जानु काम्बाङ्ग लिम्बू
मुसलधारे पानी पर्दै थियो, हामी मोटर वे एम २० मा भर्खर आसफोर्ड काट्न लाग्दै थियौं । म अगाडिको सिटमा थिएँ, अरु गाडीहरुले बत्ताएर उडाएको पानीको बाछिटाले अगाडिको बाटो देखिन छाड्यो । हाम्रो कारको अगाडिको सिसामा, माथि कतैबाट कसैले पोखाए झैं गरी हुर्हुर…हुर्र पानी हुत्तेर बकुलो तुँवालो झैं सिसाभरी आउन लाग्यो । लाल दाइले आपूmलाई सम्हाल्दै छिट्टो छिट्टो वाइपर चलाउँदै हुनुहुन्थ्यो । मनमा कता कता डर, डर पनि लाग्यो कारण मैले सुनेकी थिएँ, यो च्यानल टनेलले भेट्ने मोटर वेहरूमा पारी युरोपबाट आउने ठुल्ठुला मालबाहक लरीहरू बढी हुन्छन् र ती लरीहरूको चलाउने हेन्डल पनि देब्रे साईटमा हुन्छ र यस्तै झरी परेको बेला झन् दुर्घटना बढी हुन्छ ।
पछाडिको सिटबाट मनु पाईजा जी झ्वाट्टै कराउनु भो, जानू जी प्लिज केही खोजेर त्यो धुम्मिएको सिसा भित्रबाट पुछ्नुस न ? बाहिरको वाईपरले मात्र काम गरेन ? साथीहरु डराएर कराउँदा पो बल्ल म होसमा आएछु । हतार झोलाबाट टिस्यु झिकेर सिसा भित्रबाट रगर्ड्न थालें । बेस्सरी पुछें सकेसम्म सिटको पेटी नै खोलेर हात तन्काई तान्काई पुछें तर काम खासै गरेन मेरो जबजस्तीको पुछाईले । फेरि ३, ४ पत्र पारेर निक्कै ठूलो टिस्युको जमात बनाएर पुछ्न थालें बल्ल अगाडि हल्का देखिन थाल्यो । अगाडि युरोपबाट समान बोकेर आइरहेको ठूलो बढेमाको लरी थियो उसले हाम्रो अगाडि बसेर गुड्दा उसैको चक्काले फालेको पानीको बाछिटाले हिर्काईरहेको रहेछ ।
बल्ल तल्ल दाइले अर्को लेन चेन्ज गर्नु भो तेसपछि हल्का मनमा शान्ति मिलेजस्तो भो । पछाडि नानूजी निदाइरहनुभएको थियो, हेर्दाहेर्दै बीचमा बसेर गंगाजी पनि घुर्न थाल्नु भो । मनुजी त अघि नै देखि गाडी लागेर अनुहार छोपेरै बस्नु भएको थियो । रातको ९.३० बजेको थियो, दिनभरिको थकानले होला आँखा निद्राको पछ्यौरीले छोप्न थाल्यो, हेरें पछाडिको सिटका साथीहरु पुरै निदाइरहेका, तर म एक्लै भए पनि दाइलाई साथ दिने अठोटको घन्टी आँखामा झुन्ड्याएर बसी रहें । लाल दाइ, मसँग बाट मार्ने सारा रहरहरूलाई ईस्टेरिङ्गमा अठ्याएर एकोहोरो गाडी कुदाउनु मै आफ्नो मन ऐक्यबद्ध गर्दै हुनुहुन्थ्यो । मैले त्यही बेला महसुस गरे ड्राईभर हुनुको बेफाइदा । हामीले मेजिस्ट्न कटिसकेका थियौं । प्रकृति पनि पक्षपाति हुन्छ र ? किनकि ! केही माइल अघि त्यस्तो मुसलधारे पानी, केही माइल पछि यस्तो सुक्खा ? मनमा एउटा प्रश्न खडा भएर चाहार्न थाल्यो दिमागको कुनाकन्दरा ! के आसफोर्ड एरियालाई मात्र पानी चाहिएको थियो र ? सबैको निद्राबीच दाजु र मेरो आँखाहरु मात्र आ–आफ्नै मनसँग बाट मार्दै थिए । हामीले मोटर वे एम २६ पार गरेर एम २५ मा गुड्न थाल्यौं । एकोहोरिएको त्यान्द्रा भंग गर्दै दाजुले एउटा सायारी जावोस् त बहिनी ? भन्नु भो…म २ लाइन गीतको स्थायीबीच मन अड्काएर बसीरहेकी थिएँ झ्वाट्टै उही २ लाइन भनि दिएँ !
