काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनले १८ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै यस क्षेत्रबाट गरिबी घटाउने र लगानी र व्यापारको माध्यमबाट आर्थिक उन्नयनको दिशामा अग्रसर हुने प्रतिबद्धता व्यक्त गरेको छ ।

सङ्गठनको संस्थागत सुधार, सम्पर्क तथा सम्बन्ध विस्तार, व्यापार र लगानी, प्रतिआतङ्कवाद तथा अन्तर्राष्ट्रिय अपराध, अपराध तथा विपद् व्यवस्थपन, जलवायु परिवर्तन, ऊर्जा, प्रविधि, कृषि, मत्स्यपालन र जनस्वास्थ्यका महत्वपूर्ण विषयमा सम्मेलनले निर्णय गरेको छ ।
१८बुँदे काठमाडौँ घोषणापत्र जारी
सम्मेलनले राष्ट्राध्यक्ष÷सरकार प्रमुखले सदस्य देशका नागरिकबीचको प्रत्यक्ष सम्पर्क स्थापना, सांस्कृतिक सहायता प्रवद्र्धन, पर्यटन क्षेत्रको विकास तथा पर्वतीय र समुद्री अर्थतन्त्रको उन्नयनका निम्ति ठोस निर्णय गर्दै जल, स्थल र नभमार्गबाट सदस्य देशबीच सम्बन्ध र सम्पर्क विस्तार जोड दिएको छ । ‘शान्त, समृद्ध र दिगो विकासतर्फ उन्मुख बङ्गालको खाडी क्षेत्र’ नाराका साथ भएको सम्मेलनले सदस्य देशका तटीय क्षेत्रमा पानीजहाज तथा मोटर गाडी सञ्चालनसम्बन्धी सम्झौतालाई चाँडोभन्दा चाँडो टुङ्ग्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
यातायात र सम्पर्क विस्तारसम्बन्धी गुरुयोजनालाई शीघ्र अनुमोदन गर्दै बिम्स्टेक यातायात सम्पर्क विस्तार कार्यदललाई त्यसको कार्यान्वयनका रुपरेखा निर्धारण गर्न निर्देशन दिएको छ । सूचना तथा सञ्चार र प्रविधिसम्बन्धी कार्यदल गठनको निर्णय गर्दै शिखर सम्मेलनले बिम्स्टेक क्षेत्रका सबै नागरिकले कमभन्दा कम महसुल तिरेर द्रुत गतिको इन्टरनेट सेवा प्राप्त गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ । त्यसैगरी व्यापार र लगानीबाटै बिम्स्टेक क्षेत्र समृद्धिको मार्गमा उन्मुख हुने वास्ताविकतालाई मनन गर्दै सम्मेलनले स्वतन्त्र व्यापार क्षेत्रसम्बन्धी सम्झौता चाँडो टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
बिम्स्टेक नेतृत्वले वस्तुको व्यापार र भन्सार सहयोगसम्बन्धी सम्झौताका निम्ति हालसम्म भएका प्रगतिप्रति सन्तोष जनाउँदै बिम्स्टेक व्यापार मञ्च र बिम्स्टेक आर्थिक मञ्चलाई पुनर्जीवन दिनेमा सहमति जनाएको छ । शीर्ष नेतृत्व बिम्स्टेक प्रवेशाज्ञासम्बन्धी विषय निरुपण गर्न विज्ञ समूह खटाउने र त्यससम्बन्धी रुपरेखालाई अन्तिम रुप दिनेमा सहमत भएको छ ।
आपराधिक मामिलामा सदस्य देशबीच आपसी कानूनी सहायता आदानप्रदानसम्बन्धी सम्झौता अनुमोदन, अन्तर्राष्ट्रिय आतङ्कवाद, सीमापार सङ्गठित अपराध र लागुऔषधको अवैध ओसारपसारसम्बन्धी बिम्स्टेक अभिसन्धिलाई अधिकांश सदस्य राष्ट्रले अनुमोदन गरेकामा सन्तोष प्रकट गर्दै शिखर बैठकले कानून कार्यान्वयन गर्ने समूह र सुरक्षा निकायबीच गोप्य सूचना आदानप्रदान, अन्तर्राष्ट्रिय अपराध र प्रतिआतङ्कवादविरुद्ध सुदृढ सहायता हुनुपर्नेमा जोड दिएको छ ।
