लन्डन १३ मे २०२४ । बेलायतमा थाउजन्डस् बुद्ध युकेसहित चार संस्थाले २३ मेमा बुद्ध जयन्ती पूजा आयोजना गर्ने भएको छ ।
महागुरू हिज इमिनेन्स खेन साङ्गे राङजुङ रिम्पोछेको उपस्थितिमा पाकिस्तानी हल रेडिङमा पूजा आयोजना हुने थाउजन्डस् बुद्ध युकेका अध्यक्ष मेजर समुन्द्र गुरूङले जानकारी दिए । उनका अनुसार पूजा बिहान १० बजेदेखि सुरु हुने छ ।
आयोजक संस्थाहरुमा तामाङ घेदुङ युके, शेर्पा एसोसिएसन युके (साउथ सेन्ट्रल) र शाक्यलिङ बुद्धिष्ट युके रहेका छन् । पूजा कार्यक्रममा सपरिवार सहभागी हुन आयोजक संस्थाहरुले आग्रह गरेका छन् ।
‘यसपाली बुद्ध जयन्तीको दिन एकदमै शुभदिन छ । यस्तो दिन सधैं आउँदैन । यस दिनमा भगवान् शाक्यमुनि बुद्धको जन्मदिन, बुद्ध-ज्ञान प्राप्त र महा-परिनिर्भाना गर्नु एको दिन पर्न गएकोले ठूलो शुभको दिन मानिन्छ,’ मेजर समुन्द्र गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्तो शुभ दिनमा यस्तो ठूलो रिम्पोछे गुरूको हातबाट आशीर्वाद र आयुको वाङ थाप्ने मौका तपाईंहरूले अवश्य लिनुहुन्छ भन्ने ठुलो भरोसा छ हामीलाई ।’
अध्यक्ष मेजर गुरुङका अनुसार ठूलो पूजा र त्यसपछि महागुरूबाट ‘आयुको वाङ’ लिन सबै भक्तजनहरूलाई सपरिवार निम्तो गरिएको छ । आयोजकले पूजा कार्यक्रममा शुद्ध साकाहारी खाना र चिया पानीहरूको पनि बन्दोबस्त गरिएको जनाएको छ ।