घनघोर वर्षा यो मनको खहरे भई उर्लियो
सपनाजस्तै रहर पनि एकै ठाउँमा पुरियो
मेरो दुई लाइन गीतको प्रशंसा सयौं लाईन आयो लाल दाइबाट । म मक्ख पर्दै बसें, हामी लगभग लन्डन हिथ्रो एयरपोर्टतिर आइसकेका रहेछौं । विश्वकै व्यस्त एयरपोर्ट हिथ्रोबाट प्लेनहरू उडेको र बसेको नजिक, नजिक देखिन थालेका थिए । रातको १० बजे पनि ती आकाशमा उड्ने जहाजहरूको चमक धमकले धर्ती उज्यालो भइरहेको थियो । सबै चुपचाप थियौं, गाडीमा सन्नाटा छायो । लाग्थ्यो सबैको मन आआफ्नै संसार डुल्न उडिसकेका छन् । दाइ ! सन्नाटाको घेरा तोड्दै मैले बोलाएँ । हजुर बहिनी भन्नुस् ? लाल दाइबाट प्रति प्रश्न आयो, हाम्रो जिन्दगीको बाटो पनि यो अलकत्रे सडकको लेन चेन्ज गरेजस्तै सिधा, सिधा चेन्ज गर्न मिल्ने हुनु नि है ? मैले भने, ‘किन र बहिनी सीधै देख्छु म त बहिनीको सुन्दर र लोभलाग्दो जीवन !’ दाइले रेला गर्दै भन्नु भो, ‘उफ् ! कहाँ सीधा हुनु नि, ….दाइ हाम्रो जिन्दगी त ठ्याक्कै लन्डनको रेलको बाटोहरूको नक्साजस्तै खुज्मुजिएको र जताततै अल्मलिएको जस्तो पो छ त ।’, हाम्रो भाग्य कोर्ने विधाता पनि अलमलिन्छ हाम्रो जिन्दगीको नक्सा हेरेर मैले भने, ‘दाइले हाँस्दै हो त साँच्ची मैले त नसोचेको त्यो त, त्यो हेरेर त धरान भेडेटारको बाटो त धेरै सजिलो नि होइन भन्नु भो । अनायासै दाजुले मेरो तर्कको बीचमा जरबजस्ती ठेल्दै धरान भेडेटारको बाटो घुसाएकोले, पछाडि सुत्नेहरूको निद्रा भंग गर्दै मज्जाले म हाँसें दाजू हास्नु या बोलुं हुँदै ओठको हाँसो र कुरोको पासोमा अल्मलिँदै गाडीको स्टेरिङ बटार्दै हुनुहुन्थ्यो । वास्तवमै भन्नु पर्दा हाम्रा यी अर्थहीन कुराहरू हाम्रो थाकन हटाउन र निद्रा भगाउनका लागि मात्र थिए ।
रात छिप्निदै थियो, बाटो काटिँदै गयो, मोटर वे एम ४० पस्न लाग्यौं, घर पुग्ने हर्षले मन उड्न थाल्यो । पछाडिका साथीहरू निद्राबाट ब्युझिएर, भोक भगाउन कसैले स्याऊ, कसैले बेलायतको फेमस आलू चिप्सहरू खोतल्न थाले । म अघि बसेर सबै महसुस गर्दै थिएँ । बिचरा बिहानको खाना खासै गतिलो थिएन, हिँड्ने बेला हतारले खाजा पनि खान भ्याएनन् होला । मैले त सबेरै सकून नेम्बाङको घरमा साँझको दाल र बासी भात खाएर हिँडेकी थिएँ । एउटा बेलायती सेनबीच र एक बोतल पानीले दिन बितेको थियो धन्न हिँड्ने बेला स्याउ र केरा भक्कु बोकेर हिँडेका थियौं । लाल दाइलाई ताछ्दै दिँदादिँदै केरा पनि सकिसकेको थियो ।