चौथो शिखर सम्मेलनले प्राकृतिक विपत्तिको सामना तथा त्यसको पूर्वतयारीमा सुधारका निम्ति कार्ययोजना तयार गर्न अन्तरसरकारी विज्ञ समूह गठनको निर्णय गरेको छ ।
जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतालाई पृथक ढङ्गले कार्यान्वयन गर्ने, विश्व तापमान वृद्धि, हिमाली तथा पर्वतीय पर्यावरणमा जलवायु परिवर्तनका कारण परेको नकारात्मक असरप्रति गम्भीर चिन्ता र चासो व्यक्त गर्दै शीर्ष नेतृत्वले हावापानी परिवर्तनका चुनौती सामूहिक रुपमा सामना गर्ने प्रयोजनका निम्ति कार्यायोजना तर्जुमा गर्न अन्तरसरकारी विज्ञ समूह गठन गर्ने निर्णय गरेको छ ।
शिखर सम्मेलनले ऊर्जा सहायताका निम्ति विस्तृत कार्ययोजना तयार गर्न सहमति जनाउँदै जलविद्युत् तथा स्वच्छ ऊर्जाका स्रोतमा सहायता अभिवृद्धि गर्न अन्तरसरकारी विज्ञ समूह गठन गर्ने निर्णय गरेको छ । सम्मेलनका क्रममा ‘बिम्स्टेक ग्रीड इन्टरकनेक्सन’सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएकामा त्यसको स्वागत गर्दै शीर्ष नेतृत्वले बिम्स्टेक क्षेत्रमा ऊर्जा सहयोग बढाउन बिम्स्टेक ऊर्जा केन्द्रलाई शीघ्र सञ्चालन गर्नुपर्ने औँल्याएको छ । सदस्य राष्ट्रबीच लघु, साना तथा मझौला उद्यमसहित प्रविधिका क्षेत्रमा सहयोग बढाउन सहमति प्रकट गर्दै सम्मेलनले श्रीलङ्कामा बिम्स्टेक प्रविधि हस्तान्तरण केन्द्र स्थापनाका लागि सम्झौताको चरणमा पुगेको प्रगतिको स्वागत गरेको छ । बिम्स्टेक क्षेत्रमा प्रविधिको द्रुत विकासका लागि मानव संसाधन विकास र शिक्षामा सङ्गठन अधिक केन्द्रित हुनुपर्नेमा जोड दिइएको छ ।
बालीनाली, पशुपालन, फलफूल खेती, कृषियन्त्र तथा बाली भण्डारण व्यवस्थापनलगायत कृषि क्षेत्रमा सहकार्य र साझेदारी सघन तुल्याउने निर्णय शिखर बैठकले गर्नाका साथै खाद्य तथा पोषण सुरक्षाका निम्ति आधिकारिक निकायलाई निर्देशन दिने तथा परम्परागत खेतीपातीसम्बन्धी ज्ञानको संरक्षणमा सहमित जनाएको छ । खाद्य सुरक्षा सुनिश्चित गर्न मत्स्यपालनमा सहायता बढाउने र भूपरिवेष्टित सदस्यलाई त्यसबाट फाइदा पु¥याउन सम्बन्धित देशका राष्ट्रिय निकायलाई जिम्मेवारी सुम्पिन शिखर बैठकमा ऐक्यबद्धता जुटेको छ ।
असङ्क्रामक रोग तथा एचआइभी एड्स, औलो, डेङ्गी, क्षयरोग, भाइरल इन्फ्युएन्जालगायत अन्तरदेशीय जनस्वास्थ्यका चुनौतीविरुद्ध लड्न शिखर बैठकले सहमति जनाएको छ ।
विभिन्न तहमा सदस्य राष्ट्रका नागरिकबीचको सम्पर्क र सम्बन्ध प्रवद्र्धन, बिम्स्टेक विद्वत् वर्ग नीति सञ्जालको गतिविधिलाई दृष्टिगत गरी उक्त सञ्जालको कार्यविधि टुङ्ग्याउन सम्बन्धित निकायलाई निर्देशन दिँदै सदस्य राष्ट्रका राष्ट्राध्यक्ष÷सरकार प्रमुखले बिम्स्टेक देशका सांसद, विश्वविद्यालय, प्राज्ञ, अनुसन्धान प्रतिष्ठान, सांस्कृतिक सङ्गठन, सञ्चार समुदायसँग सम्बन्ध विस्तार गर्ने उपुयक्त मञ्च गठनमा सहमति जनाएको छ ।
