काठमाडौँ ९ अगस्ट २०२४ । नेपालमा लगायत विश्वभर शुक्रबार ३० औँ विश्व आदिवासी दिवस मनाइँदै छ । दिवसको सन्दर्भमा शुक्रबार काठमाडौंमा विभिन्न जातजातिको झाँकी तथा र्याली निकालिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघको संयोजनमा भएको झाँकी तथा र्यालीमा तामाङ, गुरुङ, मगर, नेवार, छन्त्याल, कुमाल, थारु, राई र लिम्बू जातिका सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको थियो । भृकुटीमण्डपबाट सुरु भएको झाँकी तथा र्याली भद्रकाली, सहिदगेट, सुन्धारा, टुँडिखेल हुँदै प्रज्ञा भवनमा पुगेर समारोहमा परिणत भएको छ ।
र्यालीका क्रममा जनजाति समुदायका अगुवा तथा अभियन्ताहरुले विश्वका आदिवासी जनजातिको एकता, ज्ञान सीप, भाषा, भेषभूषा, संस्कृति र परम्पराको संरक्षण गर्नुपर्ने भन्दै विभिन्न प्ले-कार्डसहित प्रदर्शन गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घले सन् १९९४ को अगस्ट ९ देखि विश्व आदिवासी दिवस मनाउन सुरु गरेको थियो । त्यसयता आदिवासीहरुले वर्षेनि यो दिवस मनाउँदै आएका छन् ।






