एटा संवाददाता
अल्डरसट । विगत १० वर्षदेखि बेलायतबाट प्रकाशन हँुदै आएको नेपाली साप्ताहिक पत्रिका एभरेष्ट टाइम्सले विविध कार्यक्रमका साथ दशौं वार्षिकोत्सव मनाएको छ । एभरेष्ट १० वर्ष पुरा गरी ११ वर्षमा प्रवेश गरेको अवसरमा गत शुक्रबार ७ सेप्टेम्बर साँझ अल्डरसटस्थित एम्पायर हलमा वार्षिकोत्सवको आयोजना गरिएको हो ।

बेलायतमा नेपालीहरुको संख्यामा वृद्धि संगसंगै सन् २००८ सालको २२ अगष्टका दिन स्थापना भएको एभरेष्ट टाइम्सले १२ पेज, १६ पेज २० पेज हुँदै अहिले २४ पेजको नेपाली भाषामा प्रत्येक मंगलबार प्रकाशन गर्दै आएको छ । केही उद्यमी, व्यापारी, भूतपूर्व गोर्खाज् र पत्रकारितामा अनुभव भएका ११ जना नेपालीहरुको संलग्नतामा स्थापित एभरेष्ट टाइम्सले सन् २०१३ सालदेखि अनलाईनसमेत शुरुवात गरेको छ ।
बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपालका उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, संचार मन्त्री गोकुल बास्कोटा, नेपाल प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य लगायतले पठाएको शुभकामना सन्देश पढेर सुनाइएको थियो । सो अवसरमा प्रमुख अतिथि डा. सुवेदी, एनआरएनए आईसीसी उपाध्यक्ष कुल आचार्य, एनआरएन युकेका अध्यक्ष योग फगामी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ, एभरेष्ट टाइम्सका सम्पादक एंव वरिष्ठ पत्रकार खिम घले, नेपाल आदिवसाी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ, नेपाल पत्रकार महासंघ प्रदेश नं. ४ का संयोजक रामकृष्ण ज्ञवाली, पत्रकार रमेश पौडेल, नेपाल पत्रकार महासंघ, बेलायतका अध्यक्ष नरेश खपांगी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, युकेका अध्यक्ष प्रमिला राई र एभरेष्ट टाइम्सका शुभचिन्तक जया गुरुङले शुभकामना मन्तब्य दिएका थिए ।
बेलायत कार्यक्रममा एभरेष्ट टाइम्सका सम्पादकहरु, अतिथि लेखक, संवाददाता, अनलाईन प्रमुख, कार्यालय सहयोगी र बिज्ञापनदाताहरुले गरेको अतुलनीय सहयोगको प्रसंशा गर्दै सम्मान गरिएको थियो ।
नेपालका अपाङ्गता भएका महिलाहरुको सहयोगार्थ च्यारिटी समेत आयोजना गरिएको कार्यक्रममा सम्पादक डा. मिलन ज्ञवालीले स्वागत मन्तब्य, सम्पादक हरि कुमार गुरुङ ‘काजी’ ले धन्यवाद ज्ञापन र उमेश मोक्तानले च्यारिटीबारे बोलेका थिए ।
साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको कार्यक्रममा गंगा र जयलक्ष्मीले विभिन्न गीतहरु गाएका थिए भने सपन राईले साउण्ड सिस्टमको व्यवस्थापन गरेका थिए ।
कार्यक्रमको अन्त्यमा एभरेष्ट टाइम्सका अध्यक्ष मेजर (रि) कुल बहादुर थापाले प्रमुख अतिथिलगायत सबै अतिथिहरुलाई धन्यवाद ज्ञापन गरे ।
एभरेष्ट टाइम्सका अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रम प्रवन्ध निर्देशक दुत पुनले संचालन गरेका थिए ।






