मनोक्रान्तिका अनन्तराम आखिर बनेरै छाडे विश्वविजेता
नुवाकोट शिवपुरी गाउँपालिका १ का ४९ वर्षीय अनन्तराम केसी ९० घण्टा २ मिनेट निरन्तर वक्तव्य दिएर विश्व किर्तीमान कायम गर्न सफल भए । यही भदौ ११ देखि १४ गतेसम्म ‘लङ्गेस्ट स्पीच म्याराथन’ मार्फत भारतका केपी भाल साराजानको ८१ घण्टा १६ मिनेटको रेकर्ड तोडेका हुन् । उनलाई गिनिज वर्ल्ड रेकर्डका प्रतिनिधि सोप्निल डांगारिकारले प्रमाणपत्र दिए । बाल्यकालदेखि नै प्रखरवक्ता बन्ने सपना बोकेका केसी मूलत: मनोक्रान्ति अभियन्ता हुन् । डा.योगी विकाशानन्दलगायत अध्यात्म गुरुहरुका शिक्षा, प्रेरणा र आफ्नै क्षमताबाट उनी विश्वविजेता बने । नेपालका ७७ जिल्ला र काठमाडौंदेखि भारतको कन्याकुमारीसम्म साढे १२ हजार किलोमिटर पैदलयात्रा गरेका केसीले गतवर्ष ८० घण्टा लगातार वक्तव्य दिएर पनि गिनिज बुकमा नाम लेखाउन सकेका थिएनन् । तर, त्यही चोट, अनुभव र शिक्षाबाट उनी अहिले खरो रुपमा उत्रिएर सफल भएको बताउँछन् । परिवारका तीन दाजुभाइ, दुइ दिदीबहिनीमध्येका कान्छा अनन्तराम पूर्वप्राधानाध्यापक पनि हुन् । उनी नुवाकोटको तलाखुस्थित भूमेदेवी उच्च माविमा (२०५२–६०) सम्म प्रिन्सिपल थिए ।
करिब दुई दशकअघि बुबाले प्राण त्याग्नुअघि अध्यात्ममा लाग्न दिएको सल्लाहले उनी ५६ वैशाख २ बाट जागिरै छाडेर ध्यान, साधना, तपस्यामा लागेका हुन् । मेमोरी मास्टर, योगा प्रशिक्षकसमेत रहेका अनन्तराम केसीसँग विश्व रेडर्कलगायत सन्दर्भमा गरिएको कुराकानी ।
विश्व किर्तीमान कायम गरेपछि कस्तो महसुस गरिरहनुभएको छ ?
मान्छेले जन्मेपछि केही न केही भूमिका निर्वाह गर्नुपर्छ । हरेक मान्छे जन्मनुको अर्थ हुन्छ । मलाई पनि जन्मनुको अर्थ के होला, कसो होला जस्तो लाग्थ्यो । जब मैले बोलेरै गिनिज बुकमा नाम लेखाएँ, तब जन्मनुको सार्थकता प्राप्त गरेको अनुभव गरिरहेको छु । विश्व किर्तीमान राख्न पनि म जन्मेको रहेछु भन्ने लागिरहेको छ । मैले केही न केही गर्न सकेँ, त्यसले खुसी, उत्साहित छु ।
वक्तत्वकलामार्फत धेरै मान्छेमाझ चिन्ने मेरो सानैदेखिको सपना हो । मैले सपनालाई शिखरमा पुर्याउन सकेँ, जीवनलाई सार्थक बनाउन सकेँकोमा एकदमै हर्षित छु ।
लामो समयसम्म बोलेर किर्तीमानी कायम गर्ने शृंखला कहिलेदेखि सुरु भएको हो ?
