लन्डन १६ जुन २०२४ । पाँचथर समाज सेवा युकेको १५ औं वार्षिक भेला भव्य रुपमा सम्पन्न भएको छ ।
शनिबार बेलायतको फार्नबोरोस्थित सामुएल कोडी स्कुलमा समाज सेवा युकेको वार्षिक भेला नेपाली दूतावास लन्डनका द्वितीय सचिव रामबाबु नेपालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रम प्रमुख अथिति नेपाल र समाजकी अध्यक्ष शान्ति लिम्बुले दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए । कार्यक्रममा नेपालको राष्ट्रिय गीत र बेलायतको नेस्नल एन्थम पनि बजाइएको थियो ।
सोही भेलामा अध्यक्ष शान्ति लिम्बुको नयाँ कृति ‘कस्तुरी यात्रा प्रमुख अतिथि रामबाबु नेपालले लोकार्पण गरे । याक्थुङ लिम्बु परम्पराअनुसार च्याब्रुङ बजाएर केलाङ नाच्दै कस्तुरी यात्राको लोकार्पण गरिएको थियो । विशेष अतिथिहरू संगीतकार दिनेश सुब्बा, शान्ति कुँवर थापा, विश्वासदिप तिगेला, मिलन तमु, नरकुमारी लिम्बू वनेम, कमला सेन्दाङ, युमा लिम्बू, गौरभ कन्दङ्वा, लालसुन्दर राई, जुरेन्द्र खजुम, टेकेन मादेन, गंगा खिम्दिङ, सल्लाहकारहरू र बेलायतवासी पाँचथरेहरूको उपस्थितिमा लोकार्पण भएको हो । पुस्तक लोकार्पण भएकोमा अध्यक्ष शान्तिलाई बधाई दिँदै पाँचथर समाज सेवा युकेको प्रगतिको शुभकामना दिइएको थियो ।
संस्थाका महासचिव लाहाङ चेम्जोङले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्वाङले स्वागत मन्तव्य राखेका थिए । लेखक एवं अध्येता विश्वासदीप तिगेला र लेखक/ समीक्षक कृष्ण हेम्ब्याले कस्तुरी यात्राको समीक्षा गर्दै शुभकामना मन्तव्य राखेका थिए । ‘कस्तुरी यात्रा’ हाइकु, मुक्तक र गीतहरूको संयुक्त संग्रह हो । कार्यक्रममा प्रमुख अथिती नेपाल, अथिति शान्ति कुँवर, नेपाल आदिवासी जनजाती महासंघ महिला विभाग युकेकी अध्यक्ष युमा लिम्बुले शुभकामना मन्तव्य राखेका थिए ।
समाज सेवाले पहिलो पटक पाँचथर अवार्डद्वारा चन्द्र सुन्दासलाई सम्मानसमेत गरेको छ । सो अवसरमा शिक्षा तथा खेलकुदमा सफलता हासिल गरेका व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो । लेखनमा नगेन्द्रराज नेम्बाङ, लिला सेलिङ माबो र लिलाराज काम्बाङ, संगीत/कलामा वरिष्ठ संगीतकार दिनेश सुब्बा, दिपा योङ्या, इस्मिता तावालगायतले नयाँ म्युजिक भिडियोमा डेब्यु गरेकालाई सम्मान गरेका थिए । सांस्कृतिक कार्यक्रम पारु राईले सञ्चालन गरेकी थिइन् ।
नयाँ समितिबाट मनोनीत शुभ नेम्बाङ, सुक तुम्रोक, लिलाराज काम्बाङ र नयाँ आजीवन सदस्यलाई प्रमाण पत्रसमेत प्रदान गरिएको थियो । त्यसपछि सन्देश नेम्बाङ, नगेन्द्र र दिपा योङ्याले राफल ड्र सञ्चालन गरेर कार्यक्रम थप रोमाञ्चक पारेका थिए ।
चर्चित गायक तारा लक्समको सांगीतिक प्रस्तुति र बाँसुरी बाधक टंक शेरचनले बाँसुरी बजाएर मन्त्रमुग्ध बनाए । यसका साथै कलाकारहरू प्रिया लिम्बू, हेलेन लिम्बू, रोजी राई, दिलिप लिम्बु र गुमान्सिङ माखिमको प्रस्तुतिसमेत रहेको थियो ।






