विश्व नेपाली साहित्य सम्मेलनबाट आठ बुँदे घोषणापत्र जारी

SHARE:

लन्डन । आठ बुँदे घोषणापत्र जारी गर्दै दोस्रो विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न भएको छ ।

विश्व नेपाली साहित्य महासंघ, विश्व केन्द्रीय समिति तथा २० मुलुकका २७ शाखाको आयोजना र युकेको सबैभन्दा जेठो संस्था नेपाली साहित्य विकास परिषद्को सहआयोजनामा गत १२ अगस्टका दिन युकेको क्यान्टवरी युनिभर्सिटी हलमा सम्मेलन सम्पन्न भएको हो । युकेका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदी, वरिष्ठ कवि तुलसी दिवस, वरिष्ठ समालोचक प्राडा. गोविन्दराज भट्टराई केन्द्रीय अध्यक्ष विश्वासदीप तिगेलाले संयुक्त रुपमा दीप प्रज्वलन गरी समुद्घाटन गरेका थिए ।
व्यवस्थापन संयोजक तथा केन्द्रीय सचिव केदार सुनुवार संकेतले सम्मेलनमा सहभागी सबैलाई स्वागत गरे । नेपाल सरकारका प्रतिनिधि राजदूत सुवेदीले युकेमा अहिलेसम्म भएका २० राजदूतहरुमध्ये साहित्य कर्म गर्ने आफू दोस्रो राजदूत भएको खुलासा गर्दै सम्मेलनको सफलताको कामना गरे । त्यस्तै अर्का प्रमुख अतिथि कवि दिवसले नेपालभित्र बोलिने सम्पूर्ण भाषाहरुको साहित्य नेपाली साहित्य हो भने ।

विभिन्न ५ शीर्षकमा कार्यपत्रहरु प्रस्तुत गरिएका थिए । जर्मन प्रोफेसर बि सेन्लरले पल्पसा क्याफे उपन्यास र बुद्धत्व सम्बन्धमा एक कार्यपत्र प्रस्तुत गरे । प्राडा. भट्टराईले विश्व साहित्यमा नेपाली साहित्यको स्थान सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै नेपाली साहित्यका कृतिहरु पुगेका लाईब्रेरी संख्याको तथ्याङ पस्के ।

नेपाली गीत लेखनको बारेमा गीतकार भावेश भुमरी, बेल्पाली नेपाली साहित्यकार र युद्ध साहित्यबारे विजय हितान, नेपाली साहित्यको चिन्तन, परिभाषा र लेखनमा सुधारको अपरिहार्यता बारेमा अध्यक्ष तिगेलाले कार्यपत्र प्रस्तुत गरे भने नेपाली साहित्यको विकृति तथा प्रवासी साहित्यकारहरुको बारेमा वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौला र समग्र नेपाली साहित्यको बारेमा प्राडा. नोवलकिशोर राईले बोले ।

त्यस्तैगरी आमन्त्रित अष्ट्रियाबाट सहभागी सेला स्टेनरले साहित्यकार झमक घिमिरेबारे बनेको फिल्मको ट्रेलरसहित जानकारी गराए भने भारतको भाक्सुबाट मित्रसेन प्रतिष्ठानकी संरक्षक वयोवृद्धा प्रतिमा दोधराजको पनि उपथिति रहेको थियो ।
साहित्य महासङ्घले प्रदान गर्ने नेपाली साहित्यको दूत (सगरमाथा) २०१८ कवि दिवसलाई प्रदान गरियो भने नेपाली साहित्य दूत (धौलागिरि) २०१८ श्रीमती लक्ष्मी राई थापा (लारा)लाई ताम्रपत्रसहितको सम्मान प्रदान गरियो । सो अवसरमा प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरुको बाहुलीबाट पालैपालो सात वटा पुस्तकहरु लोकार्पण भयो । जसमध्ये विश्व नेपाली महासङ्घमा आबद्ध स्रष्टाहरुको संकलित रचनाहरुको संगालो संगालो ‘बिनेसाम’ दर्पण मस्को निवासी कृष्णप्रसाद श्रेष्ठद्वारा रसियनबाट नेपालीमा अनुवादित कविताकृति ‘रुसी पल्लव’, प्रा डा. गोविन्दराज भट्टराईको ‘मेरो पहिलो बेलायत यात्रा’, विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय सहसचिव सुनिता राई कन्दङ्वाको ‘एक जुवा घाम’ नामक कविता कृति, बेल्पाली कवि जानु काम्बाङको ‘नउघ्रेको जून’ र अर्का बेल्पाली साहित्यकार केदार संकेतको ‘बुद्धल्यान्ड टु मदरल्याण्ड’को लोकार्पण गरियो ।

