पछिल्लो समय नेपाली साहित्यको केन्द्रविन्दु मानिनुहुने प्राडा. गोविन्दराज भट्टराई युकेको यात्रामा छन् । पाँचथरको च्याङथापुमा २०१० साल साउन १० गते जन्मेका भट्टराईको स्थायी ठेगाना दमक १ झापा हो । उच्च अध्ययन संगसंगै एक दशक माध्यमिक तहमा र ३६ वर्ष त्रिभुवन विश्वविद्यालयमा अध्यापन गराई सेवानिवृत्त भएका पूर्णकालिक लेखक तथा प्राध्यापक भट्टराईसँग पत्रकार डण्ड गुरुङ र विश्वास दीप तिगेलाले गरेको संक्षिप्त अन्तर्वार्ता ।
तपाई कुन सिलसिलामा युके आउनु भएको हो ?
गत अगस्ट महिनाको १२ तारिख क्यान्टवरीमा आयोजित विश्व नेपाली साहित्य महासंघको दोस्रो विश्व नेपाली साहित्य सम्मेलनको निमित्त निमन्त्रणा प्राप्त भएकाले आतिथ्य ग्रहण गर्न यहाँ आएको हुँ । त्यहाँ विश्व साहित्यको सन्दर्भमा नेपाली साहित्यको सन्दर्भ शीर्षकको एक कार्यपत्र प्रस्तुत गरे ।
पाठकहरुका निम्ति तपाईको संक्षिप्त साहित्यिक परिचय ?
मेरो पहिलो कृति मुगलान (उपन्यास) २०३१ सालमा लेखेको हुँ । त्यसपछि विगत ४५ वर्ष निरन्तर यसै क्षेत्रमा समर्पित भई लागिरहेको छु । नेपाली र अंग्रेजी दुवै भाषाको साहित्यमा कलम चलाइरहेको छु । कति मौलिक र कति अनुदित कति सम्पादित र अप्रकाशित कृतिका बीचमा म सक्रिय रहेको छु । हालसम्म मेरा ४ उपन्यास, ५ वटा निबन्ध÷यात्रा संग्रह, ६ वटा अनुदित कृति, ७ वटा समालोचना र सिद्धान्तका कृति अनि ८ वटा सम्पादित ग्रन्थलगायत छन् ।
तपाई अंग्रेजी पढाउनेव्यक्ति तर नेपाली भाषा साहित्यको यात्रा किन रोज्नुभयो?
भाषा हाम्रा आमा हुन् । मैले दुईटी आमाको दूध पिएको रहेछु । त्यसैको ऋण तिर्नको लागि विशेषगरी नेपाली आमाको वाणीमा लेख्न थाले गर्दागर्दै अंग्रेजी आमाको निरन्तर स्तनपानले मेरो मन र शरीर अलि दह्रो भएको जस्तो लाग्यो र यिनको पनि ऋण तिर्ने मनसायले अंग्रेजीमा लेख्न अथवा अनुवाद गर्न समर्पित भएर लागेको हुँ । अंग्रेजी भाषा साहित्यले जसरी मेरो देशलाई सिंचित गरेको छ त्यसैगरी मेरो जीवनलाई पनि अलिकति उर्वर बनाएको छ जस्तो लाग्दछ । यही ज्ञान र चेतनालाई अरु समक्ष बढाउँदाबढाउँदै आज तेस्रोपल्ट बेलायत आएको छु । जसले भाषा साहित्यको सेवामा आफूलाई अर्पण गर्दैन उसले आमाको ऋण नतिरी यो धर्ती छोड्ने छ ।
तपाईको शैक्षिक यात्रा ?
म अलिक कठोर समयमा उदाएको रहेछु । कक्षा ७ सम्म पाँचथरको च्याङथापुमा पढँे । माध्यमिक तहको लागि झापाको घैलाडुब्बा हाईस्कुलमा झरे र भद्रपुरबाट २०२६ मा एलएलसी दिएँ । दुई वर्षपछि बनारसबाट आईए दिएँ । त्यसको चार वर्षपछि त्रिवि कीर्तिपुरबाट विएड पूरा गरे त्यसको पाँच वर्षपछि कीर्तिपुरबाटै एमएड पुरागरेँ । प्राईवेटमा विए र एमए पनि गरे यी सबै तहमा अंग्रेजी मेजर लिएँ । २०३८ सालदेखि म त्रिविको स्थायी सहायक प्राध्यापकमा नियुक्त भएँ, त्यसको एक दशकपश्चात् त्रिविकै विद्वतवृत्तिमा भारतको केन्द्रीय विश्वविद्यालय हैदरावादबाट पिएचडी पूरा गरे । यसमा म मात्र एक्लो थिएन संगै पढाउने श्रीमती अन्जनाले पनि विद्यावारिधी पूरा गरिन । छोरीद्वयले ५ वर्षै हाम्रो अध्ययनकालसम्म हैदरावादमै पढ्ने अवसर पाए ।
अरुले तपाईलाई नेपाली साहित्यमा नयाँ चिन्तन र धारहरुको एक अथक् अभियन्ताको रुपमा चिन्दछन् यसबारे तपाई के भन्नुहुन्छ ?
