मस्तिष्क घातका बिरामी सञ्जोग थापा मगरको उपचारमा आर्थिक अभाव

SHARE:

झापा १० फेब्रुअरी २०२४ । मस्तिष्क घात भएका मेचीनगर नगरपालिका–१० का विपन्न परिवारका ३० वर्षीय सञ्जोग थापा मगरको शल्यक्रियाका क्रममा अस्पतालको चिस्यान केन्द्रमा राखिएको टाउकाको खोपडी (मस्तिष्कको ढकनी) जोड्न आर्थिक अभाव भएको छ ।

वैदेशिक रोजगारीमै रहँदा उच्च रक्तचापको बिरामी भएपछि घर फर्किएका उनलाई गत कात्तिक १ गते मस्तिष्क घात (ब्रेन हेमरेज) भएको थियो । विर्तामोडको बीएन्डसी हस्पिटलमा शल्यक्रियापश्चात् उहाँलाई ३९ दिन सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । शल्यक्रियाका क्रममा उनको टाउका पछाडिको खोपडीको एउटा भाग अस्पतालमै राखिएको आमा दिलमाया थापा मगरले बताइन् । “डाक्टरले तीन महिनापछि खोपडी लगाउन आउनु भन्नुभएको थियो”, उनले भनिन्, “खोपडी लगाउन फेरि धेरै पैसा लाग्छ, हामीसँग त केही पनि छैन ।”

अस्पतालले तीन महिनाभित्र आउनु भने पनि आर्थिक जोहो नभएका कारण सञ्जोगलाई लैजान नसकिएको उनको उपचारमा जनस्तरबाट आर्थिक सहयोग जुटाइरहेका छिमेकी ऋषिराज भट्टराईले बताए । अस्पतालले खोपडी जोड्न दिएको म्याद एक महिना नाघिसकेको हुँदा चिन्ता थपिएको उनले बताए ।

“पहिले पनि शल्यक्रिया र अरू उपचार गराउन चन्दा उठाएका थियौँ”, भट्टराईले भने, “अहिले लगभग रु तीन लाख सहयोग जुटाउन सके खोपडी जोडिदिन सकिन्थ्यो तर आर्थिक सहयोग जुट्न सकिरहेको छैन ।” सञ्जोग मलेसियामा रोजगारी गरेर गत वर्ष घर फर्किएका हुन् ।

घर चलाउनै आर्थिक सङ्कट परेपछि उनकी पत्नी लक्ष्मी थापा मगर छ महिनाअघि वैदेशिक रोजगारीको सिलसिलामा दुबई गएकी छन् । उनीहरुको छोरी ९ वर्ष र छोरा ७ वर्षका दुई नाबालक सन्तान छन् । सञ्जोगका बुबा राजेन्द्र थापा मगरको दाहिने हात र खुट्टा प्यारालाइसिसका कारण चल्दैन । आमा दिलमाया पनि बिरामी छन् । घरका सबै बिरामी अवस्थामा र कमाउने एकजना विदेशमा भएको हुँदा परिवारका तर्फबाट उपचार खर्च जुटाउन सम्भव छैन ।

सञ्जोगका भिनाजु थमबहादुर तामाङले सञ्जोगको शल्यक्रिया, आइसीयु र औषधि उपचार गरेर विगतमा १२ लाख रुपैयाँको बिल उठेको बताए । चन्दा सङ्कलन गरेर रु चार लाख बुझाएपछि अस्पतालले रु आठ लाख मिनाहा गरिदिएको उनले जानकारी दिइन् ।

अस्पतालबाट डिस्चार्ज भएर आएका सञ्जोग हाल घरमै औषधि खाएर स्वास्थ्यलाभ गरिरहेका छन् । उनको स्वास्थ्यमा सुधार आएको छ । मस्तिष्कघातका कारण पक्षाघातको अवस्थामा पुगेका शरीरका अङ्गहरु पुरानै अवस्थामा चलायमान बनाउन घरमै बाँसका खुट्टी गाडेर हिँड्डुल गराउने घरेलु थेरापी सुविधा मिलाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!