फिडेल क्यास्त्रो राष्ट्रपति हुँदा उनको राष्ट्रिय सेनालाई २७ घण्टा ३२ मिनेट स्पीच दिएर सुरु भएको हो, यो यात्रा । त्यसपछि २९, ३१, ३२, ३३, ३६, ३९ ४१, ४३, ४६ घण्टा हुँदै पछि एकैचोटि ५२ घण्टाको रेकर्ड भेटिन्छ । त्यस्तै, ५३, ५६, ६१ घण्टा पछि ७५ घण्टा ३२ मिनेट छ । ७५ घण्टा ३२ मिनेटलाई मैले गतवर्ष तोड्न खोजेको थिएँ, भेरिफिकेसन भएन । त्यसपछि ७७ घण्टा, भारतीय नागरिक केपी भाल साराजानले गरेको ८१ घण्टा मिनेटको रेकर्ड मैले ९० घण्टा २ मिनेट बोलेर तोडेँ ।
यत्तिका चुनौतीपूर्ण काम गर्न कत्तिको गाह्रो भयो ?
यो सहज त हुँदैहोइन । अहिले सम्झिँदा कसरी गरेँ होला जस्तो पनि लाग्छ । चाररातको निद्रा, लगातार बोलेकोबोल्यै । एक घण्टामा थोरै समय ब्रेक पाइन्थ्यो । त्यसमा विषयवस्तु सम्झनेजस्ता हरेक चिज गर्नुपर्ने । सजिलो नभए पनि आँटेपछि पूरा हुँदोरहेछ ।
निद्राबाहेक अरु के के त्याग्नुभयो ?
मूल कुरा निद्रै हो । अनि घाँटी ठीक हुनुपथ्र्यो । कुनै बेला कफलगायतले स्वर रोकिन–रोकिन खोज्थ्यो । त्यतिखेर हर्बल, तातोपानीलगायत चिज खाएर स्वर निस्कालिन्थ्यो । मेमोरी चाहियो किनकि बोल्नुपर्ने विषय सम्झनुपर्यो । ‘आउट अफ सेन्स’ भयो भने त्यो अर्थ हुँदैन । त्यहाँ यस्ता जटिल कुराहरु जित्नुपर्छ ।
तीनघण्टा बेतोडसँग कुद्नुबराबर एक घण्टा बोल्नुलाई शक्ति चाहिँदोरहेछ । किनभने बोलेपछि स्वास जान्छ । स्वास गएपछि अक्सिजन कम हुन्छ । अक्सिजन कम भएपछि विभिन्न समस्या आउँछ । बोल्दाखेरी बेला बेलामा पज (रोकिँदा) स्वास तानेर अक्सिजन पुर्याउनुपर्छ । खाना मिल्दैन । ट्वाइलेट एकदमै लागिरहेको हुन्छ । नियममा एक घण्टा नपुगी ब्रेक पाइनथ्यो । घण्टाको ५ मिनेट ब्रेक । ९० घण्टा केही पनि नगर्ने भन्नेचाहिँ होइन । पूरा समयमा ६ घण्टा ४५ मिनेट रेस्ट ब्रेक र ८३ घण्टा १२÷१३ मिनेट गरी ९० घण्टा दुई मिनेट रेकर्डमा पुगेको थियो ।
बोल्ने विषयवस्तुको पनि मापदण्ड हुँदोरहेछ ?
