गुरुङ पर्यटन व्यवसायी संघ गण्डकीले घोषणा गर्‍यो ‘गुरुङ सम्पदा पदमार्ग’

SHARE:

गण्डकी २४ जुलाई २०२४ । गुरुङ पर्यटन व्यवसायी सङ्घ, गण्डकी प्रदेशले कास्कीको मादी गाउँपालिकाबाट सुरु भई मनाङको चामे गाउँपालिकाको तिमाङ जोडिने गुरुङ सम्पदा मार्गको औपचारिक घोषणा गरेको छ ।

सङ्घले नेपाल पर्यटन बोर्डको प्रवर्द्धन एवं पर्यटन मन्त्रालय गण्डकी प्रदेश, मादी गाउँपालिका कास्की, लमजुङको क्होलासोँथर र मर्स्याङ्दी गाउँपालिका र चामे गाउँपालिका मनाङको सहयोगमा बुधबार पोखरामा आयोजित समारोहमा उक्त पदमार्ग घोषणा गरेको हो ।

पदमार्गको गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले नक्शा सार्वजनिक गर्दै औपचारिक रुपमा घोषणा गरे । उनले पछिल्लो समय पदमार्गहरू मासिँदै गएका अवस्थामा घोषित गुरुङ सम्पदा पदमार्ग गण्डकी प्रदेशसहित पदयात्रा पर्यटनका लागि महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।

पर्यटन क्षेत्रको विकासलाई दृष्टिगत गर्दै प्रदेश सरकारले प्रदेशस्तरीय पर्यटन गुरुयोजना तयार गर्ने मन्त्री गुरुङले बताए । गण्डकी प्रदेशमा आठ हजार मिटर भन्दामाथि तीनवटा हिमाल रहेका चर्चा गर्दै उहाँले यहाँको पर्वतीय र पदयात्रा पर्यटनको सम्भावनालाई उजागर गर्नुपर्नेमा जोड दिए ।

गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष किसमकुमारी गुरुङले गत जेठ २१ देखि ३० गतेसम्म ताङतिङबाट तिमाङसम्म जोडिने गुरुङ सम्पदा पदमार्गमा इञ्जिनियर, अन्वेषक, जिपिएस एक्सपर्ट, सञ्चारविज्ञ, पर्यटक पथप्रदर्शकसहित ३७ सदस्यीय टोलीले स्थलगत अनुसन्धान गरेको जानकारी दिए ।

सङ्घका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले गुरुङ समुदायको ऐतिहासिक उद्गमस्थल क्होलासोँथरसँगै जोडिएका पुरानो बस्तीसँगै प्राचीन नुन व्यापारिक मार्गलाई यस पदमार्गले समेट्ने बताउनुभयो । प्रकृति र संस्कृतलाई पर्यटनसँग जोड्ने यो पदमार्गको संरक्षण, प्रवर्द्धन र उपयोगमा राज्य तथा निजी क्षेत्रको सामूहिक प्रयास आवश्यकरहेकामा उनले जोड दिए ।

गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री बेदबहादुर गुरुङले यसको संरक्षणसहित पर्यटकीय उपयोगमा सबैको सामूहिक प्रयास हुनुपर्ने बताए ।

प्रदेशसभा सदस्य देवका पहारी, मादी गाउँपालिका अध्यक्ष देवीजङग गुरुङ, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख नवीन पोखरेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, गुरुङ पर्यटन व्यवसायी सङ्घ केन्द्रका कार्यवाहक अध्यक्ष बाबुराम गुरुङ, गण्डकी प्रदेशका महासचिव तुल गुरुङ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) का प्रमुख रवीन कडरिया, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीलगायत सहभागीले पोखरासहित समग्र गण्डकी प्रदेशमा पर्यटकको बसाइँ लम्ब्याउन पदमार्ग सहयोगी बन्ने विश्वास व्यक्त गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!