पोखरा । बेगनास तालमा शनिबार डुंगा डुबेर बेपत्ता भएका ६ जनाकै शव आइतबार दिउँसो फेला परेको छ । घटनास्थलनजिकै उनीहरुको शव भेटिएको प्रहरीले जनाएको छ ।

आफन्तकोमा तीजको दर खाने कार्यक्रममा सहभागी हुन जाने क्रममा १० जना सवार डुंगा डुबेको थियो। डुंगा डुबेपछि शनिबारै उपचारका क्रममा दुईको मृत्यु भएको थियो।
डुंगा डुब्दा नवलपुर गैडाकोटका ३२ वर्षीय रवि खनाल, उनका ८ र ७ वर्षका छोराहरु शंकर र शिव, तनहुँको भीमाद–४ का ४ वर्षीय रन्जित गैरे, पोखरा– ३१ बेगनासका ५ वर्षका प्राचीन पौडेल र पोखरा नयाँ बसपार्ककी १८ वर्षीया मनिसा बजगाई बेपत्ता थिए। अाइतबार दिउँसाे उनीहरुकाे शव फेला परेकाे हाे।
भीमादकी २८ वर्षीया जमुना गैरे र पोखरा नयाँ बसपार्ककी ५० वर्षकी कृष्णकुमारी बजगाईको उपचारका क्रममा शनिबार नै अस्पतालमा मृत्यु भएको थियो।
कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार स्थानीय जलारी समुदाय, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सर्वसाधारण र बेपत्ताका आफन्तजनले खोजी गर्ने क्रममा उनीहरुको शव भेटिएको हो।