विषयवस्तुका शीर्षकचाहिँ आफूले तोक्न सकिन्छ । र, पनि त्यो स्पिच सीमित टाइमको बनाउनुपर्छ । पाँच मिनेटभन्दा कमको स्पिचलाई मान्यता दिइँदैन । त्यसका लागि टाइमफेमअनुसार रुटिन बनाउनुपर्छ । जे पायो त्यही बोल्ने होइन । मैले मेजर १२ सेक्टरबारे बोलेको थिएँ । म मेमोरी मास्टर पनि भएकोले ‘मेमोरी पावर’ १० घण्टा बोलेँ । ‘राइट एक्सन’ शीर्षकमा हामीले जीवनमा के के सही कर्म गर्नुपर्छ । जस्तो मिडियाकर्मीले सही काम के के गर्नुपर्छ, राजनीतिकर्मीले के के गर्नुपर्छ भन्ने विषय समेटेर १० घण्टा बोलेँ । त्यस्तै जीवनलाई कसरी सुगम, सजिलो बनाउने भनेर ‘जीवनदर्शन’ मा १२ घण्टा बोलेको थिएँ । योगदर्शनको बारेमा ६ घण्टा, ‘सक्सेस साइन्स’को बारेमा ८ घण्टा, महाभारतको कथाबारेमा ६ घण्टा, राम–कृष्णकथाको बारेमा ६ घण्टा र १४ घण्टा मेरो बायोग्राफी जन्मेदेखि अहिलेसम्म के के गरेँ, अन्तिममा एक घण्टाको निष्कर्ष र १३ मिनेट धन्यवाद दिने र समापन गर्ने कार्यक्रम गरेर ८३ घण्टा १३ मिनेटको स्पिच थियो मेरो ।
बोल्दा के के सामाग्री प्रयोग गर्न पाइन्थ्यो ?
नोट (खेस्रा) प्रयोग गर्न पाइन्छ । अरु स्क्रिप्ट पढ्न पाइँदैन ।
विश्वविजेता बन्न बोल्ने प्राक्टिस कति समय गर्नुभयो ?
म विगत एक वर्षभन्दा बढी समयदेखि यो क्षेत्रमा सामेल छु । ८० घण्टालाई त्यसअघि केही तयारी गरेको थिएँ । ८० घण्टाको गर्दा मलाई डाउट भयो । त्यतिबेला हतारमा गर्यौं, अनुभव थिएन । गिनिजको यत्ति गाइडेन्स रुलहरुमा हल्कातालले गर्यौं भने असफल हुन्छ । यो रुल चानचुने छैन । ‘इन्डुरेन्स म्याराथुन’ हो यो । धेरै रुल्स फलो गर्नुपर्ने भएकोले गतवर्ष भेरिफिकेसन्स हुँदैन कि भन्ने पहिले डाउट थियो । त्यतिबेला मात्र ६ महिनाको तयारी थियो । त्यही समय र अहिलेको गरी लगभग मेरो डेढ वर्षको तयारी हो । दोहोर्याएर नगरेको भए सम्भवै थिएन । पोहोरको प्राक्टिकलले बेस बन्यो, त्यसैमा टेकेर गर्दा अहिले सफल भएँ ।
सबै कुरा त्यागेर टपिक्स बनाउनुपर्यो, गाइडेन्स रुल्स बनाउनुपर्यो, टिम बनाउनुपर्यो । यो इन्डिभिजुअल इभेन्ट पनि हो । कुनै संघसंस्था थिएन हामीसँग । हामीले आफ्नै संस्था दर्ता गर्यौं । पोहोर लाइन्स क्लबले गर्यो । अरुले गर्दा उनीहरुमा स्वार्थ हुँदोरहेछ । त्यसले गाह्रो बनायो । साधनदेखि आफ्नो छुट्टै रुल्स हुन्छ । उनीहरुले एकथरी गरिदिन्छ, त्यो म्याच भएन । त्यसो भएर हामीले एउटा संस्था दर्ता गरेर, समिति, उपसमिति बनाएर गरेको तयारी, २०–२५ लाख पैसा जम्मा गर्ने च्यालेन्ज । १३ लाख जति गिनिज प्रतिनिधिलाई ल्याउन खर्च लाग्यो । र, इभेन्ट पूरा गर्नलाई अर्को १०÷१२ लाख खर्च लाग्यो ।
विशेषगरी म बिहान ४ बजे उठ्ने र ८,९ बजेसम्म मौन रहने । त्यस समयमा टपिक्स याद गर्ने, हरेक ५ मिनेटमा के बोल्छु भनेर नोटस् बनाएको थिएँ । किताब, इन्टरनेटबाट नोट तयार पार्न रिफरेन्स लिन्थेँ । स्पिच भयो कि भएन भनेर आफैं प्राक्टिकल गर्थेँ । अभ्यासका क्रममा सार्वजनिक कार्यक्रमहरुमा गएर ४०, ५० मिनेट बोल्थेँ । एकदम दामी भन्थे ।
कतै तालीम त लिनु भएन ?