बौद्धधर्मलाई बिम्स्टेक क्षेत्र जोड्ने महत्वपूर्ण सूत्रका रुपमा स्वीकार्दै बैठकले ‘बौद्ध परिपथ’ निर्माणको प्रतिबद्धता गर्नाका साथै नियमित रुपमा बिम्स्टेक देशका संस्कृति मन्त्रीको बैठक र बिम्स्टेक सांस्कृतिक मेला आयोजना गर्न सहमति प्रकट गरेको छ । बिम्स्टेक मुलुकभित्र पर्यटन प्रवद्र्धनका निम्ति ठोस पाइला चाल्न तथा त्यसनिम्ति सम्बद्ध निकायलाई पर्यटन रणनीति तर्जुमा गर्न पर्यटकको सुरक्षा सुनिश्चित गर्न तथा सहज यातायात सम्पर्कमा जोड दिइएको छ । बौद्ध पर्यटन परिपथ, मन्दिर पर्यटन परिपथ, प्राचीन शहर परिभ्रमण मार्ग, पर्यापर्यटन र स्वास्थ्योपचार पर्यटनप्रति प्रतिबद्धता व्यक्त गर्दै शीर्ष नेतृत्वले सन् २०२० मा नेपालमा आयोजना हुने बिम्स्टेक पर्यटन सम्मेलनको स्वागत गरेको छ ।
चौथो शिखर सम्मेलनले बिम्स्टेकको सचिवालय, बिम्स्टेक केन्द्र र अन्य निकायसम्बन्धी प्रशासनिक एवं वित्तीय विषयलाई निरुपण गर्न बिम्स्टेक स्थायी कार्यसमिति गठन गर्ने निर्णय गरेको छ । त्यसैगरी सङ्गठनको बडापत्रको मस्यौदा तयारी, सङ्गठनको सहयोगका प्राथमिकताका क्षेत्र र दीर्घकालीन दृष्टिकोण प्रस्तुतिको निर्णय गरेको छ । स्थायी कार्यसमितिलाई बडापत्रको मस्यौदा पाँचौँ शिखर सम्मेलनमा प्रस्तुत गर्ने अख्तियारी दिइएको छ जसलाई सोही सम्मेलनले अनुमोदन गर्नेछ ।
दर्शाइयो बुद्धभूमि र बौद्ध दर्शनको महत्व
सम्मेलनमा बुद्ध जन्मभूमिको विशेष महत्व उजागर गरिएको छ । सम्मेलनको उद्घाटन सत्रमा अध्यक्षीय मन्तव्य दिँदै आयोजक राष्ट्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागी सदस्य मुलुकका राष्ट्र तथा सरकार प्रमुखलाई स्वागत गर्ने क्रममा ‘बुद्धको देशमा स्वागत गर्दछु’ भनी उल्लेख गरेको थियो ।
आफ्नो सम्बोधनका क्रममा नेपालको छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२० मा बिम्स्टेकको सदस्य राष्ट्रका बीचमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको आयोजना गर्ने जानकारी दिएर बुद्धत्वको महत्वबारे जोड दिएको थियो । उनले भारतको नलान्दा विश्वविद्यालयलाई बिम्स्टेक राष्ट्रका भाषा संस्कृति अध्ययन केन्द्रका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरी यस क्षेत्रमा बौद्ध दर्शनको प्राज्ञिक उन्नयनका लागि प्राथमिकता दिए । उक्त विश्वविद्यालय बौद्ध साहित्य र दर्शनका लागि अध्ययन हुने प्राचीन संस्था मानिन्छ ।
सम्मेलनका लागि नेपाल आउनुभएका म्यान्माका राष्ट्रपति विन मिन्त बुद्धको जन्मस्थल लुम्बिनी पुगेर दर्शन तथा पूजा गर्नुभएको थियो । यसले लुम्बिनी र बौद्ध दर्शनको महत्वका साथै नेपालको धार्मिक र पर्यटकीय महत्वमा अभिवृद्धि भएको पाइएको छ ।
