बेलायतको राहदानी त्यागेर लालबहादुर पुन किवी खेतीमा

SHARE:


म्याग्दी २१ अगस्ट २०२४ । किबी खेतीमा संलग्न हुन्थेन भने बेनी नगरपालिका–३ भकिम्लीका ४१ वर्षीय लालबहादुर पुन यतिबेला युरोप, अमेरिका र खाडीका कुनै देशमा श्रम र पसिना बगाइरहेको हुन्थे ।

विस. २०७५ मा बेलायत जाने तयारी गरेका लालबहादुरको योजना वडा कार्यालयले सञ्चालन गरेको किबी खेती सम्बन्धी तालिममा सहभागी भएपछि स्थगित भयो । “दुई वर्ष मलेसीया र एक वर्ष बहराईनमा काम गरेर आएपछि आफन्त मार्फत बेलायत जाने भिसा पनि लागेको थियो,” उनले भने “बेलायतको राहदानी त्यागेर शुरु गरेको किबी खेतीले सफलता मिल्न थालेको छ । घरपरिवारसँगै बसेर रोजगार र आत्मनिर्भर हुन पाएकोमा सुखी र सन्तुष्ट छु ।”

सचिन्द्रा कृषि तथा पशुपंक्षी फार्म खोलेर मकै र कोदोको विकल्पमा करिब १७ रोपनी पाखोबारीमा लगाएको २५० बोट किबीले आम्दानी दिन थालेको छ । गत वर्ष प्रतिकिलो रु. दुई सय ५० का दरले दश क्विन्टल किबी बेचेका पुन यसपाली राम्रो फल लागेकाले उत्पादन र आमदानी बढ्ने आशामा छन् । किबी खेतीसँगै फर्निचर उद्योग पनि सञ्चालन गरेका पुनले आफू र श्रीमती बाहेक तीन जनालाई रोजगारी दिएका छन् । बाख्रापालन पनि सहायक पेशाको रुपमा रहेको छ ।

कृषि ज्ञान केन्द्र, बेनी नगरपालिकाको कृषि शाखा र वडा कार्यालय मार्फत प्राबिधिक तालिम, नि:शूल्क र अनुदानमा किबीका बिरुवाका साथै सिंचाइका लागि ड्रम सहयोग गरेका छन् । बेनी नगरपालिका–३ का वडा अध्यक्ष पदम पुनका अनुसार भकिम्लीका २० जना भन्दा बढीले व्यवसायिक किबी खेती गरेका छन् ।

“हावापानी र भूगोल अनुकुल भएकाले भकिम्लीको माथिल्लो क्षेत्रमा किबी र तल्लो भेगमा सुन्तला खेती प्रर्वद्धनमा जोड दिएका छौ,” उनले भने, “किबी र सुन्तला खेती गरेका मध्य धेरैजसो विदेशबाट फर्किएका युवाहरु छन् । व्यावसायिक कृषिमा आवद्ध गराएर युवाहरुलाई विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने प्रयास गरेका छौ ।”

लछु पुनले दश वर्षअघि भकिम्लीमा किबी खेती भित्र्याएका थिए । अनुकुल हावापानी, खेती गर्न सजिलो र छिटो आम्दानी लिन सकिने भएकाले उच्च पहाडी भूगोलमा अवस्थित भकिम्ली, मुसुङ, डोले, मड्केना, छाप टोलमा व्यवसायिक किबी खेती विस्तार गरेका छन् ।

लगाएको तेस्रो वर्षबाट एउटा बोटमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्ने गर्छ । समुद्री सतहदेखि १ हजार ५०० देखि २ हजार मिटरको उचाइमा किबी खेति गर्न सकिने बेनी नगरपालिकाको कृषि अधिकृत आकृति ढुंगानाले बताइन् । । पाचन प्रक्रियालाई सहयोग गर्ने किबीबाट जाम र वाइन बनाउन सकिन्छ ।

अमिलो र गुलीयो स्वाद पाइने किबीलाई नेपालीमा ठेकी फलको रुपमा चिन्ने गरिएको छ । किबी चिनमा विकास भएको फलफूल हो । न्युजील्याडले किबीलाई प्रमुख फलफूल बालीको मान्यता दिएको छ । सोयु, ब्रुनो, हेवार्ड, आलीसान, टोमरी, मन्टी जातको किबीको बिरुवाको मूल्य सरकारी दररेट अनुसार प्रतिगोटा रु. एक सय छ । निजी नर्सरीबाट रु. तीन सय सम्ममा बिक्री हुन्छ ।

प्रति आठ वटा पोथी बिरुवा बराबर एक वटा भाले किबीका बिरुवा लगाउनुपर्छ । लहरा भएर फैलिने किबी एक रोपनीमा १५ सम्म किबीका बिरुवा लगाउन सकिन्छ । फुल खेल्ने बेलामा असिनाबाट जोगाउनु किबी खेतीको मुख्य चुनौति हो । किबीलाई बजारीकरण र सुरक्षित भण्डारण गरेर बेमौसममा बजारमा लैजानका लागि चिस्यानगृह स्थापनाका लागि पहल गरेको वडा अध्यक्ष पुनले बताए ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!