होइन । किनकि म पहिलेदेखि नै पब्लिक स्पिकर हुँ । पहिले पनि हामीले १३ घण्टा बोलेको, ३६ घण्टा बोलेको, ६३ घण्टा बोलिसकेको, ८० घण्टाको गतवर्षको प्राक्टिसका कारण यसलाई तालीम लिनु परेन । मात्र बिर्सिएला, ट्र्याक आउट होला, निद्राले ढाल्ला, स्वर बस्ला, इनर्जीले काम नदेला भन्ने कुराहरुचाहिँ च्यालेन्जिङ हो । त्यो पनि आँटेपछि पुग्दोरहेछ । तयारी पनि ठूलो कुरा हो । अध्यात्मिकता बिना सम्भव छैन ।
अमेरिका र युकेका दुईजना पास्चरबाहेक सबै भारतीय गुरुहरुले बोलेका छन् लामो समयसम्म । फिडेल क्यास्त्रोले बोलेका थिए, उनी क्रान्तिबाट आएका हुन् । स्पिरिच्युअल कनेक्सनबिना त स्पटडेथ हुने प्रबल सम्भावना हुन्छ । ४८ घण्टा सुत्न नपाउँदा मान्छे ठाउँका ठाउँ मृत्युवरण गर्न सक्छ । तर, त्यहाँ बोल्न पनि पर्छ । भोजनमा अलि गडबढ गरिदियो भने सिद्धिन्छ ।
सपोर्ट ग्रुप को को हुनुहुन्थ्यो ?
हाम्रो ठूलो टिम थियो । जोरपाटीको इस्टपोल स्कुलमा गरेका हौं हामीले । त्यहाँको हलमा नातागोता, इष्टमित्र, साथीभाइ, स्थानीय, स्कुल परिवारसहित ठूलो जमात थियो । केही लाइन्स क्लब, स्थानीय नगरपालिकाका टिमलगायत १४, १५ वटा टिम थियो । भारतीय संस्कार टिम, हाम्रो गुरुहरुको रेकी इनर्जी दिने । जसमा पाँचवटा जति अदृश्य इनर्जी पठाउने टिम थियो, शुभकामना दिने, मनोभावना गर्ने, ठाउँठाउँमा गएर पूजापाठ लगाउने, ध्यान–साधना गरेर इनर्जी पठाएने अनगिन्ती थिए ।
अत्यन्त जोखिमको काम गर्नुभयो, यसले विश्वमा कस्तो सन्देश जाला र उपलब्धि के हो ?
दुई/तीनवटा सन्देश छन् यसमा । मूल सन्देश, हामीले चाह्यौं भने जे पनि गर्न सक्छौं । अर्को बाल्यकालदेखि नै बोलेर पहिचान बनाउँछु भन्ने सपना पूरा भएको छ । यसले भोलि समाजमा काम गर्छ । मैले राम्रो बोलेर धेरै मान्छेलाई सम्झाउन सक्छु । मैले यसरी बोलेँ, मेरा ज्ञानगुन तपाईंहरुलाई बाँड्छु भन्दा अब पत्याउने भए । यसले भोलि मैले समाजमा गर्ने कामका लागि राम्रो बाटो बन्यो । यो विश्व रेकर्ड रेकर्डका लागि मात्रै भएन । मैले मान्छेलाई राम्रो बनाउने असल कुराहरु अब बाँड्न पाउने भएँ । त्यो हिसाबले फरक छ । किर्तीमानका लागि किर्तीमान होइन, अब मैले समाजमा सन्देश दिन सक्छु भन्ने हो । मेरो उद्देश्य पनि त्यही थियो ।
पहिले जानेको कुरा दिन खोज्दा पत्याउँदैनथ्यो, मेरो व्यागग्राउण्ड के त ? पब्लिकलाई थाहा थिएन । अब यो लामो बोलेर गिनिज बुकमा नाम लेखाएको भन्नासाथ त पत्याउन आउँछ । मेरो कुरा पत्याउन आएको बेला किर्तीमान बेच्ने होइन, सिकेको ज्ञान दिने हो । त्यसका लागि पनि काम गर्ने हो । त्यसकारण यो रेकर्ड अरुको भन्दा फरक पनि छ ।
आगामी योजना के के छन् ?
