
लन्डन ४ जुलाई २०२४ । बेलायतमा आगामी अगस्ट २५ तारिखमा ‘नेपाली मेला-२०२४’ हुने भएको छ ।
तमु धीं युकेको आयोजनामा १५ औं संस्करणको नेपाली मेला हुने लागेको हो । विगतका वर्षहरुमा झैं यस वर्ष पनि तमु धीं युके र नेपाली राजदूतावासको सहकार्यमा बेलायतमा स्थापित विभिन्न नेपाली संघसंस्थाहरुको सहभागितामा केम्पटन पार्क लन्डनमा बैंक होलीडे पर्ने गरी आइतबार २५ अगस्ट २०२४ का दिन बिहान साढे ९ बजेदेखि बेलुका ८ बजेसम्म भव्यता साथ नेपाली मेला आयोजना हुने तमु धीं युकेका उपाध्यक्ष एवं नेपाली मेला २०२४ का संयोजक परशु गुरुङले जानकारी दिए ।
यस्ता छन् नेपाली मेला कार्यक्रमका विशेषताहरु :
१. विभिन्न संघसंस्थाहरुले आ-आफ्ना जातजाती, समुदायको प्रतिनिधित्व गर्दै विभिन्न भेषभुषामा सजिएर झाँकी तथा नृत्य प्रस्तुत गर्नेछन् ।
२. यी प्रस्तुतिहरु सहभागीमात्र हुने वा एम्बास्डर कप तथा एनआरएनए कपको लागि प्रतिस्पर्धा गर्ने स्वेच्छामा निर्भर हुनेछ ।
३. रेस्टुरेन्ट, व्यापारी विज्ञापनका स्टल, ब्राण्डेड कपडाका स्टल, डेकोरेसन, क्राफ्ट तथा खेलौनाहरुको स्टलहरुको व्यवस्था गरिएको ।
४. राम्रा पुरुस्कारहरु रहेको भाग्योदय चिट्ठा ।
त्यसभन्दा पनि धेरै मनोरन्जनात्मक कार्यक्रमहरु समावेश गरिएको नेपालमय बनाउने अवसर अवश्य पाउने आयोजकको दबी छ । मेलाबारे विस्तृत जानकारीको लागि कार्यक्रम संयोजक वा तमु धीं यूकेका कार्यसमितिका कुनै पनि पदाधिकारीहरुलाई सम्पर्क गर्न सकिने जनइएको छ । नेपालमय बन्ने कार्यक्रम नेपाली मेला-२०२४ मा सहभागी बन्न सम्पूर्ण बेलायतवासी नेपालीहरुलाई तमु धीं युकेले आग्रह गरेको छ ।