हेर्दाहेर्दै लाल दाइले बाटो बिराउनु भो, छाडियो हाम्रो एम ४० पस्ने बाटो, दाइले हल्का चिन्ता लिए जस्तो लाग्यो । मैले भने ठिकै छ दाइ अब आउने एग्जिटबाट निस्कनुस् यहाँ त सजिलो छ कतै न कतैबाट भेटी नै हालिन्छ बाटो । हजुर बहिनी अब त्यै सोंच्दै छु म पनि दाइले भन्नु भो । वास्तवमै हामी सारै नै थाकेका थियौं । विश्व नेपाली साहित्य महासंघको विश्व सम्मेलन थियो क्यान्ट्बरी युनिभर सिटीमा । कार्यक्रम १ दिनको भए पनि त्यसको तयारी र दूरीको कारणले म अघिल्लो दिन नै गएर मेरो साथी सकुन नेम्वाङ्गको घरमा बसेकी थिएँ । सचिव केदारजी र अन्य पाहुनाहरु सबै अध्यक्षा विश्वास जिकोमा बस्नु भो । विजय हितान दाजु मलाई सकुनको सम्म पुर्याइराखेर बिहानै हलमा भेट्ने बाचा गर्दै फक्स्टोन घरतिर हुईकिनु भो । मैले मन मनै सोंचे, यो ‘खाई न पाई, छालाको टोपी लाई’ भने जस्तो दौडधुप र दुःख किन गर्दै छौं ? यहाँ फाइदा कसलाई छ ? नाम कसको चल्छ आदि आदि ? मनभरी यस्तै कुरो खेलाउँदै साथीले पकाइराखेको मिठो सुँगुरको खुट्टाको अचार, दाल सब्जी र भात खाएर सुतें ।
म शनिबार बेलुकी नै केन्द्रीय सचिव केदार सुनुवार संकेत जिसँग बेजिङस्टोकमा भइरहेको मेरो माइती गाउँले भेला आधा अधुरै छाडेर आफ्नो बेतलबी कर्तव्य निभाउन हिँडेकी थिएँ । मोटर वे एम २५ मा हल्का जाम थियो, हामी त्यहाँबाट सीधै गेट्विक एयरपोर्ट गएर प्रोग्रामको लागि अस्ट्रियाबाट आउने, समाजसेवी दिदी सिला स्टाईनरलाई पिकअप गरेर अध्या विश्वासदीपजीकोमा मिटिङ बस्न पुग्नु थियो । केदारजी र म समयमा नै पुग्यौं एयरपोर्ट । तर, सिला दिदीको लेन्डिंग टाईम अझै ४५ मिनेट देखाएकोले हामी आ–आफ्नो चोइजको एक, एक कप कफी किनेर पिउन थाल्यौं ।
मैले सचिवज्युको अनुहार पढिरहेकी थिएँ, भोलिको कार्यक्रम, छोटो बेलायत बसाई, धावा, तनाव र दौड्धूपले होला उहाँको फेवाताल जस्तो शान्त अनुहारमा थकानका हजारौं भेलहरु उर्लिरहेका थिए । गेट्विक एयरपोर्ट अलि सानो र टाढा भएकोले हिथ्रो एयरपोर्ट जस्तो भीडभाड थिएन । कफी सोपमा पनि बस्ने कुर्सी टेबल प्रशस्तै खाली थिए । केही सृजनाहरुको बारेमा साधारण कुरोकानी गर्दै समय बितेको पत्तै भएन हामीलाई । मान्छे बाहिर निस्कने द्वारको नजिकै बसेका थियौं । तर पनि, हामीले पहिले नदेखेका मान्छेलाई चिन्ने कुरै भएन । दिदीले उताबाट उड्नु अघि आफ्नो ड्रेस, हेयर स्टाईल र रंगको बारेमा साधारण बताउनुभएको रहेछ सचिव केदारजीलाई, हामी हजारौं मान्छेको भीडमा, तेस्तै दुरुस्त मान्छे खोजीरहेका थियौं । दिदी त थाहै नपाई कुनबेला टुप्लुक्क हाम्रो छेउमा प्रकट भई उल्टै हामीलाई सोध्नु भो…हजुरहरू नेपाली हुनुहुन्छ ? हाम्रो अघि हामी र हाम्रा २ जोडी आँखाहरूले खोजेको जस्तै चट्ट परेको सुन्दर अनुहारमा गोलोगोलो आँखा, हल्का गुलाबी रंगको लिपस्टिक, क्रिम कलरको कोटमा उस्तै रंगको स्कट, अन्दाजी ५५,६० भनेर अन्दाज गर्न सकिने नेपाली महिला युरोपियनहरूको माँझ उभिएकी थिइन् । मैले कल्पना गरें, उनी जमानामा कति राम्री थिइन् होला ? अनि हाम्रो खदा ओढाउने काम सचिव केदारजीबाट भयो, मैले फूलको बुकी थमाएर अंगालो हाल्दै स्वागतको बिट मारें …पालैपालो फोटो खिचौं अनि लाग्यौं आसफोर्डतिर । सिला दिदीलाई अघिल्लो सिटमा राखेर म पछि बसी नेपालबाट भर्खर आइपुगेको आफ्नै कथासंग्रह ‘नघुरेको जून’ पढ्न थालें ।
