‘बीबीसी मास्टर सेफ’सन्तोष साह काठमाडौँमा मिथिला थाली चखाउँदै

SHARE:

काठमाडौँ १२ मे २०२४ । बेलायतबाट काठमाडौँ ओर्लिएका राजु सिंह काम विशेषले जन्मघर जनकपुर जान पाएनन् । लामो समय लण्डनको बसाइपछि घर गएर खानाको परिकार खाँदै पारिवारिक भेटघाट गर्ने सिंहको चाहना थियो । सोचेजस्तो पारिवारिक भेटघाट गर्न नपाएपछि जनकपुरकै मिथिला परिकार खाने अवसर भने काठमाडौँमै जुर्‍यो । ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहले ललितपुरको झम्सिखेलमा सञ्चालन गरेको ‘मिथिला थाली बाई सेफ सन्तोष साह’ नामक रेष्टुरेण्ट सिंह जस्ता धेरै मिथिला स्वादका पारखीका लागि उपयुक्त गन्तव्य बनेको छ । झमेलको उपनामले परिचित पर्यटकीय क्षेत्र झम्सिखेलमा मिथिला थाली सञ्चालन भएसँगै उपभोक्ताको भीड लाग्ने गरेको छ ।

बीबीसीको मास्टर सेफ जितेपछि विश्वभर चर्चा कमाएका सेफ सन्तोषले नेपालमै उत्कृष्ट खानाका परिकारको स्वाद पस्केर नेपालमै जम्ने निधो लिएर मिथिला थाली सुरु गरेका हुन् । झण्डै २० वर्ष विभिन्न तारे होटलमा प्रमुख सेफका रुपमा काम गरिसकेका उनले काठमाडौँलाई मिथिला थालीको स्वाद पस्किएका छन् ।

मिथिला परिकार र संस्कृतिलाई प्रवर्द्धन गर्न मास्टर सेफ सन्तोषले करिब रु एक करोड लगानीमा ललितपुरको झम्सिखेलमा नयाँ रेस्टुरेण्ट ‘मिथिला थाली’सञ्चालनमा ल्याएका छन् । सेफ साहले आफ्ना दाइ दिलीप र सेफ लक्ष्मणसँगको सहकार्यमा उक्त रेष्टुरेण्ट सुरु गरेका हुन् ।

गतवर्ष जेठ ६ गते जनकपुरबाट सुरू भएको मिथिला थालीको शाखा उपत्यकामा एक वर्षपछि सुरू गरिएको सेफ सन्तोषले बताए । उनले भने, “मिथिला खाना तथा कला संस्कृतिको प्रवर्द्धनका लागि मिथिला थाली सञ्चालनमा ल्याइएको हो ।” आफूले बाल्यकालदेखि मिथिला संस्कृति र खानपानमा रमाएको सम्झिँदै अहिले यसको प्रवर्द्धनका लागि काम गरेको सन्तोषले सुनाए ।

नेपालकै प्रसिद्ध परम्परागत रैथाने खाना मिथिला थाली खाना उपत्यकाभित्रै खान पाइने भएपछि उपभोक्ताको जनकपुर जाने चाहना काठमाडौँमै पुरा हुने भएको छ । “मिथिला थाली खान जनकपुर जाने सोच बनाएको थिएँ । काठमाडौँमै खुलेपछि यहाँ आएर खाइयो”, पुतलीसडकका सञ्जय निरौलाले भने, “थकाली खाना खाइरहेकोमा मिथिला परिकार भिन्न र स्वादिष्ट छ, अर्गानिक पनि छ । मिथिला स्वादको आनन्द लिइरहेका छौँ ।”

काठमाडौँको माछापोखरीकी समीक्षा पराजुलीलाई पनि मिथिला थालीको स्वाद मनपरेको बताए । “खाना एक दम राम्रो छ । हस्पिटालीटी असाध्यै मनप-यो । सेफ सन्तोषले खोलेको थाहा पाएर आएर यहाँ आएको हुँ”, उनले भने ।