मैले भारतमा अध्ययन गरेकैबेला त्यहाँका विद्वान्हरुले उत्तरआधुनिकवाद, उत्तरउपनिवेशवादजस्ता विषयमा छलफल, चर्चा गरेको देखे,पढे । त्यस विषयमा गहिरिँदै जाँदा विश्वभरि नै एकप्रकारको उदारतन्त्र ब्याप्त हँुदै गरेको कुरा थाहा पाएँ । पढ्दै लैजाँदा अतीतका सम्पूर्ण सीमाभत्काएर, संरचनाहरु उखेलेर नयाँ कुराले प्रतिस्थापित गरेको देख्न थालियो । भाषा साहित्यमा दर्शन चिन्तनमा अत्यन्तै नवीन धारहरु ब्याप्तहुन थाले । जस्तै–साइबर संस्कृतिले परम्परित संस्कृतिलाई छोप्न थाल्यो । मानिसको स्वदेशबाट बहिर्गमन तथा डायस्पोरा निर्माण बढ्न थाले । सम्पूर्ण जगतका चिन्तकहरु पर्यावरण तथा पृथ्वीको अस्तित्व माथि चिन्ता गर्न थाले ।
नारी,बालबालिका, अपाङ्ग,वृद्धा, उपेक्षित, रोगीप्रति मानवीय भावना, समानताको भावनाको आग्रह गर्न थालियो । जातीय–जनजातीय संस्कृति र लेखनप्रतिको चिन्ता, स्वपहिचानको चिन्ता मानव अधिकारको रक्षा चिन्ता, यस्ता विषयहरु लेखनका केन्द्रीय विषय हुन थाले । लेखन भन्नेकुरा सम्भ्रान्त सुपठित मात्रको होइन, उपेक्षित दीनहीनहरुको पनि आवाज हो भन्ने कुरा उठे । ससाना वगर्, जाति, भाषा सबैको समान इज्जतको कुरा उठ्यो । यसै परिप्रेक्ष्यमा आउन नसकेका कुराहरुलाई मैले अँगाले, लेखे, बुझाएँ र ब्यापक रुपले छेलिएकाहरुका निमित्त नयाँ सिद्धान्तहरु ल्याएर देखाएँ । ती कुराहरु उत्तरआधुनिक ऐना २०६२ र उत्तर आधुनिक विमर्श २०६४ मा प्रकाशित छन् ।
देशको नयाँ शक्ति र नयाँ लेखकवर्ग प्रेरित र प्रभावित छ । नयाँ कुरा लेख्न र गर्न उत्प्रेरित छ । यो नै एउटा महत्वपूर्ण कालखण्ड हो जस्तो लाग्छ । यस कालको साहित्य पनि सोहीअनुसार पुराना संरचना भत्काएर नयाँ लेख्तैछ, संरचनावादी कारागारबाट पाखा आउँदैछ । साहित्यले यथास्थितिको मात्र पक्षपोषण गर्दछ भने साहित्य गर्नु वा लेख्नु व्यर्थ छ । नयाँ साहित्यले सबै पुराना फन्डामेन्टालिस्टलाई परास्त गर्दे लाने बाटो खुल्ला गरिदिनु पर्दछ ।
यहाँ युकेमा पनि यस्ता नवचिन्तनका धारहरुलाई पक्रिएर नयाँ शक्तिहरु उदाएका छन् । विश्वास दीप तिगेलाको गृहयुद्धका पीडा २०६१ मा मैले युद्ध साहित्यको बेग्लै फाँट यसरी सुरु भएको छ भनेर उद्घोष गरेँ। उनी यसका एक अग्रणी अभियन्ता हुन् । पछि आएर मेरा थप सिद्धान्तलाई पनि हेर्दै नरेश काङमाङ उदाए । उनले धेरै गरेका छन् । अहिले रक्ष राई र मिजास तेम्बेले युद्धको ब्यापक नयाँ सिद्धान्त बनाइरहेका छन् भने यता युकेका अधिकांश सिर्जनालाई त्यही युद्ध साहित्यभित्र राखेर समालोचना गर्नुपर्दछ ।
त्यसैगरी मैले उठाएको डायस्पोरा सिद्धान्तलाई यहीका रक्ष राई र मिजास तेम्बेले डायस्पोरा समालोचना र सिर्जनामा बाँधेका छन् । मैले उठाएका पर्यावरणीय लेखन सिद्धान्तलाई समातेर यहीका विजय हितानले एउटा ठूलो फड्को मारेका छन् । यहीका विश्वास दीप तिगेलाले नेपाली साहित्य नब्यूँझदै २०६४ देखि आरम्भ गरी साहित्यलाई डिजिटल ध्वनी र चित्रमा प्रवाहित गरी अनेकपल्ट विश्वस्तरीय कविता तथा गजल प्रतियोगिता गराए यो सानो कुरा होइन । यसबाट नेपालले पनि धेरैकुरा सिकेको छ । समयले मूल्याङ्कन गर्नेछ । यहीका कृष्ण बजगार्इंले साइबर साहित्यको प्रारम्भिक पुस्तक स्रष्टा र डिजिटल वार्ता निकालेका छन् । यहिका केदार संकेतले यात्रा लेखनमा नयाँ मार्ग देखाउदैछन । म आफ्ना कर्मको प्रतिबिम्ब यस्तै चेतनामा देख्दछु । यहीका अनेक स्रष्टाले डायस्पोरिक नेपाली साहित्यको श्रीवृद्धिमा निरन्तर योगदान दिइरहेका छन, त्यसैगरी नारी लेखन पनि अगाडि आइरहेको छ । यस्ता प्रयत्नमा किन हो म आफ्नो पनि प्रतिबिम्ब देख्तछु र अन्यास खुसी हुन्छु । साहित्य भनेको नित्य निरन्तर नविनता हो, नयाँ फड्को हो । त्यसमा कला सधैं अपरिहार्य छ ।
युकेको नेपाली साहित्यमा अघिल्लो पटक र यस पटकमा के अन्तर पाउनु भयो ?
