
लन्डन ८ जुन २०२४ । Kumar SK Gurung कुमार एसके गुरुङ
नेपालबाट आमन्त्रित चर्चित कलाकारहरुको प्रस्तुतिसहित गोरखाली समाज युकेको आगामी २० जुलाईमा बीबीक्यू तथा वार्षिक भेटघाट कार्यक्रम हुने भएको छ ।
फानबोरोस्थित सामुयल कोडी स्कुलमा शनिबार २० जुलाईमा बीबीक्यू तथा वार्षिक भेटघाट कार्यक्रम तय गरिएको समाजका अध्यक्ष हेमकुमार गुरुङले जानकारी दिए । उनका अनुसार कार्यक्रम स्थानीय समयअनुसार मध्याह्न १२ बजेदेखि राति ८ बजेसम्म हुनेछ । कार्यक्रममा नेपालीहरुको मनमुटुमा बस्न सफल नेपाली राष्ट्रिय लोकदोहोरी कलाकारहरू गायक रविन लामिछाने, गायिका रेजिना परियार तथा नायिका तथा डान्सर लक्ष्मी गुरुङको विशेष प्रस्तुति रहने छ ।
अध्यक्ष गुरुङले उक्त ऐतिहासिक कार्यक्रममा सहभागी हुने गोरखाली समाज युकेका संस्थापक अध्यक्ष तथा पूर्वअध्यक्षहरु, ट्रस्टिजहरू, सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरू तथा सम्पूर्ण बेलायतवासी नेपालीलाई अनुरोध गरेका छन् ।
‘गोरखाली समाज युकेको आयोजनामा निम्न मिति, समय र स्थानमा नेपालीहरुको मनमुटुमा बस्न सफल नेपाली राष्ट्रिय लोकदोहोरी कलाकारहरू गायक रविन लामिछाने, गायिका रेजिना परियार तथा नायिका तथा डान्सर लक्ष्मी गुरुङको विशेष प्रस्तुतिको साथ बीबीक्यू २०२४ तथा वार्षिक भेटघाट कार्यक्रम हुन गइरहेको यहाँहरु सबैलाई जानकारी गराउँदै कृपया यस ऐतिहासिक कार्यक्रममा उपस्थित भईदिनु हुन संस्थाको सदस्यहरुलगायत सम्पूर्ण नेपालीहरुमा हार्दिक अनुरोध गर्दछौं,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
कार्यक्रममा उपस्थितिका लागि एडल्टलाई २५ पाउन्ड, ६ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई १० पाउन्ड र पाँच वर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई नि:शुल्क प्रवेश दिइनेछ । साथै कार्यक्रम सफल बनाउन उपस्थिति सँगसँगै संस्थालाई आर्थिकलगायत विभिन्न सहयोग गरी साथ दिन पनि गोरखाली समाज युके कार्यसमिति परिवार विशेष अनुरोध गरेको छ ।