‘कोलोनी क्वीङ्स’ सुकेधाराबाट १७ जनाको समूह पनि मिथिला थालीको स्वाद लिन झम्सिखेल पुगेका थिए । मास्टर सेफ सन्तोषको बारेमा सुनेको हुनाले रेष्टुरेण्टमा परिकारको स्वाद लिन आएको उक्त समूहको प्रतिक्रिया थियो ।

जनकपुरमा आवासीय सुविधासहित रु तीन करोड लगानीमा मिथिला थाली सञ्चालनमा छ । त्यही मिथिला थालीको शाखा ललितपुरको झम्सीखेलमा सुरु गरिएको हो । बिहान १० बजेदेखि राति १० बजेसम्म मिथिला थालीमा रमाउन सकिन्छ । केही समयमै ब्रेकफास्ट मेनुसहित बिहानैदखि रेष्टुराँ सञ्चालनमा ल्याइने सेफ सन्तोषको योजना छ ।

सेफ साहले डेली डाइट शीर्षकको थालीमा तीन वटा ननभेज करी, जनकपुरको लस्सी र रसमलाइ लगायतका परिकार राखेका छन् । साथै मिथिला थाली रु पाँच सय ५० अन्तर्गत चोखा, भात, घ्यू, रोटी, तरुवा, तिलौरी, सलादको संयोजन गर्नुभएको छ । उहाँका अनुसार झम्सिखेलको यो रेष्टुराँमा जनकपुरको तावा माछा पनि पाइन्छ ।

रेष्टुराँलाई विभिन्न प्रकारका मिथिला आर्टले सजाइएको छ । “हामीले मिथिला कलाकारका कलाकृतिलाई यहाँ राखेका छौँ, ग्राहकहरुले यी कला खरिद गरेर उहाँहरुलाई आर्थिक रुपमा सहयोग गर्न सक्नुहुनेछ”, सेफ सन्तोषले भने । यति मात्रै नभएर मिथिला थालीमा ग्राहकले खर्च गर्ने एकदेखि तीन रुपैयाँसम्म गरिब, अनाथ, असहाय, एकल महिला र छोरीहरुका लागि खर्च गरिने उनले जानकारी दिए । यसअघि पनि साहले विभिन्न सामाजिक काममा आर्थिक सहयोग गर्दै आएका छन् ।

जनकपुरमा मिथिला थालीको प्रति थाली रु तीन सय पर्ने गरेको छ । जसमा १८ परिकारको मज्जा लिन सकिने सेफ दिलीप साह बताउँछन् । उनले झम्सिखेलमा पनि धेरै भन्दा धेरै मिथिला परिकार खुवाउने बताए । उनले मिथिला थालीमा मिथिला र तराईको मेनु सेटअप गरिएकाले धेरैले रुचाउने विश्वास व्यक्त गरे । उनी भन्छन्, “केही समयपछि हामीले केराका परिकार समेत राख्नेछौं । क्रियटिभ तरिकाले सेटअप गरिने थालीलाई ग्राहकले मन पराउनुहुन्छ ।”

आफूलाई भान्से भनेर चिनाउने सेफ लक्ष्मणले नेपाली खानाको ब्राण्डिङ गर्न पछाडि परिरहेको अवस्थामा मिथिला खानाको प्रवर्द्धनले विदेशीलाई समेत यसप्रति आकर्षित गर्ने विश्वास व्यक्त गरे । अब मिथिला खाना पनि नेपाली खाना नै हो भन्ने बनाउनुपर्नेमा उनको जोड छ । “यहाँको आलुको रोटी, कडी करी लगायतलाई विश्व बजारमा लैजान सकिन्छ । भ्यालु क्रिएट गर्न सकिन्छ”, सेफ लक्ष्मणले भने ।

मिथिला थालीलाई मुलुकभित्र र बाहिर विस्तार गर्ने उनीहरूको योजना छ । केही समयमै काठमाडौँको गौशाला, विराटनगर र वीरगञ्जमा मिथिला थाली विस्तार हुनेछ । त्यसपछि भारतको अयोध्या र कतारको राजधानी दोहामा समेत मिथिला थाली विस्तार गर्ने योजना रहेको सेफ दिलीपले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!