घाँसे गीतमात्रै गाएर चल्नेवाला छैन : गायक तथा मोडल दिनेश थापा

SHARE:

प्रतिभाशाली कलाकार दिनेश थापा यस क्षेत्रमा लागेको १५ वर्ष पुगिसकेको छ । स्कुले जीवनमै नाच्न, गाउन अब्बलउनले पछिल्लो समय काँठ क्षेत्रमा प्रचलित ‘सालको पात टपरी दुना…’ गीतमा मोडलिङ गरेर हाई हाई कमाए । झन् पछिल्लो समय फरक तर मौलिक तीज गीत ‘पाउजु बरीलाई’ स्रोतामाझ पस्केपछि उनको चर्चा चुलिँदै गएको छ । गोरखा शहीद, लखन गाउँपालिका नाम्जुङमा जन्मेका थापा कलाकारितामा मात्रै सीमित नरहेर उद्घोषक र समाजसेवीका रुपमा समेत परिचित छन् । प्रस्तुत छ, उनै बहुमुखी प्रतिभाका धनी थापासँग एभरेस्ट टाइम्सले गरेको कुराकानी ।


पुरुष भएर पनि तीज गीत निकाल्नु भएछ नि ?
परिमार्जित र आधुनिकीकरण हुने क्रममा महिलालाई पुरुषको साथ पाएपछि उत्साह थप्ने भएर तीज गीत निकालेको हुँ । सधैंभरि पीडामा रहने दिदीबहिनीहरुको लागि आफ्ना दाजुभाइ, श्रीमान्लगायतको पनि साथमा छ भन्ने अनुभूति दिलाउन पुरुष कलाकारले पनि तीज गीत गाउन थालेका छन् । महिला दिदीबहिनीको ठेट पर्वमा हमला होइन, सान्त्वनाको रुपमा लिएको छु ।
‘पाउजु बरीलाई’ गीतमा कुन सन्दर्भ समेट्नु भएको छ ?
तीज गीत दिदीबहिनीहरुको पीडा, रोनाधोना, बेदनामा मात्रै सीमित नराखी मनोरञ्जनात्मक बनाउनुपर्छ भनेर विवाह गर्ने उमेर पुगेका दिदीभाइबीचको ठट्यौली संवादलाई लिएर गीत बनाएका छौं । यस गीतमा गायिका सीमा भण्डारीसँग सहकार्य गरेको छु ।
भर्खरै बजारमा आएको ‘पाउजु बरीलाई’ कत्ति औं एल्बम् हो ?
यो तेस्रो एल्बम् हो । पहिलो एल्बम ‘बोली नफेर’ निकालेको थिएँ । जसमा शब्द संगीत चर्चित सर्जक एकनारायण भण्डारी, स्वर म (दिनेश थापा) र चन्दा अर्याल । अभिनय पनि मेरै थियो भने महिलामा भोजपुरे नायिका डली सरकारले भूमिका निभाएकी थिइन् । त्यस्तै दोस्रो एल्बम प्रमोद लामाको शब्दमा ‘पानी मिठो कलकल…’ आवाज म र पूजा पुरीले भरेका थियौं ।
गायन र अभिनयमा निकै चर्चा बटुल्नुभएको छ, कति गीतमा मोडलिङ गर्नुभयो ?
लोकदोहोरी, आधुनिक, दसैं गीत, तीज गीत, लिम्बू भाषाका गीतगरी पाँच दर्जनमा अभिनय गरिसकेको छु । यसक्रममा नायिका झरना थापा, मेलिना मानन्धरजस्ता ख्याति प्राप्त कलाकारसँग पनि अभिनय गर्ने मौका मिल्यो ।
व्यावसायिक रुपमा कलाकारितामा कहिलेदेखि लाग्नु भयो ?
म कलाकारितामा लागेको ०६१÷६२ तिर हो । त्यसअघि स्कुले जीवनमा नाच्न, गाउन अब्बल थिएँ । काठमाडौंमा ०६२÷६३ मा पोखरा दोहोरी साँझमा पनि काम गरें ।
पढाइ चाँहि कति पूरा गर्नुभयो ?
गोर्खाको श्री जनशक्ति माविबाट २०५७ सालमा एसएलसी दिएँ । त्यसपछि प्लस टु मनमोहन मेमोरियल र ब्याचलर पासाङ ल्हामुमा पढें ।
कसको प्रेरणाले यस क्षेत्रमा लाग्नुभयो ?
दिदी सुशीला थापा र मीत दाइ दीपसागर थापाको प्रेरणाबाट यस क्षेत्रमा लागेंको हुँ । उहाँहरुले मेरो कला यात्रामा निरन्तर सहयोग गरिरहनुभएको छ ।
यहाँसम्म आउन कत्तिको संघर्ष गर्नुपर्यो‍ ?
जुनसुकै क्षेत्रमा पनि सुरुमा गाह्रो, चुनौती हुन्छ । कलाकारिता क्षेत्रमा त्यो भन्दा चुनौती छ । सुरुका दिनमा अग्रजबाट साथ, सहयोग भन्दा अवहेलना हुन्थ्यो । तर, अहिले त्यस्तो छैन ।
कलाकार कुनै पनि एक विधामा लागे सफल बन्न सकिन्छ भन्ने छ, तर तपाईं गायन, अभिनय, उद्घोषणसमेत गर्दै आउनुभएको छ ?
एउटै विधालाई अँगालेर, निखारेर जानु कलाकारिताको मुख्य पाटो हो । अहिलेको परिस्थितिमा त्यसरी बिक्दैन । व्यावसायिक कलाकार बहुमुखी बन्न जरुरी छ । बहुमुखी प्रतिभा चाहिने भएकोले कुनै पनि कलाकारले नाच्न, गाउन सिकोस् ।त्यसैले मैले हरेक विधाअँगालेर आएको छु । साथै संख्यात्मक रुपमा धेरै गीत गाउनुभन्दा गुणात्मकतालाई ध्यान दिने गर्छु । नेपाली कलाकार कला, संस्कार, संस्कृति, मौलिकपन र सामाजिक जीवनयापनसँग मेल खाने हुनुपर्छ, केन्द्रित गर्नुपर्छ ।
मौलिकता भनिरहँदा कतिपय गीतमा भलगारिटी, विकृति, विसंगति आएको छ नि?
समय बदलिँदो छ, परिस्थिति फेरिँदो छ ।पुराना घाँसे गीत मात्रै गाएर चल्नेवाला छैन । आधुनिकता, प्रविधिसँगै अगाडि बढेको नेपाली कलाकारितामा आफूलाई व्यावसायिक बनाउने दौडमा केही स्टेज तताउने खालका, युवा वर्गलाई लक्षित हुने खालका आधुनिक सिर्जना निकाल्नु स्वाभाविक जस्तो लाग्छ । तर, एउटा कलाकारले व्यावसायिकता, आधुनिकता भनेर छोटा कपडा लगाएर, उत्छुंखल शब्द राखेर परिवार बसेर हेर्न, सुन्न नसकिने श्रव्य, दृश्य सामग्री निकाल्नु, प्रसारण गर्नु सच्चा नेपाली संस्कृतिप्रति प्रहार हो ।
अभिनय कुन गीतमा गर्नुभयो ?
म जस्तो राम्रो पोई माग, लचकई कम्मर, मेरो रुपैले, बोली ठोक्नुपर्ने, आधा गाग्रो छल्किन्छ, रस रस सुन्तला रस, साँझ परेसी रोधीमा झरम्ला, त्यो सुन्दर गाउँमै पिउँदा पिउँदै आधुनिक गीत र हुक्स दिन सेवारो (लिम्बू गीत) मा अभिनय गरेको छु ।
कत्तिको सन्तुष्टि मिलेको छ ?
जब एउटा कलाकारले परिमार्जित रुपमा कला बेच्न सकिँदैन मात्र स्क्रिनमा भिडियो हेर्ने हो । विगतमा सिआरबिटी, पिआरबिटी बेचेर कमाई हुन्थ्यो, अहिले छैन । अहिले कलाकारले ठूलो लगानी गरेर गीत निकाल्छन्,तर प्रचार गर्नेले फाइदा लिन्छ । कलाकारको आम्दानी देश–विदेशमा हुने कार्यक्रम, उत्सवमात्र हो । पछिल्लो समय नयाँ प्रविधिसँगै चल्न सक्ने कलाकारका लागि आम्दानीको बाटो खुलेका छन् । यु–ट्युब, फेसबुक, कमर्सिअल बनाउने, मल्टिमिडिया च्यानल दर्ता गर्न सकिन्छ । यसका लागि नयाँ प्रविधिबारे जानकार हुनुप¥यो ।

