहरूमा पनि चन्द्रमासमा आधारित यही ल्होछार (नयाँवर्ष) मनाउने गर्छन् नेपालका ह्योल्मो, मनाङ्गे, हुम्ली तामाङ, डोल्पो, तोप्केगोला, सिसा, ताङ्बे, थकाली, जिरेल, खाममगर, दुरा, भोटे, नेस्याङबा र केही शेर्पा आदिले मान्दछन् । यसरी नै विश्वमा छरिएर बसेका तामाङ समुदायले पनि यसै दिन यो पर्व धुमधामसँग मनाउने गर्दछन् ।

सोनाम ल्होछार पर्व माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म तामाङहरूले ल्होछार विभिन्न गुम्बा, घर-घरमा गरी घरलगायत सार्वजनिक स्थानहरूमा दर्ज्यू गाड्ने, छो प्रसादहरू वितरण गर्ने, शुभकामना आदानप्रदान गर्ने, मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने, चेलीबेटी, इष्टमित्र, कुटुम्बको भेटघाट र सामूहिक प्रितिभोज र पूजा सांस्कृतिक कार्यक्रम गरेर मनाउँदछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!