हामीले त्यो एकान्तको गेट्विक एयरपोर्ट छाड्दा नै चरचुरिङ्गीहरू बास बस्न थालिसकेका थिए । प्रायः गेट्विक एयरपोर्टबाट युरोपका जहाजहरू उड्ने र बस्ने गर्छन् । हिथ्रो भन्दा अलिक अभेगमा पर्छ, तर आसफोर्ड, मेजिस्टोन, डोभर र फोकस्टोनतिर बसोबास गर्नेहरूको लागि भने नजिक पर्छ । मसिनो कमिलाझैं जमिनका मोटर वेभरि ठूला–साना गाडीहरू ताँती लागेर गुडिरहेका थिए, जहाजहरू कुनै तलतल ओर्लंदै थिए, कुनै माथि माथि आकाश चढ्दै थिए हामी बिस्तारै एयरपोर्टदेखि टाढिनदै गयौं । बेलायतमा जब समर लाग्छ त्यसपछि कसैलाई फुर्सद हुँदैन त्यो मध्ये म पनि पर्थें, शनिबार आइतबार छुट्टी आयो कि कतै न कतै पुगिरहनु पर्ने, फोटो खिचिरहनू पर्ने, फेसबुकमा हालिरहनू पर्ने, निक्कै रमाइलो लाग्छ आफ्नो जिन्दगी, महिनाभरि बिहान बिहानै उठ्दै आँखा मिच्दै जागिरमा दौडिन नपरे त कति मज्जा…कति मज्जा नि लाईफ ।
लाल दाइ र साथीहरू प्रोग्रामकै दिन बिहान आएका थिए । हाम्रो एरियामा पनि केही महिनाअघि मात्र लालसुन्दर राई दाजुको अध्यक्षतामा विश्व नेपाली साहित्य महासंघको शाखा खोलिएको र त्यो शाखाको सचिव म भएकोले त्यहाँ पुग्नु र काम गर्नु पर्ने बाध्यता जस्तै बनेको थियो । कार्यक्रममा हामी सबैको आआफ्नै जिम्मेवारी थियो, अन्जान ठाउँ, अन्जान परिवेश, नौलो नौलो मान्छेबीच उभिएर मैले दुःखसुख मेरो जिम्मेवारी निर्वाह गरेकी थिएँ । विश्व नेपाली साहित्य महासंघको केन्द्रीय अध्यक्षा विश्वासदीप तिगेलाज्युको अध्यक्षतामा संचालित त्यो कार्यक्रमका प्रमुख अतिथि, बेलायतका लागि नेपाली राजदूत डाक्टर दुर्गाबहादुर सुवेदीज्यु र नेपालबाट पाल्नुभएका पाहुना वरिष्ठ साहित्यकार, कवि प्रोफेसर तुलसी दिवस ज्यु हुनुहुन्थ्यो, त्यसैगरी विशेष अतिथिहरू बेलायतमा स्थापित संघ संस्थाका असंख्य प्रतिनिधि र नेपालबाट पाल्नुभएका प्रोफेसर, समालोचक डाक्टर, गोविन्दराज भट्टराईज्यु, जर्मनीको लागि पूर्वराजदूत डाक्टर नोवेलकिशोर राई अनि अस्ट्रियाबाट आउनुभएकी समाजसेवी दिदी सिला स्टाइनरलगायत लेखक समालोचक खगेन्द्र संग्रौला त्यसैगरी चर्चित गीतकार भावेश भूमरीज्यु हुनुहुन्थ्यो । यो बेला दाइको छेउमा हाँस्दै बसे पनि मन कताकता नमिठो गरी पोलिरहेको थियो किनकि मैले २ जना प्रमुख अतिथि राखेर जिन्दगीमै पहिलोपल्ट कार्यक्रम सञ्चालन गरेकी थिएँ, त्यसैले चिन्ता थियो, दर्शकहरुले मेरो गल्ती देख्लान् र भोलि कुरा गर्लान् भन्ने । नभन्दै त्यस्तै पनि भयो । मेरो एकजना धेरै पहिलेदेखि मैले चिनेको र साहित्यमा एकदम नजिक मानेको एक जना दाइले, २ जना प्रमुख अतिथि किन राख्नु भएको बहिनी भन्दै सोध्नु