लन्डन ३ जुलाई २०२४ । गत जुन महिनामा बेलायतबाट १ हजार ९ सय ६९ पर्यटक नेपाल गएका छन् ।
सन् २०२४ को जुनमा ७६ हजार ७ सय ३६ विदेशी पर्यटक नेपाल भित्रिएकोमा त्यसमध्येबाट बेलायतबाट उक्त संख्यामा पर्यटक गएका हुन् । अध्यागमन विभागलाई उदृत गर्दै नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२३ को जुनको तुलनामा यस वर्षको जुनमा ४ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका हुन् । सन् २०२३ को जुनमा ७२ हजार दुई सय ५० पर्यटक नेपाल भित्रिएका थिए ।
नेपाल भित्रिएका पर्यटकमध्ये भारतीय पर्यटक बढी छन् । भारतबाट जुनमा ३७ हजार ८ सय ३५ पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए । यस्तै, दोस्रोमा अमेरिकाबाट ८ हजार दुई सय ८१, चीनबाट ७ हजार ४ सय ९४ जना पर्यटक नेपाल भित्रिएका छन् । बङ्गलादेशबाट ३ हजार ८ सय ५७, अष्ट्रेलियाबाट १ हजार ५ सय ८९, भुटानबाट १ हजार ६६, मलेसियाबाट १ हजार १४, जापानबाट ९ सय ५३ र दक्षिण कोरियाबाट ८ सय ७५ जना भित्रिएको पर्यटन बोर्डले जनाएको छ ।
कोरोना महामारीभन्दा पहिले सन् २०१९ को जुनमा नेपालमा ७४ हजार ८ सय ८३ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२४ सुरु भएयता नेपालमा ५ लाख ८३ हजार १६ पर्यटक भित्रिएका विभागले जनाएको छ ।






