– जय तामाङ
लन्डन २६ मे २०२४। २६ वटा नेपाली चर्चहरु मिलेर बनेको नेपाली ख्रीष्टियनहरुको छाता संगठन एनसीसी युकेको वार्षिक संयुक्त संगती भेला सम्पन्न भएको छ ।
यही मे २५ तारिख शनिबारको दिन अक्सफोर्डस्थित ओसनिमेडको द किंग्स सेन्टरको हलमा भव्यताका साथ सम्पन्न भएको छ । नेपाली ख्रीष्टियनहरु बेलाबखत विभिन्न समयमा विभिन्न कार्यक्रमहरु राखेर सेवा संगती गरिरहने भए पनि यस पटकको भेला स्मरणयोग्य बनेको आयोजकले जनाएको छ । भेलामा २६ वटा चर्चबाहेक थप चर्चहरुको पनि सहभागी भएका थिए ।

करिब हजार जनाको हाराहारीमा नेपाली भाषी ख्रीष्टियनहरुको उपस्थित रहेको एनसीसी युकेका कोषाध्यक्ष टंक राईले बताएका थिए । पास्टर जोन सुनुवारले संचालन गरेको उक्त सेवा संगति भेलामा उपस्थित सबैलाई स्वागत गर्दै हेल्थ एण्ड सेफ्टीको बारेमा जानकारी दिएका थिए । सुरुआतको प्रार्थना एल्डर मानकुमार सुनुवारले गरेका थिए ।
स्तुति प्रशंसाको लागि केन्ट चर्च समूहले अगुवाई गरेको थियो भने सन्डे स्कुलको लागि प्रार्थना सिस्टर हेलेन जोय लिम्बुले गरेका थिए । वचन र भेटीको लागि प्रार्थना कासी राईले गरेका थिए ।

परमेश्वरको वचन एल्डर चन्द्र सुनुवारले ख्रीष्टमा हाम्रो पहिचान के हो भन्ने बारेमा बोलेका थिए । प्रभु भोजको वचन पास्टर कुमार रसाइलीले श्यर गरेका थिए ।
एल्डर डेबोरह आङ्ग्दम्बेले सूचना सुनाएका थिए भने डाक्टर सिन्डी पेरीले आफ्नो जीवन गवाही दिएका थिए । डाक्टर सिन्डी पेरिलाई नेपाली ख्रीष्टियन जगतमा ठूलो योगदान पुर्याएकोले प्रशंसापत्र दिएको थियो ।
अन्तमा एनसीसी युकेका पास्टर कुमार रसाइलीले प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहयोग गर्ने सम्पूर्णलाई र उपस्थित सबै चर्चहरुलाई धन्यवाद ज्ञापन गरे पछि एल्डर मेख गुरुङले सेवा संगति भेलालाई प्रार्थना गरी समापन गरेका थिए ।