बिम्स्टेकका सदस्य राष्ट्रमध्ये म्यान्मामा ८८, श्रीलङ्का ७५ र थाइल्याण्डमा ९० प्रतिशत९करीब० बौद्ध धर्मावलम्बी छन् ।
म्यान्माका विदेशमन्त्री आङ साङ सुकीकी बौद्ध गुरुआमा काठमाडौँको नघलस्थित श्रीघ विहारका प्रमुख धम्मावती गुरुआमा हुनुहुन्छ, जसलाई सुकीले सन् २०१४ मा नेपाल भ्रमणका बेला भेट गरेको थियो । सोही समयमा उनले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेको थियो ।
सम्मेलनकै अवसरमा श्रीलङ्काली राष्ट्रपति मैत्रीपाल सिरिसेना लुम्बिनीमा यही भदौ १६ गते जानेछ । त्यस्तै उन काठमाडौँको चाबहिलस्थित करीब दुई हजार ३०० वर्ष पुरानो बौद्ध चैत्य अर्थात् ‘धन्दो चैत्य’ दर्शनका लागि भदौ १७ गते जाने भएपछि त्यहाँ सरसफाइ र तयारी गरिएको छ ।
चारुमती बुद्धिष्ट मिशन नेपालका अध्यक्ष भिक्षु तपस्सी धम्मका अनुसार श्रीलङ्काका राष्ट्रपति सिरिसेनालाई सम्मानसहित चैत्यको प्रतिमा उपहार प्रदान गर्ने कार्यक्रम तय भएको छ । सम्राट् अशोकले आफ्ना छोरा महेन्द्रलाई श्रीलङ्का र छोरी चारुमतीलाई बौद्धधर्मको प्रचारका लागि धर्मदूतका रुपमा नेपाल पठाएको इतिहास पाइन्छ । राष्ट्रपति सिरिसेनालाई स्वयम्भूस्थित आनन्दकुटी विहारमा श्रीलङ्का सरकारको सहयोगमा पुनःनिर्माण गर्न लागिएको विहारको निरीक्षण तथा पूजाका लागि भ्रमण तयारी गरिएको विहारले जनाएको छ ।
सम्मेलनका लागि सरकारले तयार गरेको केही भनाइमध्ये ‘बुद्धजन्मभूमि नेपालमा हार्दिक स्वागत छ’ भन्ने पनि छ । यस्तै ‘सगरमाथाको देश नेपालमा स्वागत छ’ भन्ने भनाइ पनि सम्मेलनका लागि तय भएको छ । यसरी नेपालले सम्मेलनको नारामा नै धार्मिक–भौगोलिक पर्यटन प्रवद्र्धन गर्ने ध्येय राखेको छ ।
‘साझा प्रयासबाट समृद्धि सम्भव’
प्रधानमन्त्री केपी शर्मा ओलीले सदस्य राष्ट्रको साझा प्रयास र सहकार्यबाट बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० क्षेत्रमा समृद्धि सम्भव हुने बताएको छ ।
यहाँ जारी बिम्स्टेकको चौथो शिखर सम्मेलन समापन गर्दै उनले नेपालले सङ्गठनको अध्यक्षता गरेका बेला सदस्य राष्ट्रका राष्ट्राध्यक्ष÷सरकार प्रमुखबाट निरन्तर प्राप्त सहयोगप्रति आभार प्रकट गरे । प्रधानमन्त्रीले सम्मेलनबाट पारित १८ बुँदे घोषणापत्रको प्रभावकारी कार्यान्वयनमा सबैबाट सक्रिय सहयोग, साथ र समर्थन प्राप्त हुने विश्वास व्यक्त गरे ।
सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण निर्वाह गरेका बिम्स्टेकका महासचिव, सदस्य देशका सम्बद्ध निकायका पदाधिकारी, नेपालका सुरक्षाकर्मी, सञ्चारकर्मी, विद्वत्वर्गलगायत सबैमा उनले कृतज्ञता व्यक्त गरे । नेपालले सार्क र बिम्स्टेकजस्ता क्षेत्रीय सङ्गठनका शिखर सम्मेलन सफलतापूर्वक आयोजना गरेर अन्तर्राष्ट्रिय समुदायमा कूटनीतिक क्षमता प्रदर्शन गरेको छ । सम्मेलनबाट पारित घोषणापत्र केही बेरपछि सार्वजनिक हुनेछ ।