कार्यक्रमको बीचबीचमा बासुरी समूहका तर्फबाट सुरेन्द्र इङनाम, सेमन्त राई, भरत लोहरुङ र सांरगी ग्रुपबाट डम्बर सिंबाट मीठा संगीतहरु पस्किएका थिए । कवि लालसुन्दर राई र अमित थेवेले कविता वाचन गरेका थिए । त्यस्तै मलियना, विना र नेहाले नृत्य प्रस्तुत गरेका थिए भने गायक थीर थापाले सुमधुर गीत पस्केका थिए ।

सम्मेलनको अन्तमा सम्मेलन संयोजक तथा सचिव केदार सुनुवार ‘संकेत’ले ८ बुँदे घोषणापत्र जारी गरे । सम्मेलनका सहभागीहरुलाई ब्याकपाइप बजाएर सबैलाई स्वागत र बिदाइ गरिएको थियो भने खानाब्रेक तथा कार्यक्रमको सुरुआत पनि पाइप बजाएरै जनाउ दिइएको थियो । कार्यक्रमलाई विनेसाम साउथ वेस्ट स्वीन्डन शाखाकी महासचिव जानु काम्बाङ र केन्द्रीय सचिव संकेतले सञ्चालन गरेका थिए ।

सम्मेलनको विर्सजनलगत्तै सहआयोजक साहित्य विकास परिषद्द्वारा क्यान्टवरीको चमचम रेस्टुरेन्टमा स्वागत तथा रात्रिभोजको कार्यक्रम सम्पन्न भयो । सम्मेलनको दोस्रो दिन पूर्वयोजना मुताविक साहित्यिक भ्रमणअन्तर्गत १८आंै शताब्दीका चर्चित साहित्यकार डिकिन्सको घर ब्रोडस्टेयर्सको यात्रा भयो भने साँझपंख सम्मेलनको निम्ति नेपालबाट आमन्त्रित तथा सहभागी पाहुनाहरुको निम्ति नेपाली राजदूतावासद्वारा स्वागत रात्रिभोजको आयोजना सम्पन्न भयो । पहिलो सम्मेलन सन् २०१३ अक्टोबर २५ का दिन काठमाडौंमा सम्पन्न गरी ११ बुंदे घोषणापत्र जारी गरेको थियो ।

घोषणा–पत्र
आज मिति १२ अगष्ट २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समिति र विश्वभरका २७ शाखा र सहआयोजक नेपाली साहित्य विकास परिषद युकेको आयोजनामा क्यान्टवरी क्राइसचर्च युनिभर्सिटीको हलमा सम्पन्न दोस्रो विश्व नेपाली साहित्य सम्मेलनले निम्न ८ बुंदा घोषणा गर्दछ ।
१. नेपाल भित्र बोलिने सबै (मातृ) भाषाहरुको साहित्य तथा नेपाली पहिचान भएका र नेपाली परिचयमा गौरव गर्नेले आफ्नो मातृभाषामा लेखेका साहित्यलाई नेपाली साहित्य मान्ने परम्परामा गौरव गर्दछ ।
२. नेपाली (खस जुम्ली) भाषालाई देव नागरिक लिपीमा लेखिएको साहित्य नेपाली पहिचान र प्रतिष्ठा भई सकेकोले यसको श्रीवृद्धिको निम्ति हरप्रकारको कार्य गर्ने प्रतिबद्धता जारी गर्दछ ।
३. नेपाली साहित्यलाई अन्य भाषामा अनुवाद गर्ने कार्यलाई निरन्तरता दिने ।
४. नेपाली बर्ण विन्यास २०६९ र मानक नेपाली भाषा अभियान २०७४ दुवैको योगदानको उच्च सम्मान गर्दै नेपाली लेखनलाई ध्वनी विज्ञान सम्मत लैजान आग्रह गर्दछ ।
५. नेपाल भित्र बोलिने १२५ भाषाहरु मध्ये झण्डै २ दर्जन भाषाका कविताहरुलाई अन्य भाषामा अनुवाद सहित प्रकाशन गर्ने प्रतिबद्धता गर्दछ ।
६. देश बाहिर रहेको नेपाली साहित्यका स्रष्टाहरुलाई उपेक्षा गर्ने प्रचलन प्रति दुःख ब्यक्त गर्दै अब दया र भिख होइन गुणस्तरको आधारमा मूल्याङ्कन गरि सम्मानहोस भनी जोडदार माग गर्दछ ।
७. नेपाली युद्ध साहित्यको सिर्जना यथेष्ठ भईसकेकोले नेपाली साहित्य आकासमा यसको ब्यापक पठनपाठनहोस भन्ने माग गर्दछ ।
८. यस सम्मेलनलाई सम्पन्न गराउन साथ सहयोग गर्नुहुने २० मुलुकका २७ शाखाहरु, सहयोगदाताहरु लगायत साथ सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!