भो, मैले जाने जति कारण विस्तारै भने, तर कुरै कुरामा यत्रो ठूलो प्रोग्राममा होस्टचाँहि अलिक प्रोफेसनल खोज्नु पथ्र्याे ? भनेर जानेर हो या अन्जानमा हो प्याच्चै भनिदियो । उसले कतै नघुमाई सीधै भनेको यो काँडा जस्तो कुरोले नमिठो गरी घोच्यो मलाई, अनेक सोंचें चित्तै बुझेन, मैले यो प्रोग्राम पहिलोपल्ट चलाएको भएपनि अन्य मेरो आफ्नै गृहजिल्ला ताप्लेजुङ्गको सिंगो प्रोग्राम चलाउँछु, चुम्लुङ्गको चलाउँथें, अक्सफोर्ड नेपाली समाजको संधैं मै चलाउँछु । कसरी यस्तो भो भनेर आफंैलाई प्रश्न गरिरहें धेरैबेरसम्म किनकि त्यो दाइले २ प्रमुख अतिथिलगायत अन्य कुरोमा पनि कम्प्लेन गरेको थियो । सोंचें मलाई सीधै यस्तो भन्ने मान्छेले अरुसँग मेरो कति कुरो गर्यो होला जस्तो लाग्यो । अन्त्यमा आपूmलाई आफैले मनाएँ, ठीकै छ अरुको पनि यस्तै प्रतिक्रिया आए सोचौंला । तर, अहिलेसम्म कुनैको नराम्रो प्रतिक्रिया भने आएन सबैले राम्रो गर्नु भो भन्ने मात्र पाएँ । अहिले लाग्छ, सायद त्यो दाइ मेरो प्रिय शुभचिन्तक भएकोले देखेको गल्तीलाई नलुकाइ आफ्नो सम्झेर पनि भनेको हुन सक्छ, अरुले नराम्रो देखे पनि त्यसलाई लुकाएर राम्रो भनिदिएको पनि हुन सक्छ, यदि त्यस्तो आफ्नो सम्झेर भनेको हो भने मेरो दाजुलाई धेरै धेरै धन्यावाद !
तर, त्यो दिनको कार्यक्रम मैले आफंैलाई विश्वास गरेर निर्धक्कसँग चलाएकी थिएँ किनकि कार्यक्रमको बारेमा दूरी र कार्यव्यस्ताको कारण बसेर छलफल गर्न पाएका थिएनौं । अध्यक्षज्यु र सचिवज्युले प्रोग्राम सुरू हुनु केही मिनेट अघि मात्र लिस्ट मलाई थमाएका थिए । केन्द्रीय अध्यक्ष र सचिव साथै हुनुहुन्थ्यो । उहाँहरुले जे, जे लेख्दै दिन्थे बीच बीचमा त्यहीअनुरुप मैले सञ्चालन गरेकी थिएँ । एक त नेपालीहरुको प्रोग्राममा बोलाएको मान्छेहरू कहिले समयमा आउँदैनन् । अरुलाई पर्खेरै समय जान्छ, ढिलै आएर पनि हामी मानसम्मान खोज्छौं, आसन ग्रहण गरेर खादा लगाई माग्छौं । त्यसैकारण पनि कहिल्यै कार्यक्रम सकिन्न समयमा, त्यो दिन पनि कार्यक्रम नसकुन्जेल मान्छे आउने, जानेक्रम जारी थियो । जतिपल्ट मान्छे आउँछन् त्यत्तिनै पल्ट आसनग्रहणको क्रम जारी राख्यौं । कसैको नाम छुट्न गए या नपुकारिएमा ती मान्छे यस्तो रिसाउँछन् अर्को पल्टको प्रोग्राममै आइदिँदैन् । यो हेर्दा लाग्छ हामीले अझै सिक्न जान्न र त्यै दाइले भने जस्तो प्रोफेसनल हुन धेरै समय लाग्छ । अब त छोडौं यसो गर्न यस्तो ब्यवहारले हाम्रो कार्यक्रमहरूको शोभा घटाउँछ, हामी बिचको एकता भंग हुन्छ, सद्भाव घट्छ, सभ्य त बन्दैनांै, बन्दैनांै भब्य पनि बन्न सक्दैनांै । ट्राफिकदेखि लिएर अन्य विभिन्न समस्याले समयमा त पुग्न सक्दैनौं पक्कै पनि हामी तर, म ढिलो पुगेकोले मेरो नाम छुट्यो होला भनेर चित्त बुझाउन सिकौं ।