अहिले रेस्टमा छु । हाम्रो कार्यक्रमको समापन पनि गरिसकेका छैनौं । मध्यरातमा रेकर्ड पूरा भयो । हामीलाई जहाँ जहाँबाट सपोर्ट आयो, माया आयो । उहाँहरुलाई हामीले सम्मान गर्नुपर्यो नि ! चाहे मिडियाको क्षेत्र, चाहे उर्जादिने क्षेत्र होस् । चाहे आशीर्वाद दिने क्षेत्र, चाहे पैसा दिने क्षेत्र । उहाँहरुलाई सम्झनाको लागि समापनको कार्यक्रमको तयारी छ । अनि पछि काम गर्नुपर्छ । अनुभव बाँड्नुपर्छ सर्वसाधरणलाई ।
विदेश भ्रमणको लागि पनि साथीहरुमार्फत कुरा आउन थालेको छ– दुबई, अस्टे«लियातिरबाट । मैले चासो दिन भ्याएको छैन । नेपालमा पनि डिमान्ड होला । आफूले सिकेकोबाट सिकाउने हो ।
यहाँको वाक कलालाई राजनीतितिर ढाल्ने योजना पनि छ कि ?
गुरुकुलमा हुँदा एक किसिमले हाम्रो त्यस्तो मिसन थियो । स्वभावअनुसार पावर राजनीतिमा जानुपर्छ भन्ने गुरु र हाम्रो सोच थियो । हामीले गरेका कार्यक्रममा राजनीतिक मान्छे पनि जोडिए । जस्तो, कांग्रेसका रामशरण महत, अर्जुननरसिंह केसी, नवीन्द्रराज जोशी, नेकपाका नारायण खतिवडा, हितबहादुर तामाङ, राधिका तामाङलगायत । यो कार्यक्रम बढी राजनीति संलग्न भयो ।
मेरो मूल उद्देश्य अध्यात्म नै हो । यत्ति लामो स्पीच गर्दा राजनीतिक मान्छेहरु नै दंग छन् । राजनेताले गर्नुपर्ने कर्म यसले गरिरहेको छ । तर, त्यो थिङकिङ र सांसरिकले गर्न सक्दैन । इनर्जी हुँदैन उनीहरुसँग । भोलि राजनीति नै गरेछौं, गर्न पुगेछौं भने अध्यात्ममुखी राजनीति गर्ने सोंच छ ।
अब गुरु विकाशानन्दसँग पनि भेट हुन्छ । मैले गर्न सकेँ । उहाँ यस मामलामा एकदमै खुसी हुनुपर्छ । अब अध्यात्ममुखी राजनीति गर्नुपर्छ, हामीले पहिले मनोक्रान्तिमुखी राजनीति भनेका थियौं । हामी मनोक्रान्तिबाट जन्मेका हौं । अबको संसारलाई अध्यात्मले लीड गरेको राजनीति चाहिन्छ । अबको युग पनि अध्यात्मको आउँदैछ ।
प्रस्तुति : टीकाराम तामाङ