मेरो यो युकेको तेस्रो यात्रा हो । दसवर्ष बितेछन्। यसपाली ठूलो परिवर्तन देखेँ । यहाँ एक दर्जन जति साहित्यिक संस्थाहरु सक्रिय भएर योगदान दिइरहेको देखेँ । पुरानो नेपाली साहित्य विकास परिषद्, त्यसपछिको प्रवासी नेपाली साहित्य समाज, अनेसास, प्रतिभा प्रतिष्ठान, विश्व नेपाली साहित्य महासङ्घ, नेपाली साहित्य वाङमय प्रतिष्ठान, साहित्य चौतारी सबैका कार्यक्रममा भागलिन अवसर मिल्यो । माथि स्कटल्यान्डको द हिमालयन नेपलिज कल्चरल सेन्टरदेखि लिएर नेपाल आईडल युकेले गरेको भ्वाइसेस अफ द नेपाली डायस्पोरामा समेत भागलिने मौका पाए । अब यहाँ कवि, कलाकार, स्रष्टा पत्रकारदेखि लिएर सक्षम कार्यपत्र प्रस्तोताहरु पनि जन्मिसकेछन् । मलाई औधी खुसी लागेको छ । यसपटक धेरैजना साहित्य लेख्ने तयारीमा देखेर झन् खुसी लागेको छ । नयाँ पुस्तक एवं पत्रिका पनि पढ्ने अवसर प्राप्त भयो ।
नेपाली साहित्यको भविष्य कस्तो देख्नु हुन्छ ?
यसको भविष्य उज्वल छ । नेपाली एउटा ब्यापक विश्वभाषा बन्दैछ । यो सबै जातिको साझा वाणी र आवाज बन्दैगरेको देखे । नेपाली साहित्यलाई सीमित स्थान र वर्गको मात्र लिगेसी ठान्नेहरुले अब अलि होसियार हुने दिन आएका छन् । आफ्ना अनेक मातृभाषालाई घरभित्रको मन्दिरमा पूजा गर्दै बसेका राई, लिम्बु, सुनुवार, तामाङ, मगर, गुरुङ लगायतका खस इतर जातिहरुले नेपाली भाषाको निमित्त प्राण दिएको देख्ता मेरो हृदय आनन्दले उद्वेलित छ । यो ठूलो हर्षको क्षण हो । यस तथ्यको उपेक्षा गर्नेहरुलाई नयाँ समयले मेट्दै लानेछ । हाम्रो एकजाति एकवाणि एकपरिचयको दिन आउँदैछ । यसबेला सहअस्तित्वको बोध र हार्दिकता ठूलो कुरा हुनेछ ।
अब यहाँका पाठकले अधिक पढ्नुपर्ने, अधिक नयाँ चेतनाले लेख्नुपर्ने आवश्यकता देख्तछु किनभने नेपाली साहित्य अब विश्वभरिको नेपाली जातिलाई जोड्ने भाषा बनेको छ । तर, विश्व साहित्यको अगाडि तुलना गर्दा नेपाली साहित्यको स्थान शून्यबराबर देखिन्छ । विश्व नेपाली साहित्यभन्दा नेपाली साहित्य कति टाढा छ भन्ने विषयमा मैले यसपटकको कार्यपत्र तयार गरी क्यान्टवरी सम्मेलनमा प्रस्तुत गरेको थिएँ । त्यो देख्दा हाम्रो स्थिति कहालीलाग्दो छ । यतिखेर मेरो मनमा केवल तीन वटा चिन्ता रहेका छन् । क. नेपाली भाषा साहित्यमा समर्पित सबैलाई सम्मान र स्वागतगर्ने । ख. नेपाली साहित्यका स्तरीय कृतिको ब्यापक अनुवाद र प्रचार गर्ने । ग. नयाँ पुस्ताका नेपालीलाई अंग्रेजी भाषामा (नेपाली) साहित्य सिर्जना गर्न उत्प्रेरित गर्ने ।

नेपाली विश्वभाषा बन्दैछ : प्राडा. गोविन्दराज भट्टराई
प्रतिकृया दिनुहोस्