म्याग्दीका दलबहादुर घर्तिमगर दम्पतीद्वारा चौरासी पूजाको खर्च कटाएर विद्यालयलाई सहयोग

SHARE:

म्याग्दी २७ फेब्रुअरी । म्याग्दीको मालिका गाउँपालिका–४ का एक वृद्ध दम्पती र उनका परिवारले चौरासी पूजामा भोजभतेर र दान दक्षिणामा हुने खर्च कटाएर दुईवटा विद्यालयलाई रु आठ लाखभन्दा बढी सहयोग गरेका छन् ।

मालिका गाउँपालिका–४, छाप्सीबाङ घर भई हाल पोखरा निवासी दलबहादुर घर्तिमगर पुन र उहाँकी श्रीमती भानुदेवीले चौरासी वर्ष पुगेको अवसरमा च्युरीबोटको सिद्धार्थ माविमा आइतबार रु छ लाख १० हजार र ओखरबोट माविलाई रु दुई लाख एक सय ५३ सहयोग गरेका हुन् ।

चौरासी वर्ष पुगेका अवसरमा गरिने पूजाआजा, भोजभतेर, दानदक्षिणाका नाममा हुने फजुल खर्च कटाएर आफ्नो जन्मथलोमा रहेको विद्यालयमा सहयोग गरेको दलबहादुरले बताए । “हामीले शिक्षा नपाएर जीवनमा धेरै दुःख भोग्नुपर्‍यो,” उनले भने, “हाम्रा नातिनातिनाले सहज रुपमा गाउँमै शिक्षा हासिल गर्ने वातावरण मिलोस् भनेर चौरासी पूजाको फजुल खर्च कटाएर विद्यालयलाई सहयोग गरिएको हो ।”

उनीहरुले आइतबार सिद्धार्थ मावि र सोमबार ओखरबोट माविमा रकम हस्तान्तरण गरेका हुन् । सो रकम अक्षयकोषमा जम्मा गरिने सिद्धार्थ मावि व्यवस्थापन समितिका अध्यक्ष रेशम पुनमगरले बताउनुभयो । दलबहादुर सोही विद्यालय व्यवस्थापन समितिमा २० वर्षभन्दा बढी समय आबद्ध भएका थिए ।

बेलायती सेनाबाट अवकाश प्राप्त पूर्वगोर्खा सैनिक दलबहादुरकै पहलमा कादुरी र गोर्खा वेलफेयरले विद्यालयमा शौचालय निर्माण गर्नाका साथै च्युरीबोटमा खानेपानी आयोजना भित्रिएको थियो । विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले स्थापित अक्षयकोषमा हालसम्म रु ३० लाख २४ हजार छ सय ४३ रकम जुटेको सिद्धार्थ माविका प्रअ ललितबहादुर घर्तिमगरले बताए ।

दुईवटै विद्यालयले सहयोगदाता दलबहादुरका परिवारलाई सम्मान गरेका छन् । ओखरबोट माविमा दुई सय १६ र सिद्धार्थ माविमा विद्यालयमा एक सय २६ जना विद्यार्थी अध्ययनरत छन् । यसअघि गत पुस १० गते च्युरीबोट घर भई हाल बेलायत बसोबास गर्ने घनमाया पुन र उनका छोराहरुले चौरासी पूजामा हुने खर्च कटाएर विद्यालयलाई रु चार लाख सहयोग गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!