
लन्डन १६ जुन २०२४ । तमु समाज युकेको अध्यक्षमा विन्दु घले चयन भएकी छन् ।
शनिबार १५ जुनमा बर्हाम पार्क वेम्बलीस्थित तमु समाज युके सामुदायिक भवनमा भएको १७ औं साधारणसभा तथा ७ औं महाधिवेशनले घलेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। वरिष्ठ उपाध्यक्षमा भिमबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा केदारबहादुर गुरुङ र तृतीय उपाध्यक्षमा मिरा गुरुङ चयन भएका छन् ।
यस्तै महासचिवमा सुब घले, कोषाध्यक्षमा चन्द्रकान्त गुरुङसहित २१ सदस्यी कमिटी चयन भएको निर्वाचन समितिले जनाएको छ । कार्यसमिति चयन गर्न अर्जुनकुमार गुरुङ प्रमुख आयुक्त रहेको निर्वाचन समिति गठन गरिएको थियो । समितिमा शिवचन्द्र गुरुङ आयुक्त, गोपीराम गुरुङ सचिव तथा माया गुरुङ र कन्याप्रसाद गुरुङ सदस्य थिए ।
साधारणसभामा पेस भएका आर्थिकलगायत विभिन्न प्रतिवेदन पारित भएको थियो । महाधिवेशनमा कार्यसमिति पदाधिकारी, सल्लाहकार, शुभचिन्तक लगायतको बाक्लो उपस्थिति थियो ।
तमु समाज युके यसअघि शिवकुमार गुरुङको अध्यक्षतामा रहेको थियो । तमु समाज युके ‘सेवा नै धर्म हो’ भन्ने सोचलाई ध्यानमा राखि ३० सेप्टेम्बर २००७ सालमा समाजसेवी चित्रबहादुर गुरुङको नेतृत्वमा स्थापना भएको हो ।