विदेश पनि जानु भएको छ ?
गायक उदीराम खड्का, गायिका स्व.मञ्जु महतले बहराइन पठाउनुभयो । त्यहाँ टाइलस नेपाली ब्यान्डमा आबद्ध भएँ । सुरुमा तीन महिनाका लागि गएको थिएँ । तर, पटकपटक गरी चार वर्ष बिताएँ ।
संगीत शिक्षा पनि लिनु भयो कि ?
एशियन हिमालयन संगीत विद्यालयमा औपचारिक संगीत सिकें । निर्भाना कला केन्द्रमा नृत्य प्रशिक्षण लिएँ । त्यसका अलावा एक्सेस मिडिया बागबजारमा आरजे, भिजे तालिम लिएँ ।
तपाईंलाई चर्चामा ल्याउन बढी कुन गीतले सपोर्ट गर्यो‍ ?
मलाई काँठ क्षेत्रको म्युजिक भिडियो ‘सालको पात टपरी दुना…’ सरोज लामिछाने र स्मृति गौतमको स्वरमा रहेको गीतले चर्चामा आउनसजिलो बनायो ।
अबको तयारी के छ ?
नयाँ गीत ‘पाउजु बरीलाइर्’ प्रमोसन गर्ने, नेपालभित्रै तीजका कार्यक्रमहरु छन्, केही गीत, म्यूजिक भिडियो आउँदैछन् । पछिल्लो समयमा पञ्चेबाजा, पापिनीकै तस्बिर बोल्या छ, दोहोरी गीतको तयारी भइरहेको छ । साथै लोक पप गीत पनि आउँदै छ ।
झण्डै १५/१६वर्षको कलाकारितामा पुरस्कृत पनि हुनुभयो ?
२०७४ मा चौथो सुन्दरादेवी सन्देश म्युजिक अवार्डअन्तर्गत पपुलर अवार्ड पाएँ ।
अन्तमा सामाजिक सेवाबारेमा पनि बताइदिनोस् न ?
म नाम्जुङ सेवा समाज गोरखाको उपाध्यक्ष, जनआदर्श युवा क्लबको उपाध्यक्ष तथा सांस्कृतिक क्षेत्रमा रहेर काम गर्दै आएको छु । समाजमा एम्बुलेन्स वितरण, पीडितको उद्धार, स्वास्थ्य शिविरजस्ता चेतनामूलक कार्यक्रम पनि गर्ने गर्छांै । त्यस्तै, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिको संस्थापक सदस्य र गण्डकी रोधी क्लबसँग आबद्ध छु ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!