लन्डन २ अगस्ट २०२४ । नेपाल आदिवासी जनजाति महासंघ युकेले नेपाल पत्रकार महासंघ यूकेको नवनिर्वाचित कार्यसमितिलाई कार्यकाल सफलताको सुभकामनाका साथ बधाई तथा सम्मान गर्ने भएको छ ।
आगामी अगस्ट ४ आइतबारका दिन तीसौं विश्व आदिवासी दिवसको उपलक्ष्यमा नयाँ कार्यसमितिलाई सम्मान गर्न लागिएको महासंघका अध्यक्ष रि.मे योगेश कोयु राईले जानकारी दिएका छा् । गत जुलाई १४ मा भएको नेपाल पत्रकार महासंघको छैठौ अधिवेशनले विमला सेनेको नेतृत्वमा १५ सदस्य रहेको कार्यसमिति चयन गरेको थियो ।
यो वर्ष भने महासंघले नजिकको सप्ताहान्त पारेर “देश तथा विदेश जहा रहे पनि हाम्रो पहिचान, प्रतिनिधित्व र समावेशिताको आवाज उठाउ, हाम्रो भाषा, धर्म, संस्कृति र अधिकारको लागि विश्वव्यापी जागरण अभियान गरौं” भन्ने नाराका साथ अल्डरसटको द प्यालेसमा दिउँसो १२ बजेदेखि भव्य रुपमा मनाउने भएको छ । आयोजकका रुपमा नेपाल आदिवासी जनजाति महिला महासंघ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, नेपाल आदिवासी जनजाति युवा महासंघर र आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ समेत रहेका छन् ।
हरेक वर्ष विश्वभर अगष्ट ९ मा विश्व अदिवासी दिवस मनाइन्छ । यस वर्ष संयुक्त राष्ट्र संघले “Protecting the Rights of Indigenous Peoples in Voluntary Isolation and Initial Contact” मूल अन्तर्राष्ट्रिय नारा तय गरेको छ ।
जातीय संस्थाहरुको छाता संगठनको रुपमा रहेको नेपाल आदिवासी जनजाति महासंघमा बेलायतमा रहेका १४ वटा जातीय संस्थाहरु आबद्ध रहेका छन् ।






